~अजय अलङ्कार~
लेखेँ अबेरसम्म
लेखिरहेँ र, हेरेँ ओल्टाई–पल्टाई
हेरिरहेँ
भैदिएन कविताको जस्तो मुहार
दिएन सौन्दर्यको मुस्कान
अनि केरेँ पटकपटक केरिरहेँ
विचरी ! मेरी कविता !
कति दुःख गर्नुप¥यो,
कति चोट सहनुप¥यो
कति संघर्ष गर्नुप¥यो होला
विचरी ! मेरी कविताले !
थाहा छैन,
भोक के हो ? दिनहरूमा
निन्द्रा के हो ? रातहरूमा
सुनसानबीच बलिरहेछ मधुरो बत्ती
एकाछेउबाट भित्तादेखि
घडीको काँटाले भनिरहेछ–
ए कविता,
तिमीलाई निन्द्रा आएन ?
मध्यरात ढल्किसक्यो
विचरी ! मेरी कविता,
अझै निदाउन भ्याएकी छैन !
आशा छ, विश्वास छ मलाई
एक न एक दिन
हुनेछ परिपक्व
र, पाउनेछु मेरी कवितामा
भाव, रस, बिम्ब, प्रतिक, अलङ्कार,
रोएकोलाई हँसाइदिने,
हाँसेकोलाई रुवाइदिने शक्ति
जसले तताउँनेछ प्रत्येक मञ्चलाई
चन्द्र–सूर्य बनी चम्काउँनेछ
गुम्बा, मन्दिर, मस्जिदका शिरहरू
अनि नाच्नेछन् नीलो गगनमुनि
रारा र च्छोरोल्पाहरू
बग्नेछन् गण्डकी, कोशी र कर्णालीमा
काव्य उन्मादहरू
तराई, पहाड, हिमाल
पूर्व, पश्चिम, उत्तर, दक्षिण
सारालाई ब्यूझाउँनेछ मेरी कविताले
फेरि एकपटक बोलाएर बुद्घलाई
देशको आँगनमा पोत्नेछे नीलो रंग ।
म विस्वस्त छु,
सुन्दर मुहार र अजम्बरी भाव लिएर
म भित्रबाट
यसरी निस्कनेछे मेरी कविता
म मरेर जाँदा पनि
एक्लैएक्लै बाँच्नेछ सय जन्म
जनजनका आत्मामा घुसेर
र, सम्बोधन गरिरहेको हुनेछु–
म तिम्रो अलङ्कार,तिमी मेरी कविता !
– गुदेल २ ,सोलुखुम्बु
हाल, जोरपाटी,काठमाण्डौं
(स्रोत : छलफलविक्ली डट कम)