~ईशा शाह~
रचिताले कोठा भित्र पसेर ढोका बन्द गरिन् र बिछ्यौनामा सिरक मिलाएर पल्टिन् । प्रणवलाई कुर्दाकुर्दै बिथोलिएको निन्द्रा अब कति बेला लाग्ने हो उनैलाई थाहा थिएन ।
रचिताले बिछ्यौनामै पल्टिएर रिमोट थिचिन् र टि. भि. अन गरिन तर कुनै च्यानलमा पनि हेरूँ जस्तो कार्यक्रम नभएकोले फेरि टि. भि. बन्द गरेर सुतिरहेकी छोरीको डाइपर छामिन् । उनको स्पर्श पाएर छोरी कुनमुनाइन् । अघिपछि बिस्तारै थपथपाएपछि निदाउने छोरी आज भने आँखा खोलेर हेर्न थालिन् र केहीबेरमै हातखुट्टा फालेर खेल्न थालिन् ।
छोरी खेल्दै गरेको देखेर रचिता उठेर बिछ्यौनामा बसिन् र छोरीलाई काखामा लिएर स्तनपान गराउन थालिन् । बच्ची सायद भोकाएकी थिई क्यारे ! दुवै स्तनहरू पालैपालो चुसेर छोरी लोलाउन थालिन् । उनको दूध त्यति सारो आउँदैन थियो, त्यसैले उनले छोरीको पेट छामिन् । पेट टुनुक्क परेको नदेखेर रचिताले छोरीलाई बिछ्यौनामा सुताइन् र उठेर गएर बोत्तलमा दुई औंस लेक्टोजिन बनाएर ल्याई फेरि छोरीलाई खुवाउ थालिन् ।
आधी पेटकी छोरीले आँखा लोलाउँदै भए पनि बनाएर ल्याएको दूध खाइन् र सुतिन् । छोरीलाई दूध खुवाएर बिछ्यौनामा पल्टिनुअघि रचिताले फेरि छोरीको डाइपर छामिन, छोरीले सु गरेकी थिइन । सुतिरहेकी छोरीको अबोध अनुहार हेरेर रचिता पनि पल्टिइन् र दलिनतिर हेर्न थालिन् । निन्द्रा हराएका आँखाले दलिनतिर के देखे कुन्नि ! तर रचिताका मनमा भने अनेक तर्कना आउन थाल्यो ।
“एक बज्न आँटीसक्यो, यसबेलासम्म पनि घर नआउने कस्तो मान्छे होला ?” धेरै बेरपछि रचिताले नाडिघडी हेरेर मनमनै भनिन्, “ढिलो हुने भएपछि त यसो खबर गर्नु पर्छ नि ! सधैँको के ताल हो यो ! कहाँ हो ? के हो ? घरमा कोही पिर गरेर बस्छ भन्ने पनि मनमा नआउने हो कि ! सोधखोज र्गयो, नगर्नु, गर्नु पर्दैन भनेर हकार सुन्नु पर्छ, नगरुँ मन मान्दैन, न हेरी बस्नु न गरी छाड्नु ! खै ! कसरी सक्नु ?”
यस्तै कुरालाई लिएर रचिताले आफू पहिलो पटकर प्रणवको कुरा सुनेर भल्भली रोएको कुरा सम्झिइन् । तर ऊनी रोएको देखेर घरका कसैले पनि सहानुभूति प्रकट नगरी उल्टो हाँसेको देख्दा ऊनी छक्क परेकी थिइन् । अरू त अरू, सासू पनि त्यस दिन हाँसेकी थिइन् । कुरा नबुझेकी रचिताले रुँदै रुँदै धेरैबेर सासूको अनुहारमा हेरिरहेकी थिइन् ।
“म हाँसेको देखेर तिमीलाई अचम्म लाग्यो होला, अचम्म नमान । जे कुराको पनि सीमा हुँदो रहेछ । तिमीले जे भोगिरहेकी छ्यौ त्यो मैले पनि भोगेँ, त्यसैले हामीलाई त प्रणवको यस्तो कुरा पचिसक्यो,” उनकी सासूले बडो सजिलैसँग भनेकी थिइन् ।
“तर मुमा ….”
“अहिलेको जमानामा कोही कसैको सती जान सक्दैन बुहारी ?” सासूले रचिताको अनुहार नहेरी अर्को कुनातिर हेर्दै भनिन् ।
“अब कुरा बुझ्यौ ?” प्रणवले भन्यो ।
प्रणवको कुरा सुनेर रचितालाई सहीनसक्नु भएको थियो । रचिता फरियाको सप्कोले मुख छोप्दै आफ्नो कोठातिर दगुरेकी थिइन् । उनी त्यसरी दगुरेपछि उनको पछिपछि उनलाई फकाउन कोही न कोही त अवश्य आउँछन् भन्ने उनलाई लागेको थियो । तर अचम्म ! अरू त अरू, स्वयम् उनको श्रीमान् पनि आएन । रचिता कोठामा एक्लै रोएरै बसिन् ।
“लौ दुलही महारानीको आँखा त …….. ! रुँदै राजभएको हो कि के हो ?” धेरै बेरपछि घरमा काम गर्ने एक वृद्धा बुबुले चिया बोकेर कोठा भित्र पसेर चियाको किस्ती टेबलमा राख्दै सोधिन् ।
“बुबु, मैले मलाई महारानी नभन्नु भनेर मैले कतिचोटी भनिसकेँ तिमीलाई ।”
“आमै नि त ! यो त ठूलो घर पो त, दरबारमा बोल्ने त यसै गरी हो । अब त यस्तो सुन्ने बानी पारिबक्सनु पर्छ । के तालिमेहरुले हजुरलाई यस्तो कुरा सिकाएनन् र ?”
“बुबु, तिमी त जे भए पनि सानुराजाको धाइआमा, मलाई यो दरबारिया लवजको बानी छैन, बोल्दा सुन्दा सकस हुन्छ । लौ अरूको अगाडि त भन्यौली रे, तर हामी मात्रै हुँदा त नभने हुन्न र ?”
“यो थुतुनै बिग्रिसक्यो दुलही महारानी, अब त तमिज बिर्सिएर बोल्न जाने पो !”
“बुबु, म त यत्रा मान्छेहरूका बिचमा हुँदा पनि एक्लै छु जस्तो लागि रहन्छ,” रचिताले कपाल पाकेकी बुबुको अनुहारमा कसको छवि देखिन् कुन्नि, कल्पिएर रुन थालिन् ।
“आ दुलही महारानी, अब बेकारमा किन रोइबक्सेको, रोएर केही फाइदा छ र ? हजुरको सासूआमा पनि हजुर जस्तै रुँदा रुँदा आफ्नो बेहाल पारिबक्सिन्थ्यो । तर खै ! अहिले त उहाँलाई पनि पचिसक्यो । यस्तै हो दरबारको चलन, मैले त सानुराजाको दुलही दरबारमै हुर्केबढेकी रहनसहन जान्ने आओस् भन्ने सोचेकी थिएँ, तर के गर्नु ! आफूले सोचेर नहुनेँ, अब हजुर परिबक्सियो …….!”
“त्यसो भए के म मखमलमा जुटको टाँचा त …… !”
“त्यसो होइन दुलही महारानी, यो घरका लोग्नेमान्छे ले जे गर्दै आएका थिए त्यो फेरि सानुराजाबाट नदोहोरियोस् भन्ने मेरो मनमा पनि थियो । तर सानुराजाले पनि त्यही बाटो समातेकोले अब हजुरले नि आफूलाई त्यही अनुसार ढाल्नै पर्छ । यहाँको चलनलाई नमानी सुख छैन भने किन आजैबाट नमान्ने ? किन अहिलेबाटै नमान्ने ? मेरो बोलीको के कुरा दुलही महारानी, हजुरले त यहाँको अरू सबै कुरा पचाउने बानी पारिबक्सियोस्,” बुबुले रचिताको कपाल मुसार्दै उनको आँखामा हेरेर भनिन् ।
“बुबु !” रचिताले वृद्धाको दुवै हात समातिन् र उनको हातमा टाउको जोडेर रुन थालिन् ।
आफ्नो हात समातेर रुँदै गरेकी दुलही महारानीलाई हेर्दै बुबु ठिंग उभइि रहिन् । त्यो घरमा धेरै घामपानी पचाई सकेकी बुबुलाई रचिताको रुवाइले कतै छोएन । रचिताको रुवाइ मथ्थर भएपछि बुबु उठेर हिँडिन् । बुबु गएपछि रचिताले बुबुले अघि ल्याएर राखी दिएको चिया हेरिन् । चिया त रचिताले माइतीमा पनि देखेकी थिइन् तर चिया हालेर ल्याएको सिसाको कपप्लेट भने उनका लागि नौलो थियो । रचिताले एकै सासमा चिया पिएर रित्तो कपप्लेटलाई ओल्टाई पल्टाई हेर्न थालिन् र अचानक ढोकातिर जोरले बजारिन् । कप र प्लेट फुटेर चकनाचूर भयो । कपप्लेट फुटेको आवाज दरबारभरि नगुञ्जे पनि वल्लोपल्लो कोठा, भान्छा र तल बैठकसम्म त अवश्य पुगेको थियो, तर कोठाबाट केको आवाज आयो भनेर सोधिखोजि गर्न कोही पनि आएनन् । निक्कै बेरपछि रचिताले आफ्नो कोठातिर कोही आएको हलुका पदचापको आवाज सुनिन् । उनले कान ठाडो पारेर ढोकातिर हेरिन् र आफ्नो श्रीमान् कोठातिर आउँदै गरेको देखेर ढोकातिर दौडिदै भनिन्, “हजुर त्यहीँ पर्खिबक्स्योस, यहाँ भुइँमा सिसा छ ।”
“सिसा रे ! यहाँ सिसा कसरी आयो ?” प्रणवले कोठा बाहिर रोकिँदै सोध्यो ।
“मैले नै ….. !” श्रीमानको खुट्टा जोगाउन दुगुरेकी रचिताले आफ्नो खुट्टा जोगाउन सकिनन् । भुइँमा छरिएकाका कपप्लेटका काँच उनको खुट्टा भरी बिझ्यो, उनको खुट्टा रगताम्मे भयो ।
“ए त्यहाँ को को छ ? सबै जना माथि कोठामा तुरुन्तै आओ,” रचिताको रगताम्यै खुट्टा देखेर प्रणव दरबार थर्किने गरी करायो । प्रणव कराएको सुनेर तीनचारजना नोकरहरू कोठा बाहिर जम्मा भए । रचिताले बारम्बार कपप्लेट आफैले फूटालेको कुरा नभनेकी भए सायद सबको जागिर जान्थ्यो होला तर उनले बारम्बार आफैले गरेको कबुल गरेकीले प्रणवको क्रोध शान्त भयो । प्रणवले कपप्लेट किन र कसरी फुट्यो भनेर सोध्ला भन्ने आशा रचिताको मनमा थियो तर प्रणवले सोधेन । उसले खुट्टाबाट रगत चुहिँदै गरेको रचितालाई जुरुक्क उचालेर तल लगेर गाडीमा राख्यो र हस्पिटल लग्यो ।
रचिताको खुट्टा निको हुन करिब डेढ महिना जति लागेको थियो । श्रीमान् र उसका घर परिवारले उसको खुब सेवा गरेका थिए ।
“मेरो खुट्टा बचाउन त्यो दिन किन तिमी त्यसरी दुगुरेकी ?” एक दिन प्रणवले कुरै कुरामा उनलाई सोधे ।
“हजुरलाई केही भएको भए म हजुरलाई बोकेर हस्पिटल पुर्याकउन सक्दिनँ थिएँ, त्यसैले,” रचिताले सरल जवाफ दिइन् ।
“लाटी !” प्रणवले रचिताको कपाल मुसार्दै भन्यो, रचिता मुस्कुराइन् । प्रणवको स्पर्शमा रचितालाई बिरामी नै रहिरहन मन लागेको थियो । बिरामी हुँदा प्रणव ऊसँगै बसिरहेको हुन्थ्यो, आक्कल झुक्कलमा पाइने रातको दुईचार घण्टाको प्रणवको साथभन्दा त यही राम्रो भनेर रचिता सोच्दै थिइन् ।
“के सोचिरहेकी ?” प्रणवले सोचमग्न रचितालाई हेर्दै सोध्यो ।
“ …….. !” रचिता बोलिनन्, खाली टाउको हल्लाएर केही होइन भनिन् ।
“लाटी !” प्रणवले यस पटक रचिताको नाक समातेर गालामा म्वाइँ खायो, रचिता तृप्त भइन् । रचिताले मनमनै सँधैभरी यस्तै साथ पाउँ भन्ने कामना गर्दै आँखा चिम्लिन् ।
सुरुमा कुराकानी छिन्न आउँदा प्रणवको पारिवारिक सान देखेर रचिता यसरी नै तृप्त भएकी थिइन् । त्यो तृप्ती विवाह गरेर महलमा भित्रिएपछि झन् नझर्ने उँचाइमा पुगेको थियो । रचिता आफ्नो स्तरोन्नती देखेर मग्न थिइन भने छोरी दरबारमा परेकी भने माइती रमाएका थिए । रचिता र माइती, दुवैले चिताएकोभन्दा धेरै गुना अधिक प्राप्त गरेका थिए । रचिता असाध्यै राम्री थिइन, राम्री भएकै कारण प्रणवले रचिताको दाजु भाउजूकहाँ लमी मार्फत कुरा पठाएको थियो । दुवै परिवारको बेमेल स्तरलाई रचिताको सौन्दर्यले जितेको हुँदा विवाहको दोहोरो खर्च पनि प्रणवको परिवारले नै सकारेको थियो । प्रणव र रचिता, दुवैको चिना देखाइयो र चिना जुरेपछि चिन्ताको विषय रहेन, उनीहरूको विवाह भयो ।
चाँदीको सेतो मात्र दर्शन गर्न पाएकी रचिताले हिरा जवाहरातको उज्यालोमा नुहाउन पुगिन् । यही नै रचिता र उनको माइतको लागि अहोभाग्यको कुरा थियो । तर हिरा जवाहरात चम्किला नै किन नहुन, हुन त आखिर पत्थर नै त हो ! यिनका कठोरताको अनुभव रचिताले विवाह भएपछि मात्र थाहा पाउन लागेकी थिइन् ।
प्रणवले रचिताको सौन्दर्यलाई आफ्नो ऐश्वर्यले किनेका थिए । फलतः रचिता पनि दरबारमा एक जाज्वल्यमान किम्मती हिरा मात्र बन्न पुगेकी थिइन् । दरबारिया रहन सहनमा बाँधिन पुगेकी रचिताको आफ्नो पति प्रणवसँगको सम्बन्ध औपचारिक मात्रै थियो । श्रीमान् र श्रीमतीको सम्बन्ध पनि औपचारिकतामा मात्र सीमित हुँदा सुरु सुरुमा रचितालाई अचम्म लागेको थियो । बिस्तारै दरबारको रहनसहन र संस्कार बुझ्दै गएपछि भने रचिता अत्ताल्लिन पुगेकी थिइन् । श्रीमान् कोठामा आएर रातभरि बस्न रचिता कि बिरामी पर्नु पर्दथ्यो कि त प्रणवमा कुनै लहड चल्नु पर्दथ्यो । श्रीमानको सामीप्य पाउनकै लागि पनि रचिताले बेलाबेलामा बिरामी भएको बहाना बनाउन थालिन् । आफ्ना स-साना दुःख बिमारीलाई पनि ठूलो बनाएर देखाउन थालिन् । आखिर बहाना झुठो थियो, त्यसैले थाहा पाउने बित्तिकै प्रणव उठेर जान्थ्यो । प्रणवको अनुपस्थितिमा रचिता धेरै बेर कोक्किन्थी, आज पनि रचिता त्यसै गरी कोक्किएकी थिइन् तर कोक्याई सुन्ने त्यहाँ अरू कोही थिएनन्, उसकी सात महिनाकी छोरी बाहेक ।
“दुई बजेछ !” आफ्नै सोचमा मग्न रचिताले पहिले भित्तेघडी हेरिन् र त्यसपछि निदाएकी छोरीलाई केहीबेर मुसारमुसुर गरिन् ।
“कहाँ सवारी भएको होला ! कातिबेला फिर्ती सवारी हुने हो ! कसलाई सोधूँ ! यो भित्तालाई ?” रचिताले फेरि आफ्नो सोचाइलाई क्रमिकता दिन थालिन् । “बाहिरबाट हेर्दा चमचमाउँदो यो दरबार भित्रबाट कति कठोर रहेछ ! उफ्फः यो कठोतालाई मैले कसरी आत्मसात् गर्ने ?” रचिताले आफैलाई प्रश्न गरिन् । सुरुमा दरबारको कल्पना मात्र गर्दा पनि रमाउने रचितालाई अहिले दरबार र आफ्नो दरबारिया जिन्दगीदेखिको मोह कम हुँदै जान थालेको थियो । “धन सम्पत्ति मात्रै ठूलो कुरा होइन छोरी, साथ र सहयोगको पनि जीवनमा उत्तिकै महत्त्वपूर्ण स्थान हुन्छ,” दुई परिवारको अनमोल स्तरका कारण आमाले दबेको स्वरमा विरोध गर्दै भनेकी कुरा रचिताले सम्झिन् । “आमाले ठीकै भनेकी रहिछिन्, बुढापाकाले आफ्ना अनुभवका आधारमा भनेका कुरा त्यसै गलत कहाँ हुन्छ र !” रचिताले आमाको कुरालाई नै सही ठहर्याइन् । “तर अब यसबेला जानेर गर्ने पो के ! बेला घर्कि पो सक्यो त !”
रचितालाई आमाको कुरा र सम्झना आए लगत्तै माइतीको सम्झनाले पिरोल्न थाल्यो । रचिताले अहिले नै दौडेर पुगिहालौँ जस्तो भएको मनको आवेगलाई बल्ल बल्ल सम्हाली । माइतीलाई भेट्न बोलाउँदा उनीहरूले चौरासी व्यञ्जन बोकेर आउनु पर्ने भएकोले उनीहरूलाई बोलाएर त्यो झन्झट दिनुभन्दा बरु आफै माइत जानु नै बेस भनेर सोच्दै ढल्केकी रचिता कातिबेला निदाइन् ! उनलाई नै पत्तो भएन ।
बिहानै ब्युँझिनासाथ रचितालाई फेरि प्रणवको याद आयो । उनी दौडिएर कोठा बाहिर आइन्, प्रणव बाहिरी कोठाको सोफामा बसिरहेको थियो ।
“के भयो र तिमी यसरी अत्तालिँदै आएकी ?” रचिता प्रणवको नजिक पुगेपछि प्रणवले रचितालाई हेर्दै सोध्यो ।
“हजुर सवारी भयो कि भएन भनेर हेर्न आएकी नि,” रचिताले बढेको सास नियन्त्रण गर्दै भनिन् ।
“भनेपछि तिमी भर्खर बिउँझियौ ?”
“हजुर ।”
“हिजो राती पिएको थिएँ त्यसैले बिथोल्न मन लागेन र ……. ! आठ बज्न लाग्यो चिया तयार हुँदै होला तिमी फ्रेस भएर आऊ , तल बैठकमा बसेर कुरा गरौँला,” प्रणवले भन्यो ।
“हस्,” रचिताले प्रणवको अनुहारमा हेर्दै भित्र कोठामा फर्किन् । भित्र आएर रचिताले छोरीलाई काम गर्नेको हातमा दिएर पठाइन् र लुगा फेरेर तल बैठकमा पुगिन् ।
“किन ? अनुहार त मलिनो देख्छु नि तिम्रो, के भयो ?” टेबलमा चियाको सरसामान राखेको किस्ती आफूतिर तान्दै गरेकी रचितालाई प्रणवले सोध्यो ।
“राती राम्ररी निन्द्रा परेन,” रचिताले चिया बनाउँदै भनिन् ।
“किन परेन त ! छोरीले दुःख दिई की के हो ?”
“होइन , हजुर बेलैमा सवारी भएन त्यसैले ……” रचिताले चियाको कप प्रणवलाई दिँदै भनिन् ।
“मन लागेको थियो कि के हो ?” कप समात्दै प्रणवले रचिताको आँखामा आँखा जुधाएर सोध्यो ।
“धत् !” रचिता सरमले राती भइन् ।
“के को धत् नि, मन लागेको थियो भने खबर पठाएको भए पनि त हुन्थ्यो नि ।”
“छिः लाजमर्दो कुरा ! फेरि कसको हात खबर पठाउनु नि !”
“त्यसो भए अहिले ?”
“आम्मै !” रचिताले जिब्रो टोकिन्, “के मर्जी भएको हजुरले ? एका बिहानै ? कसैले थाहा पाए के भन्लान् ? बेला न कुबेला हुन्न, बरु भरे चाँडै सवारी होस् ।”
“के भन्नु ? ल हिँड जाऊँ भित्र कोठामा ।”
“लौ हेर त ! म त हजुरलाई एउटा कुरा भनौँ पो भन्ठान्दै थिएँ ।”
“के कुरा ?”
“मलाई माइती पुगाइदिई बक्स्योस् न है,” रचिताले चिया पिउँदै भनिन् ।
“यहाँ के कुराको असुविधा भयो र माइती जाने बिचार आयो ?” प्रणवले सोध्यो ।
“असुविधा भए मात्रै माइती जान्छन् र ?”
“टाढाको माइती भए पो जानु त ? “
“बिहेपछि हरेक नारीको लागि माइत टाढा हुन पुग्छ, हजुरलाई मानको लागि पो भनेको त ! नत्र त म एक्लै खुर्र पुगेर आउँथे नि ।”
“त्यसरी पुगेर आउन त त्यस्तै हो, तिमी जाने नै हो भने म बुवामुमासँग कुरा गर्छु, अहिले चाहिँ ….!”
“आफूलाई मन लाग्यो भने चाहिँ बेला न कुबेला लुसुक्क कोठामा पसेको हुन्छ, अरू बेला चाहिँ वास्ता छैन, मन लागे लागोस्, म त नाइँ ।”
“किन नाइँ ? तिमी माइती जाने कुराले त झन् गाह्रो भयो ।”
“भए होस्,” प्रणवलाई घुर्क्याउँदै रचिता कोठातिर लागिन् ।
प्रणव रचिताको कोठामा पस्दा रचिता ऐना अगाडी उभिएर आफूलाई निहारी रहेकी थिइन् । उसको कोठामा जो पायो त्यो मान्छे पस्दैन थिए । त्यसैले चाल मारेर पसेको प्रणवको उनले वास्ता गरिनन् ।
“लौ म त ठिक्क परेर बसेको होला भन्ठान्दै थिएँ, आऊ यता किन त्यहाँ उभिएकी ?”
“मैले त त्यसै भनिबक्सेको होला भन्ठानेको थिएँ ।”
“त्यसै त किन भन्थेँ म ?”
“ढोका खुल्लै छोडिबक्सेको छ ?” रचिताले नजिक आउँदै गरेको प्रणवलाई हेरेर भनिन् ।
“हुन देऊ, दरबार हो, अनुमति बिना कोही आउँदैनन् यहाँ ।”
“नाइँ, ढोका लगाइबक्सियोस ।”
“तिमी पनि …. !” प्रणवले ढोका बन्द गरेर आइ रचितालाई अङ्गालो हाल्यो । रचिताले आँखा चिम्लिन् तर उनको नाथ्रिमा अनौठो गन्ध आएर ठोक्कियो र उनले आफूलाई प्रणवको अङ्गालेबाट मुक्त गर्ने कोशिश गरिन् ।
“किन के भयो ?” प्रणवले आश्चर्य मान्दै सोध्यो ।
“हजुरको शरीरबाट अर्कै गन्ध आइरहेको छ ।”
“हिजोको कुरा छोड तिमी,” प्रणवले रचितालाई अँगालोमा कस्दै भन्यो ।
“नाइँ पहिले नुहाएर सवारी होस्, मलाई हजुरको शरीरबाट आएको यो गन्ध सहिनसक्नु भएको छ ।”
“खै ! कहाँ बाट आयो गन्ध तिमीलाई ?”
“जहाँबाट आए पनि आएको छ, पहिले नुहाउन सवारी होस् ।”
“नुहाउन्जेल त रहरै ठण्डा भइसक्छ ।”
“म यो गन्ध सहन सक्दिन ।”
“गन्ध गन्ध ! किन तिमी यो गन्धको पछाडि परेको भन्या ?”
“हिजो राती हजुर कहाँ सुकला भएको थियो, मर्जी होस् त ।”
“उता घरमा ।”
“उता घरमा कता ? सुसारेको घरमा ?”
“हो त्यतै ।”
“त्यसो भए अहिले पनि उसैलाई बोलाउनु नि त ।”
“बोलाए आउँछे, तर तिमी आएदेखि त्यो मलाई त्यति सारो मन पर्दैन ।”
“एउटा कुरा मर्जी होस् त, के मैले त्यसको ठाउँ लिएको हो ?”
“हैन ।”
“त्यसले त त्यस्तै सोच्दी हो ।”
“के भनेको होला ? त्योसँग दाँजेर पनि होला त अब ? त्यसलाई मेरो अनुमति बिना मेरो शरीर छुने अधिकार थिएन, तिमी अधिकारले भोग्छौ । अब अन्तर आफैँ खोज महारानी । र एउटा कुरा के बिचार गर भने महारानी, त्यसले तिम्रो स्थान सात जन्म लिएपछि पनि लिन सक्दिन त्यसैले त्यसले जेसुकै सोचोस्, त्यसले सोचेर के हुन्छ ?”
“तैपनि ! कतै त्यसको आत्माले त मलाई सरापी रहँदो हो नि जस्तो लाग्छ, मलाई देखेपछि त्यो कसो कसो तर्किन्छे , एउटा कुरा सोध्छु हजुर मलाई नढाँटी भनी बक्स्योस् है ।”
“के कुरा ?”
“त्योसँग हजुरको पहिलेदेखि शारीरिक सम्बन्ध थियो हगि ?”
“हो थियो, जति बेलादेखि बुझ्न थालेँ त्यति बेलादेखि थियो । तर त्यो हुनु कुन ठूलो कुरा भयो र ? त्यो सम्बन्ध तिमीसँगको जस्तो थिएन रचिता, तिमीलाई देख्दा म आल्हादित हुन्छु , त्यो अनुभूति त्योसँग हुँदा हुँदैन । त्यो भोक तिमी स्वादिलो भोजन, त्यो तिर्खा मेटाइ
तिमी तृप्ती । म झुठ बोल्दिन, त्यसैको लागि मनमा कुनै ध्याउन्ना छैन तिम्रो लागि चाह छ, यसैले त्यसलाई आफूसित तुलना नगर । तिमी यो दरबारको शोभा हौ मर्यादा हौँ ।”
“अनि त्यो मैले सधैँ सहिरहनु पर्ने कुहिगन्ध, मेरो लोग्ने रक्सी खाएर हरेक रात त्यहाँ लटपटिएर आउँछ र फेरि दरबारको शोभा र मर्यादालाई मानसम्मान दिँदै त्यही जुठो खुवाउन आतुर हुन्छ । यो कस्तो संस्कार हजुरको ?”
“किन मैले कुनै कुराको कमी हुन दिएको छु र ?”
“छैन, तर मलाई केही चाहिन्न । हजुर त्यसलाई सबै कुरा दिइबक्सियोस्, केवल एक कुरामा मेरो अधिकार होस् ।”
“के कुरा ?”
“मेरो लोग्ने, म ब्याहिता स्वास्नी हुँ, स्वास्नी जे सुकै बाँडे पनि लोग्ने बाँड्न सक्दिनँ ।”
“मेरो र तिम्रो स्कुलिग फरक भएको कारण हाम्रो बिचार र व्यवहार फरक छ । यसैले तिमीलाई यो निक्कै ठूलो कुरा लागेको हो रचिता, हैन भने दरबारमा यो कुरा सामान्य हो । सुरुमा मुमा पनि तिमी जस्तै होईबक्सिन्थ्यो । तर खै त ! बुवासँग चालिस वर्ष चल्यो त
! तिमीसँग पनि चल्छ ।”
“बुबाको मलाई मतलब छैन, तर हजुरको कुरामा म सहमत हुन सक्दिन ।”
“मुमा कसरी सहमत भइबक्सियो त ?”
“त्यो मुमाको कुरा, हजुरको शरीरबाट म अर्की आइमाईको गन्ध सहन सक्दिनँ ।”
“कुकुरले भ्याए जतिको खम्बामा मुत्दै हिँड्छ रचिता, के तिमी खम्बा गन्दै हिँड्छौ ?”
प्रणवको प्रतिप्रश्नमा रचिता अवाक् भइन् । उनीसँग त्यसको कुनै उत्तर थिएन । लोग्नेस्वास्नीको बीचमा दरबनरको संस्कार पर्खाल बनेर उभियो । रचिता त्यो पर्खाललाई न त नाघ्न सक्थिन्, न त भत्काउन नै सक्थिन । रचिताले लोग्नेलाई दरबारीया पारदर्शी पर्खालको पारी देख्न थालिन् । कपप्लेट फुटाएकी रचितालाई यो पर्खाल फुटाउन असम्भव देख्न थालिन् । उनको अगाडि दुईवटा बाटो आएर तेर्सिए, विद्रोह या यथास्थितिलाई स्विकार्नु । रचिताले धेरै बेर सोचिन्, उनलाई विद्रोहको बाटो पनि असम्भव नै लाग्यो । सोचमग्न रचितालाई एक छिन् हेरेर प्रणवले नजर घुमायो र भित्तामा राखिएको सजावटको सामानतिर आँखा डुलाउन थाल्यो । प्रणवको आँखा पेरिसबाट ल्याएको सिंगमर्मरको तराजु बोकेको न्यायको मूर्तीमा पर्योो, जसको पल्ला असमान थिए, प्रणव र रचिता जस्तै ।
“त्यसो भए नुहाएर फ्रेस होऊ, म ज्युनारको समयमा बुवामुमासँग तिमी माइती जाने कुरा राख्छु र तिमीलाई आजै माइत पुर्याइ दिन्छु,” प्रणवले फर्किएर रचितालाई भन्यो र कोठाबाट बाहिर निस्कियो ।
धेरै लामो छलफलपछि रचिताले दरबारबाट महिना दिनको छुट्टी पाइन् । उनलाई माइत पुर्यादउन प्रणव आफैँ गाडीमा जाने भयो । रचिता आफ्नो र छोरीको लाने सामान मिलाउनतिर लागिन् ।
प्रणवले आधा घण्टामै रचितालाई माइती र्पुयाइदियो । रचितासँगै प्रणवलाई देखेर रचिताको माइतीकाहरू चकित परे । दरबारको जवईँलाई घरमा ठूलै व्यवस्था गर्नुपर्ने कुराले उनीहरूको टाउको खायो । तर रचिताले ज्वाइँ साहेब पुर्याोउन मात्र आएको भनेकीले माइतीकाले सन्तोषको सास फेरे । रचितालाई छोडेर प्रणव आँगनबाटै घर फर्कियो ।
“अनि उता दरबारमा कस्तो छ त छोरी ? हामीसँग कुनै गुनासो त छैन नि ?” नातीनीलाई तेल लगाइदिँदै गर्दा रचिताको आमाले सोधिन् ।
“छैन आमा, जे पाइन्छ त्यसैमा चित्त बुझाउन जान्नु पर्छ भनेर तिमीले सिकाएकी होइनौँ र ? अब रह्यो कुरा सन्तुष्टिको ! त्यसमा पनि बानी पार्न सक्नु पर्दों रहेछ ।” रचिताले भनी ।
“दरबारमा परेकीले छोरी धेरै बुझ्ने भएकीले हो कि के हो ! मैले तिम्रो कुरा त बुझिनँ तर कतै मनको अन्तरकुन्तरमा पीडा छ जस्तो लाग्यो ?”
“छैन आमा, तिमीले आफ्नो जिन्दगीमा कल्पना नगरेकी कुरा पाएकी छौ । फेरि किन सोधखोज गरी रा भन्या ?”
“आमा हुँ, स्तर नमिल्ने घरमा परेकी छौ, त्यसैका कारण तिम्रो घरका मान्छेहरूलाई तिमीले गर्ने मान मनितोमा कमी कमजोरी भएर कतै केही तलमाथि पर्यो् कि भन्ने लागी रहन्छ र पो त …!”
“ह्या तिमी पनि के भएको उसै पिरिएर !”
“सन्तान काखभन्दा ठूलो भए पनि मनभन्दा ठूलो हुँदैनन् रहेछ । हिजो अस्ति मात्रै यसै गरी काखामा लिएर खेलाएकी छोरीले नै छोरी जन्माइ सकी ! अब कति के के भोग्न पर्ने हो भनेर पिरिएकी मलाई छोरी हुर्किएर अर्ती दिने भएकी देख्दा त ……. !”
“उसै हो त जुत्ता ठिक हुने भए पछि छोराछोरीलाई साथी सोच्नु भनेर भनेको ? अब जे जे सिकाउनु छ नातीनीलाई सिकाउनु,” रचिताले भनी ।
“हाम्री सानी राजकुमारीलाई हाम्रो सिकाई चाहिन्न, तिमी भए पुग्छ । ल हिँड अब, धेरैबेर घाममा राख्न हुन्न काली हुन्छे,” नातीनीलाई बोकेर रचिताकी आमा उठिन् ।
“यो काली भए के हुन्छ त ?”
“काली भए नराम्री हुन्छे । यो त तिम्रो दरबारभन्दा पनि अझ ठूलो दरबारमा पर्ने नातिनी पो त !” रचिताकी आमाले नातिनीलाई खेलाउँदै भनिन् ।
“आमा……,” अचानक रचिता चिच्याइन्, “यो नाबालखलाई किन श्राप दिन्छौ ?”
अपर्झटको चिच्याहटको कुरा नबुझेकी आमाले फर्किएर रचितालाई हेरिन्, रचिताको अनुहार मध्यान्हको घाम जस्तै भएको थियो ।
(स्रोत : खरीबोट डट कम)