~महेश पौड्याल~
बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो देखिन्थ्यो । कताकति लामा छाहारी देखिन्थे, परैबाट नेपालीका गोठ ठम्यायउन गाह्रो थिएन । सिरसिर बगेको लेकाली बतास नगिँचिँदा लाजले लचक्क परी लच्चिकएको लालुपातेको नाच मनमोहक लाग्दथ्यो । पर्वतको आतङ्कित गहबाट टप्प झरेका आँसुका थोपा, समुद्रको विशालताअगि आफ्नो विरह–वेदनाको व्याकुल कथा पोख्न लेक्को बाटो झर्न लागेका । त्यो शान्त सुसेली सुन्दा स्वयं सरस्वतीले आफ्नो वीणमा राग हंसको गुञ्जन गरे जस्तो । बोलसाङ्को झोलुङ्गो पुल दुई क्षितिजका अनन्त किनारहरू पो जोड्छ कि जस्तो ! चिऽऽऽसो, लुगलुगी कमाउने जाडो, खप्न निकै आपत पर्ने । बिरजुङ् लेप्चाको घर, सानो भए पनि चिटिक्क परेको । दैलोमाथि बराँटको सिङ्, छानामा छाला सुकाएको, कोनि के के हो । धुरीमा सेता र राता पताकाहरू बतासमा नचिरहेका । बिरजुङ्की छोरी हीरा माचमा घाँसको भारी बिसाएर घरभित्र पस्न मात्र लागेकी थिई, एक्कासि “कौब्रु बाबाको जय, वीर गोर्खेको जय, तेनजिङ शेर्पाको जय” भन्ने नारा लगाउँदै पाहाडको बाटो ओरालो झर्न लागेक बीस–बाइस नेपाली र भारतीय युवाहरूको आवाजले उनलाई पछि फर्कन बाध्य गरायो । हीराले पुलुक्क हेरी । तेनजिङ् शेर्पाले सगरमाथा विजय गरेको पैँतालिसौँ वर्षगाँठ मनाउन मणिपुरेली नेपाली युवाहरूले सामूहिक कौब्रु आरोहणको कार्यक्रम राखेको थियो । ऐतिहासिक कारणहरूले मुग्लन पसे पनि कति धेरै थियो उनीहरूभित्र पितृभूमि नेपाल र नेपलाीहरूको गौरवप्रति सम्मान । हो, स्वदेश टाढा हुँदा बढी दुख्दो रहेछ । नत्र के खाँचो उनीहरूलाई मणिपुरमा बसेर तेनजिङ् शेर्पालाई सम्झनु ? दुईजना युवकहरूले हीरालाई निकै बेरसम्म हेरे । लेकको चीसो वातावरणमा हुर्केकी हीराको अनुहार गोरो थियो, आकर्षक पनि । साधारण गाउँले कपडा, सोझे निर्धोपन, अनपढ युवतिको सुशील यौवन । कौबु्रु पहाड चढने सरलतम बाटो त्यही बोलसाङ् गाउँबाट नै जान्थ्यो । कइयौँ दलहरूलाई कौब्रु चढ्न लागेको र झर्न लागेको हीराले देखेकी थिई । कतिपय विजयको उन्माद लिएर, कतिपय आधी बाटोबाटै यात्रालाई तिलाञ्जली दिई पराजयले मुख कालो पारेर । तृषित गिरिको क्षुधा मेटाई बीरगतिको बाटो लागेका केही लासहरू पनि प्रतिदिन झारिन्थे । हन त कौब्रे खासै अग्लो पाहाड हैन । तर कहिलेकाहीँ झरीबालदले र कहिलेकाहीँ लेक लागेर बिरामी पर्ने, र यदाकदा मर्ने पनि हुन्थ्यो । त्यसमाथि उस दलमा रहेका केही आरोहीहरूझै, समतल सहरमा हुर्केका र कहिल्यै पहाड–पर्वतको बाटो नहिँडेकालाई भने त कौब्रु पनि महाभारत नै थियो । कुनै यात्रीले हीरालाई त्यसरी हेरेका थिएनन् । गाउँले भए पनि हीरा निकै साहसी । उसले सहजै प्रश्न गरी, “तपाईहरू कौब्रुको टुप्पोमा पुगेर आउनुभयो?” “हैन, यहीँ खोल्साङ्को पडाउसम्म ।” “छिः कस्तो लाजमर्दो बाई ! छोरो मान्छे भएर त्यहीँबाट फर्केको? मलाई त बाजेले दिँदैनन्, नत्र म त कौब्रुको टुप्पोसम्म पुग्ने थिएँ ।” दुई युवकलाई यो कुरा असह्य भयो । थकित पौरुषमाथि पराजयको छाप, सहरी कायरतामाथि गाउँले साहसको विजय, स्वाभिमानमा गहिरो प्रहार, लज्जाको सुहाँरो, सारसको परीक्षामा विफलता । अजीत र प्रेमका निधार निहुरिए । अजीतलाई आफ्नै नाउँले अट्टाहास गरेजस्तो, प्रेम दिउँसै अँध्यारोमा डुबेजस्तो । काँयरताका पुतली, नामर्द, नपुंशक जस्तै । अजीतले प्रेमको अनुहार हे¥यो, अनि फेरि उसका खुट्टा । ऊ अपाङ्ग थियो, क्यान्सरले एउटा खुट्टो काटिएको थियो । हिड्ने बेलामा उसका बुवाले अजीतलाई भनेका थिए, “अजीत, साथीलाई नछोड्नु है । रहर गरिहाल्यो, नजा भन्न पनि सकिएन । तिमी साथमा रहँदा ढुक्क छौँ हामी । ”
त्यो विकलाङ्ग खुट्टो लिएरै भए पनि बेल्साङ्सम्म आएर प्रेमले आफ्नो पराक्रमको परिचय दिएको थियो । तर अजीत, सबलाङ्ग हुँदाहुँदै पनि … प्रेमले पनि त्यहाँ आफ्नो शारिरीक दुर्दशाको आड लिन चाहेन, अजीतको परिवर्तित मुद्राको सहयात्री बन्यो । तिनी दुबैले उँधो हेरे । आफ्नो दल बोलसाङ्को झोलुङ्गो पुल पार गरी निकै तल पुगी सकेको थियो । हीराको सोझोपनमा आकर्षित ती युवक जोडीलाई केही भनौँजस्तो लाग्दालाग्दै लेप्चा बाजे कराए, “ए हीरा । छिटो घरमा आइजु । ” बाजे सूर्ति सल्काउँदै गफमा मस्त ती नवजवानहरूलाई देख्दै नदेखी उतातिर लागे । “तिमीलाई सहर कस्तो लाग्छ?” अजीतले निकै लामो गफ गर्ने सूर झिक्यो । “सहर त राम्रै लाग्छ, तर सहरका मान्छे…” हीराले ओठ लोप्¥याई । अजीत र प्रेमले अर्को झटारो आएको अनुभव गरे । “के तिमी यो लेकको जिन्दगी छोडेर सहर जान चाहान्छ्यौ?” अजीतको जिज्ञासा वाक्य बन्यो । “सहरमा? बाजेले…” गाउँले निर्धोपन गुञ्जियो । “हामीसँग सहर आयौ भने त्यहाँको सुखद जीवनमा आनन्दित हुनेछौ,” अजीतले हीरालाई जिस्क्याउने चेष्टा ग¥यो ।
“सहरमा के हुन्छ?” प्रेम अगि सर्दै ठूलो व्याख्याताको भूमिकामा उत्रियो, “सहरमा सडक हुन्छन्, कार, बस, र अन्य धेरै गाडीहरू अनि अग्ला, अग्ला गगनचुम्भी महल हुन्छन् । ” “कौब्रु पहाड जत्रै?” प्रेम निरुत्तर भएको देखेर अजीतले संकटमोचनको भूमिकामा उतारु हुँदै भन्यो, “अनि बजार, बजारमा रङ्गी–चङ्गी कपडा, घर–घरमा टेलिफोन र सिडी प्लेयर, बिजुली बत्तीले सहरमा रात पनि दिन जस्तै लाग्छ । त्यहाँ त स्कुल हुन्छन् अनि अस्पताल पनि । अस्पतालमा डाक्टरहरू हुन्छन अनि तिम्रै उमेरका थुप्रै नर्सहरू ।” यी कुरामा खासै चासो नदिए झैँ गरी हीराले यताउति हेरी । एकै छिनको मौनता पछि उसले सोधी, “तिमीहरूले जिन्दगीमा के के गरेका छौ?” साक्षात्कार निकै गहकिलो हुने भयो । तर, जिन्दगीको परीक्षामा आफ्नो व्यक्तित्वको सर्वोत्तम बिम्ब प्रस्तुत गर्न ती दुई नवजवानहरू अगि सरे । अजीतले पहिले उत्तर दियो, “म एम.ए पास गरी विभिन्न कलेजहरूमा अंग्रेजी पढाउँछु । मेरो मासिक तलब पचास हजार रपियाँजति छ, पचास हजार । घरमा दुईवटा कार छन्, टेलिभिजन छ, वासिङ् मसिन्…” “अनि म प्रसिद्ध निर्मला होटलको मेनेजर । ” “अनि कौब्रु चढ्यौ?” दुवैले अलमल्ल परी यता–उति हेरे । हीराले झट्टसँग भनी, “छ्या । कौब्रु पनि चढन नसक्ने मूलाले मलाई जौँ सहर भन्ने अरे बाई । लाज पनि नलागेको ! म जान्दिन कार सार । मलाई लाने भए पहिले कौब्रुको सिरमा चढेर देशको झण्डा गाडेर आऊ ।” संकट । आफ्नो असमर्थता व्यक्त गरौँ भने कथित सहरी धाक साथै पुरुषार्थको पनि पराजय । “हुन्छ” भनौँ भने कौब्रुको सपना मृत्युसँग जुझ्नुको पर्याय थियो, सहरको विलासितामा हुर्किएका उनीहरूका लागि । हीरालाई विर्सन सके पनि स्वाभिमानले पिरोल्ने, स्वाभिमानलाई लत्याए प्रेमले सताउने । दुई मित्रले केही भन्नै सकेनन् । “फेरि भेटौँला ” भनेर निदाउरो अनुहार लिएर उनीहरू त्यहाँबाट ओरालो लागे । केही महिना पछि हीराले उनीहरूलाई एउटा समूहमा उकालो चढ्न लागेको देखी । अजीत सबैभन्दा अगि, प्रेम सबैभन्दा पछि । सबैका पिठयूँमा आ–आफ्ना झोला । कसैले खाद्य सामग्री, कसैले पानी, र कसैले तम्बु, अनि कसैले आवश्यक अस्तसस्त्रहरू बोकेका । त्यो पहाड सगरमाथाजस्तो अग्लो थिइन, ओक्जिन सिलिण्डर लिएर जानुपर्ने थिएनन । “ओरालो झर्दा तिमीलाई सँगै लिएर झरौँला, ” अजीतको बोलीमा असाधारण गर्व ! “तँ कि म” भनौँला झै गरी प्रेमले पुलुक्क हे¥यो । हीराका आँखामा आनन्दको आभा थियो । उसलाई साहस र बीरता मन प¥थ्यो । उसले “हेरौँला” भनी, र आफ्नै धूनमा लागी । उसका ओठमा गीत छदै थियो, “हाम्रो तेनजिङ् शेर्पाले चढ्यो हिमाल चुचुरा…” अजीत र प्रेमको मित्रता, कृष्ण र अर्जुनको जस्तो । दुई ज्यान एक मुटु । वाल्यकालदेखि नै एकै गाउँ, एकै वातावरणमा हुर्केका, एउटै स्कुल पढेर आएका । कलेजमा पनि सँगै थिए । उनी दुईबीचको प्रगाडटा अटूट थियो । मायाको कुनै सीमा थिएन । नजीकको साइनो छ भन्नेहरू पनि थिए । तर त्यो साइनो भए पनि नभए पनि उनीहरूको मित्रता कुनै साइनोभन्दा कम थिएन । उनीहरूको एकात्माताको श्रेष्ठतम् उदाहरण यो थियो कि उनीहरू दुई भए पनि कौब्रुशिखरमा उनीहरूको विजयलाई अभिलिखित गरेर फहराउनका लागि भनेर एउटै झण्डा बोके, र यसमा एउटाको नामामाथि अर्काको नाम लेखिदिए ।
दलले बोलसाङ्को पडाउ पार ग¥यो । हरियो शालघारी र सल्लो घारी । खोलानालाको सुसेलीमा चखेवाको संगीत थकित मुटुमा आनन्दको प्रवाह बगाउँदै थियो । वसन्त आफ्नो पूर्ण यौवनमा थियो । कतै ऐँसेलु पाकेर पहेँलपूर, कतै कोइरालोले आफ्नो सौन्दर्यको प्रदर्शनी लगाएजस्तो । चिसो, लुगलुगी कमाउने जाडो यथावत् । कौब्रुको टाकुरो देखिन थाल्यो, माथि, अझ माथि, निकै लामो र कष्टकर उकालो बाटो । दिनरातको कष्टकर यात्रापछि दलले यात्राको तीन चौथाई भाग पुरा ग¥यो । रहेको एक चौथाई सबैभन्दा कठिन एवं खतरनाक यात्रा थियो । अब यहाँ धरती हिउँले ढाकिएको थियो, र चीसो र चिप्लो, खुट्टाले शरीरसँग विद्रोह गरे जस्तो । प्राय सबैजसोका नाकबाट भल्भली रगत चुहुन थाल्यो । पिठ्यूँका सरसामान पनि बोझ बन्न थाले । कौब्रु शिखरको सपना ऐठन जस्तो बन्यो । न कुनै मालिङ्गो, न कुनै शालघारी । हिउँ, अनि मात्र हिउँ । अब कौब्रुको टाकुरो मात्र तीन सय मीटर जति हुँदो हो । दलका सबै अन्य सदस्यहरू आ–आफ्नो हिसाबले सरलतम् बाटो खोज्दै छरिए । प्रेमको हालत मृत्युशैयामा परेको विरामीको जस्तो । अजीतको मन कौब्रुको शिखरमा पुग्ने सपनाले उन्मत्त । ऊँचो छाति, अधीर मुटु । आफ्नो साथीको दशा अजीतको निम्ति अन्तिम क्षणमा बाधामात्र बन्यो । जुन दिशाबाट दुई मित्र कौब्रुमाथि अन्तिम आक्रमण गर्न चाहन्थे, त्यहाँ उनीहरू दुई एक्ला थिए । दलका अन्य सदस्यहरू अन्य दिशातिर लागेछन् । “अजीत, मेरा हात समाउ न ” करुण कण्ठमा प्रेमको निराश अनुरोध । जाडोले लुगलुग काँपेका हात, केही समाउन असमर्थ भएजस्ता । दुवैका नाकबाट रगतका थोपा भैँमा टप्किरहेका । त्यहाँबाट ऊँधो हेर्दा तलको फाँट अतीतको कुनै विष्मृत सपना, कहिलेकाहीँ स्मृतिमा झलक्क आएजस्तो, अस्पष्ट दृष्य । अजीतले प्रेमलाई तान्ने प्रयास ग¥यो, तर प्रेमको विकलाङ्ग खुट्टोले विद्रोह गरिदियो । त्यहाँबाट अलिकति पनि चिप्लियो भने कौब्रुभन्दा पनि माथि पुगिने डर । यमराजको दरवार पो हो कि जस्तो भयावह दृश्य । यस विकट घडीमा आफ्नो मुटुभन्दा प्यारो अन्य कुन वस्तु हेला? “साथी, मलाई सहारा देऊ ।” अब एकैपल्ट प्रयास गरे कौब्रुको माथमा पुग्ने प्रवल सम्भावनाले अजीत उत्साहित थियो । तलबाट हीराले हरिरहेकी छ कि भन्ने भावनाले हो कि जस्तो, सबै सामथ्र्य र शक्ति गुमाइसक्दा पनि अजीतको निधारमा अझै स्वाभिमानको छाप स्पष्ट देखिन्थ्यो । “साथी,मलाई सहारा देऊ । ” यहाँ प्रश्न वर्तमानको भन्दा बडी भविष्याको थियो । अजीतले हिउँमा लम्पसार परेको साथीलाई हे¥यो, अनि फेरि पुलुक्क ऊँभो हे¥यो । उसको मनभरी साथीका बुवाले बिदाबारीमा भनेको कुराहरू अए, “अजीत, साथीलाई नछोड्नु है । रहर गरिहाल्यो, नजा भन्न पनि सकिएन । तिमी साथमा रहँदा ढुक्क छौँ हामी । ” दलका अन्य सदस्यहरू आ–आफ्नो विजयको उद्घोषका साथ विजयपताका गाढी ओराली लागिसकेका थिए । माया कहिल्यै बोझ हुँदैन भन्छन मायाका पारखीहरू । मायाको सिमाना मायामात्रै हो । आदि पनि यही हो, र अन्त्य पनि यही हो । यो सम्पूर्ण बह्माण्डजस्तै हुन्छ माया, सधैँ फैलिइरहने, कहिल्यै नखुम्चिने । आइन्स्टाइनले थाहा पाएका भए सायद मायाको बारेमा पनि यसै भन्थे होला । के मायाले सम्झौता गर्छ? मायाले पुनर्विचार गर्छ? मायामा दोधार हुन्छ? अलिअलि माया, अलिअलि घृणा पनि माया हो? कि हैन? अजीतले केही सोच्यो । “लक्ष्य एक, प्रार्थी दुई, विजयको परिहास्, पराक्रममा सम्झौता । अहँ, यो म खप्न सक्दिनँ । दुवैले कौब्रुमाथि विजय पाए…. । ” ऊ एक्कासि मित्रको भूमिकाबाट “मान्छे” को भूमिका उत्रन तम्सियो । स्वार्थपरकताले चट्ट चुँडाइदियो पवित्र मित्रताको अटूट डोरी । आत्मीयताका स्तम्भहरू गर्लम्म लडे, पृथ्वी थर्कियो । प्रेममाथि महत्वकाङ्क्षाले विजयको विगुल फुक्यो । “मित्रता”को मक्किएको कमजोर धागो चट्ट चुँडियो, मायाका आँखा बन्द भए, आत्मीयता बतासमा हरायो । अजीतको मुटु ढुङ्गो बन्यो । फेरि ऊ कमलो बन्यो । ऊ आकाशजस्तै भयो, कहिले कालो बादलले छपक्क छोपेको, कहिलो न्यानो घामले धपक्क बलेको । लक्ष्य, जीवन, साथी, माया, मित्रता, वचन, …….. “अजीत, म त हिडेनै नसक्ने भएँ । हामी फर्कौँ न !” अजीतले आँखाले भ्याएसम्म ऊँधो हे¥यो । तर, बोल्साङ्मा कालो काले केही देखियो, र छेवैमा हो कि हैन कि जस्तो रातो रातो । उसले ठहर ग¥यो, त्यो कालो काले लेप्चाबाजेको गोठ हो, र त्यो रातो रातो चाहिँ हीरा । उसलाई लाग्यो, हीरा ऊतिर हेरिरहेकी छ र “इस्” भनेर उसलाई लोप्¥याइरहेकी छ । “तिमी यहीँ बसिराख । दुई घण्टामा म माथि पुगेर आउँछु, अनि जौँला,” उसले प्रेमलाई भन्यो ।
“मेरो खुट्टो कर्करी खाइरहेको छ, अजीत । अइयायाया… समाइदेऊ न, मरेँ!” अजीतले उँधोे हे¥यो, आँखाले भ्याएसम्म । अघिको रातो रातो अझै त्यहीँ थियो । फेरि उसलाई आवाज सुनेजस्तो लाग्यो, “इस्!” “अजीत्, मलाई नछोड ल । म त मर्छुजस्तो लाग्न थाल्यो । ” “अजीत, साथीलाई नछोड्नु है । रहर गरिहाल्यो, नजा भन्न पनि सकिएन । तिमी साथमा रहँदा ढुक्क छौँ हामी । ” “इस्!” “ऐया, मरेँ । अजीत, मेरो खुट्टो समातिदेऊ न । ” “मलाई लाने भए पहिले कौब्रुको सिरमा चढेर देशको झण्डा गाडेर आऊ ।” “अजीत, साथीलाई नछोड्नु है । रहर गरिहाल्यो, नजा भन्न पनि सकिएन । तिमी साथमा रहँदा ढुक्क छौँ हामी । ” “इस्!” अजीतले प्रेमलाई पुलुक्क हे¥यो । ऊ चिप्लिँदै चिप्लिँदै अलि तलसम्म पुगिसकेको थियो । त्यहाँबाट तल, एकसय मीटरजतिको भिरालो पहरो, र तल गहिरो खोँच । अनि माथि, गौरवमयी कौबु पहाड, साहसीहरूका लगि एक जबरजस्त चुनैती!
“अजीत यहाँ आऊ त” ऊ प्रेमको नजिक गयो, र उभियो । “हेर न । एउटा खुट्टो यस्तो भएपछि अर्कोलाई बढी भार परेर होला, असाध्यै दुखिरहेको छ यो अर्को खुट्टो पनि । केहीले बाँधिदेऊ न !” के ले बाँध्ने? असाध्यै जाडो थियो त्यहाँ, ठिहिरो । सिनेमामाजस्तो आङ्गको लुगा च्यातेरा बाँध्ने कुरा भएन । उसले केही सोच्यो । हो, उसको झोलामा एउटा झण्डा थियो, माथि कौब्रुको टुप्पोमा फहराएर विजयको उद्घोष गर्ने । यो हीराको निर्देशन थियो । हीरा, प्रेम ….प्रेम। हीरा । मित्रता(?), प्रेम(?) … प्रेम (?),मित्रता(?) ! अजीतले भन्यो, “हेर साथी, यस्तो गरेर कहाँ हुन्छ यस्तो ठाउँमा । तिमी यसो हातले समातेर केहीबेर यहीँ बस, म माथि पुगेर आइहाल्छु ।” प्रेमका मुखबाट केके कुरा निस्कन सक्छन्, अजीतलाई थाहा थियो । त्यसैले उसले अरु कुरा सुनिरहनु उचित सोचेन । पाखुरामा पौरुषको मिथ्याग्नि, आँखामा कौब्रुशिखरको सपना र मुटुमा हीराको अनुहार बोकेर ऊ उकालो लाग्यो । यो मिथ्या पौरुष, कौब्रुशिखर र हीराको त्रिवेणीमा बालुवाको एक शुक्ष्म जलविन्दू बनेर प्रेम कतै हराइदियो । एक घण्टाको कठिन परिश्रमपछि अजीत गन्तब्यमा पुग्यो । उसको छातिले आकाश पो छुन्छ कि भन्ने डर भयो । ऊ एक्लो थियो त्यहाँ । न कुनै प्रतिस्पद्र्धी, न कुनै प्रतिद्वन्दि । ऊ स्वतन्त्र थियो, मुक्त । नयाँ साहस बढ्यो । कौब्रुमाथि अजीत, कत्रौ विशाल विजय? उसले कौब्रुशिखरमा विजयपताका गाड्यो र आँखाले भ्याएसम्म उँधोतिर हे¥यो । प्रेम कतै देखिएन । तल, बोल्साङ् लेकमा अघि उसले देखेको रातो रातो वस्तु भने ठम्यायो । कौब्रुशिखरको सिरेटोमा केहीबोर उभ्भिएपछि उसलाई विचित्रको भयले थिच्न थाल्यो । त्यस नीरव, सुनशान पर्वतमाथि त्यो महारथी एक्लो थियो । त्यो महान पर्वन शिखरमा अजीत एक्लो थियो – अज्ञातवासमा परे जस्तो, नर्काको द्वारमा उभिए जस्तो । कहीँ मान्छेको छावासम्म छैन, कोही छैन । निकटतम गाउँबाट पाँचहजार फिट माथि, ऊ एक्लै । प्रेम करीब तीन् सय मिटरजति तल । अजीतको मुटु ढुकढुक गर्न थाल्यो, प्रतिपल नयाँ गति लिएर । आउन ता आइयो अब फर्कने कसरी ? एक्लै भए जेन्तेन गरिएला, सथी पनि छ । भिरालो बाटो, मृत्युका अघि अर्को परीक्षा । त्यस महाविजयको अर्थ शून्यप्रायः भयो, बालुवा । कसैले उसको अभिनन्दनमा ताली बजाएन । त्यो निरव पर्वत शिखर – स्मशान जस्तो, मुकुट्टोले ङिच्च दाह्रा देखाए जस्तो, प्रेच पिचासले नृत्य रचाए जस्तो । उता प्रेम धेरैबेर छट्पट्टियो एक्लै । उसले बलसक्दो आवाज नगरेको हैन, तर उसका छेउछाउ आएर घुम्ने केही चराहरूबाहेक कोही आएन त्यहाँ । अन्य उपयहरू निरीह साबित भएपछि आँसुले मान्छेलाई साथ दिन्छ । आँसु मानिससँगको मित्रतामा सधैँ इमान्दार रहीआएको छ । सहनशीलताले एक सीमासम्म मान्छेलाई साथ दिन्छ । त्यो भन्दा पर मान्छे आँसुको र केवल आँसुको साथ मात्रै पाइरहेको हुन्छ । आँसुले सकेसम्म साथ दिए प्रेमलाई । आँसु साथी, आफन्त र ईश्वरभन्दा पनि इमान्दार हुन्छ मान्छेसँगको मित्रतामा । कहिले धोका दिएको छ आँसुले मान्छेलाई । हरेक कष्ट र दुःखमा मान्छेलाई साथ दिने आँसु नै त हो? रोयो प्रेम, निरर्थक रोदन । उसको आवाजलाई चिसो सिरेटोले टिपेर भीरतिर फ्याँकिदियो । उसले उसलाई माया गर्ने आमालाई सम्झ्यो र उसले साँझ बिहान धूप बालेर पूजा गरेको ईश्वरलाई सम्झ्यो । तर … पीडाको छट्पटि अन्धो हुन्छ । भैँमा लडीबडी गरेर अदृश्य शक्तिसँग जीवनको याचना गरिरहेको उसलाई आफू भीरबाट लड्न लागेको थाहासम्म पनि भएन । ऐया पनि भन्न नपाउँदै ऊ प्रेमको सहिद बन्न पुग्यो, तल गहिरो खोँचमा — जीवनजतिनै गहिरो, र मान्छेजत्तिनै कालो ! उसको पिठ्यूँमा झोला छँदै थियो ।
उता ओराले झर्न लागेको अजीतलाई केही भोक लागेजस्तो भइरहेको थियो । उसले एक मनले सोच्यो, प्रेमलाई छोडेर अर्के बाटो जाऊँ कि ! फेरि अर्को मनले सोच्यो, यतिसम्म त नगरौँ । ऊ प्रेम भएतिरै लाग्यो । उसले आफ्नो झोला हे¥यो, मात्र लुगा र पानीको रित्तो बोतल । खाद्य सामग्री प्रेमकै झोलामा थियो । भोकले आत्तिएको ऊ बडो तिब्रताका साथ प्रेमलाई छोडेको ठाउँमा आइपुग्यो । प्रेम थिएन त्यहाँ । उसले यताउति हे¥यो । माथि आकाशमा केही चराहरू मुक्त उडन भरिरहेका थिए । तल प्रेम हिउँमा कठ्याङ्ग्रिएर ढुङ्गो बन्दै थियो । अजीतले देख्यो उसलाई, एउटा अगम्य खोँचभित्र एक्लै, चिर निद्रामा । अजीतले बुझ्नै सकेन, यो क्षण खुसीको हो कि दुःखको । ऊ आफैले निम्त्यएको विभत्सतालाई न स्वागत गर्न सक्यो, न प्रतिकार नै गर्न सक्यो । आँसुका केही ढिक्का खसे, आँखाका डिलैडिल । प्रेमको मृत्युलाई दर्घटना भन्नु पर्छ भन्ने विवेक त ऊसँग थियो, तर ऊभित्रको तीब्र भोकलाई के गर्ने भन्ने थाहा पाएन । उसलाई अहसास भयो, आफ्नो मित्रसँगै उनीहरूको खाद्यसामग्रीको झोला पनि खसेछ र सँगै उसको जिन्दगी खसेछ, खसेछ भविष्य, दिनरात खसेछ, अनि सपना खसेछ । सर्वस्व टप्किएछ टप्प, वालुवामा पानीजस्तै, धागो चुँडिएको चङ्गाजस्तै । काहालियो विजेता, दिग्विजयी वीर, स्वार्थको पुतली । उसको चित्कार सुन्ने कोही थिएन । दिन कालो बन्यो – औँसीको रातजस्तो, कालिमाको धर्को जस्तो । हिउँले अट्टाहास गरे जस्तो, ऊँभो क्षितिज हाँसे जस्तो, तल धरतीले खित्का छोडे जस्तो ।
विजेताको शरीर थरथर काँप्न लाग्यो । त्यहाँको वातावरण नै तृषित भएजस्तो, अजीतलाई निल्न आँटेजस्तो । स्वतन्त्र अजीत, मुक्त बन्दी, प्रतिकूल मैसमको चपेटामा परेको । मृत सफलता, खोक्रो । भोक, प्यास, थकान र ठिहिरोले व्याकुल अजीत ओरालो लाग्यो । उसको जीवनको कुनै पनि बाटो त्यति लामो र कष्टकर भएको थिएन । ओरालो झर्दा पनि उसका आँखाले भ्याएसम्म हे¥यो उसले । तर कतै पनि अघिको रातो–रातो बस्तु देखिएन । बोल्साङ्को झोलुङ्गो पुलछेउ उसले हीरालाई भैँसीलाई घाँस काट्न व्यस्त देख्यो । ऊ आफ्नो भारी कसिसकेर, बारुलाले चिलेर घाँस काट्न नसकेकी आफ्नी साथी जुनेलीका लागि पनि घाँस काटिदिइरहेकी थिई । उसले हात हल्लायो । रातभरी हुरीले हानेको पालझै थकित उसलाई देखेर हीराले सोधी, “किन यस्तो लस्त देखिएको बाई, नून खाएको कुखुरोजस्तो?” अजीतले जवाफ दिएन । “त्यति कौब्रु पाहाड चढेर आउँदा पनि यस्तो ? हामी त भैँसीलाई घाँस खोज्न प्राय दिनै जसो चढ्छौँ उऽऽऽऽ त्यो…………..देखेऊ, उऽऽऽऽ त्यो ढिस्कोसम्म । बुझ्यौ?” अजीतलाई ह्वाँ गरेर रुन मन लाग्यो, तर सकेन । फेरि उसलाई हीराको घाँटी निमोठेर मारिदिन मन लाग्यो, त्यो पनि सकेन । “खै तिम्रो साथी?” हीराको मायाभन्दा पनि दया चाहिएको थियो अजीतलाई त्यसबेला । प्रेमको मृत्युको कारुणिक कथाले हीरालाई पगाल्न सक्ने उसको आशा थियो । त्यसैले गहिरो शोक र भावुकताकाबीच उसले प्रेमको दुःखद निधनको कथा भन्यो । गोहीका एकदुई ढिक्का आँसु पनि नबगेका हैनन् । हजारौँ प्रयत्न गर्दा पनि साथीलाई बचाउन नसकेको भन्दै ऊ भावविह्वल भयो । “छिः कस्तो मान्छे बाई? आफ्नो साथीलाई बचाउन पनि नसक्ने । साथीका लागि त ज्यान दिनु पर्छ, थाहा छ?” अजीत अवाक बन्यो । हीराले भने जुनेलीलाई भनी, “हिड् जुनेली, उ त्यो गायोको रुखतिर । क्या झ्याम्म परेका पात बाई!” जाँदाजाँदै उसलो सोध्यो, “तिमी मसँग जान्नौ?” “इस्!!” ऊ त्यहीँ उभ्भिइरह्यो । हीरा र जुनेली गायोको रुखतिर लागे । ऊ त्यहाँ उभ्भिइरहेको कुराको कुनै महत्व देखिएन हीराका आँखामा । उनीहरूले एकपल्ट पछि फर्केर पुलुक्कसम्म हेरेनन् उसालाई । उनीहरूका ओठमा गीत थियो, “हाम्रो तेनसिङ् शेर्पाले चढ्यो हिमाल चुचुरा…..”
०२ असार २०७३
“अनि त्यसपछि फुलेन गोदावरी”
(स्रोत : पिएसजे न्युज डट कम)