समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~

आमुख –

‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’

– यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको अर्थ सायद गंगाजी नै अमेरिकामा भ्रमण गरेर नियात्राासङ्ग्रह लेख्ने प्रथम नारी हुन् । यात्रालाई अक्षरमा उतार्न त्यति सहज हुँदैन तर गंगाजीले सहज रूपमा सरल तरिकाले आफ्ना आँखाले देखेका भोगाइलाई हाम्रो समक्ष राख्नु भएको छ । यात्रामा यथार्थ देखाई भोगाई र रमाई पनि हुनाले आफैमा आनन्द आउँछ भने त्यहाँको त्यस ठाउँको, प्रकृतिक सौन्दर्यता, कला, संस्कृति, भूगोल, सामाजिक स्थिति, आदि विविध जानकारी लिन सकिन्छ र त्यसलाई शब्दमा उतारेर जनसमक्ष राख्न सके ता झन अनुसरण गर्न खोज्नेलाई एउटा मार्गदर्शन बन्न जान्छ । गंगाजीले यी भ्रमणहरूबाट प्राप्त उपलब्धीलाई यसरी प्रस्तुत गर्नु हुन्छ –‘ यस भ्रमणबाट मैले आफ्नो देशका नेपालीहरूसँगको नातालाई धेरै नजीक पाउन सफल भएँ भने यो यात्राले शैक्षिक एैतिहासिक, सामाजिक, सांस्कृतिक र ज्ञान विज्ञान सम्बन्धी पनि धेरै कुराहरूको उपलब्धिहरू हाँसिल गर्न सफल भएँ ।’ (आफ्नै अनुभूति )

यस नियात्राक्रममा १२ओटा नियात्रा सङ्गृहीत भएका छन् । गंगाजीको पहिलो नियात्राक्रममा ‘पहिलो अमेरिकाको भ्रमण र बटुलेका अनुभवहरू’ शीर्षकमा प्रस्तुत भएको छ । पहिलो भ्रमण २००५ को नोभेम्वर २८मा छोरा संजयले बोलएर गंगाजी र उहाँका श्रीमान जनकजीले अमेरिका (ह्युस्टन) को यात्रा गर्नु भएको थियो । यस यात्राले गंगाजीको कविता लेखनको निरन्तरता, ह्युसटनका हिन्दु मन्दिरहरू ( राधाकृष्ण मन्दिर, स्वमी नारायण मन्दिर, मिनाक्षी मन्दिर, शिव मन्दिर र नेपालीहरूले बनाएको पशुपति मन्दिर) को दर्शन र पूजा गरेका विवरण, ह्युस्टनमा नेपाली साहित्य संस्था नभएकोले ,वाशिंग्टनमा गएर लक्ष्मी जयन्ती र भानु जयन्तीमा सहभागी भएका कुरा, मिति २०१० मे २८ मा NRN-Global कार्यक्रम सहभागी साहित्यकारले अ.न.स.को जिम्मेवारी दिएकाले २१० मे २८ देखि साहित्य सृजना दिवस भनेर साहित्यिक कार्यक्रम संस्थापक अध्यक्षको रूपमा साहित्य सेवा सञ्चालन गरेका , नेपाली बालबच्चाहरूले नेपाली भाष संस्कृति र संस्कारको विकास र जगेर्ना गर्नको लागि नेपाली भाषको स्कूल र Library school पनि जन्माएको धारणा समेटिएका े छ । अमेरिकाले दिएको सहयोगको प्रशंसा गर्दै अमेरिकालाई धन्यवाद पनि दिइएको छ ।

टेक्सासको केन्द्रविन्दु ‘आस्टिन’ एक सुन्दर स्मरण – यस नियात्रा २००६ को जनवरी फेब्रेवरी तिर गरिएको मा ‘अमेरिकालाईल Melting pot भनिन्छ ’भन्दै , अमेरिकाका प्राकृतिक सम्पदाको सुन्दर वर्णन गरिएको छ । सिम सिम पानीमा मयुरको नाच, प्राकृतिक झर्नाको साथै कृतिम झर्ना, मृग, बाह्रसिंगे जनावर, खरायो, भालुको दौडेर खेलेको, ठूलो लेकको अवलोकन, Barsana Dham(राधाकृष्ण) को दर्शन र पूजा गर्नु, Texasको राजधानी आष्टिन भएकोले त्यहाँका कार्यालय र सहरको अवलोक गरेको वर्णन समेटिएको छ । ठाउँ ठाउँ नेपालको स्मरण र प्राकृतिक सुन्दरतामा तुलनात्मक वर्णन गरिएको छ । आत्मशान्तिबाटै ईश्वरको प्राप्ति गर्नको लागि यात्रा गरिने तर वास्तवमा ‘मानिस भित्रै ईश्वर हुन्छ’ भन्ने जस्ता आध्यात्मिक धारणा पनि यहाँ दर्शिएका छन् ।

Deals को भ्रमण एक मीठो यादगार –‘Deals ,Texas’ को एउटा मुख्य सहर रहेकोमा गंगाजीका परिवारहरूले दुई पटक भ्रमण गरेका र पहिलो पटकको भ्रमणमा नेपालीको संख्या पनि राम्रो रहेको नेपालीसँग भेटघाट भएर रमाएको, सुनिल लाकौलकोमा बसेको सुनिलले कृष्ण मान्दिरको अवलोकन गराएको, लेक झर्नाहरूको अवलोकन, टावरबाट घुम्ने कुर्सीमा बसेर सारा सहरको अवलोकन, अनेसासको आयोजना गरेको भानु जयन्ती र गूरुपूर्णिमाको कार्यक्रममा सहभागी भएर ‘जननी जन्मभूमिश्चस्वर्गादपि गरीयसि’नामक कविता सुनाएको र दीपक भाईलाई पनि भेट गरिएको धारणा आएका छन् । दोस्रो पटकको भ्रमण गंगाजीका देवरकी छोरी Serilले Graduationको कार्यक्रममा गएको उक्त कार्यक्रममा सहभागी भएको र दीपकको ज्वाइँ विरामी अवस्थामा रहेकोले भेट गरेर पर्किएको धारणा आएका छन् ।

वाशिङ्गटनका भ्रमणहरू– पहिलो भ्रमण (फेब्रुवोरी ६ तारिक, २००६) मा भाइको आग्रहमा वाशिङ्गटन पुग्नु, आइतवार साहित्य कार्यक्रममा सहभागी हुन जानकारी पाउनु र साहित्यिक कार्यक्रममा सहभागी भै अमेरिका पुगेर ह्युस्टनमा बसेर लेखेको कविता ‘प्रतीक्षा’ कविता र संगीतको आभासमा कविता सुनाउनु, सबैले मन पराउनु , यस पछि वाशिङ्गटनमा साहित्यिक कार्यक्रममा आवत जावतले निरन्तरता पाउनु, white house-को अवलोकन, Monument बाट सहरहरूको अवलोकन, वाल्टिमूर मेरीलैण्डका भ्रमण र वाल्टिमूरका सुन्दर लेकमा डुङ्गामा सयर गर्नु , प्राकृतिक गुफा जस्तलाई कृतिमताले सुसज्जित गरी झनै आकर्षक पारिएको, मनमोहक गुफाको अवलोकनको साथै बजारमा किनमेल समेत गरी १८ दिनमा ह्युस्टन फर्केको विवरण यसमा समेटिएको छ ।

दोस्रो भ्रमण – २००७ को जुलाईमा, भानु जयन्तीको अवसरमा साहिथ्त्कि यात्रा गरिएको । यो साहित्यिक कार्यक्रममा वनभोजको आयोजना पनि गरिएकोले खुवै रमाइलो भएको, गंगाजीको ‘संगीतको आभास’ कविता सङ्ग्रहको विमोचन पनि यसै कार्यक्रममा गरिएको र पार्कमा गरिएको यो साहित्य जमघटमा विविध विधामा प्रस्तुति आएको, खाना सहभागीहरूले थरी थरीका लगेका, स्वाद पनि फरक फरक लिन पाइएको र पार्कको सुन्दरताले कार्यक्रम भव्य भएको धारणा यस नियात्रामा समेटिएको छ ।उक्त अवसरमा गंगाजीले प्रस्तुत गरेका तीन कविता मध्येमा आनन्दताले विभोर भएको एक कवितालाई यहाँ पस्कने अनुमति माग्दछु –

कति खुसी छ
दिल मेरो आज
लगाएको देख्छु
प्रकृतिले ताज
(पृष्ठ ३२ )

तेस्रो चौथो र पाँचौं भ््रमण –तेस्रो भ्रमणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०१ जन्मजयन्ती मनाउन गएको र यसमा भाइटिका पनि रहेकोले दुईवटा काम भएको देखिन्छ ।

चौथो भ्रमणमा भानुजयन्तीमा सहभागी भएको र अमेरिकाको लागि नेपाली राजदूतबाट Famous poetessको उपाधीबाट सम्मानित भएको धारणा आएको छ ।

पाँचौ भ्रमण महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ जन्मजयन्ती मनाउनको लािग गरिएको र भाइटिका समेत मनाइएको धारणा आएको छ महाकवी लक्ष्मीप्रसादकै मुनामदनको एक लाइनलाई शीर्षक बनाएर यसरी गीत प्रस्तुत गरिएको छ –

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
सिरीस फूल रोपेर यहाँ गुराँस फुल्दैन
खहरे खोला भीरले पुरे नदी झै बग्दैन
इर्षाको बोट रोपेर यहाँ प्रीति झै झागिन्न
प्रेमको माला पवित्र गाँसे कहिल्यै मासिन्न

छैटौं र महत्त्वपूर्ण भ्रमण – यसमा अनेसासले चौतर्फी रूपमा नेपाली साहित्य, भाषा, संस्कृतिको उन्नती, समृद्धि र परम्परा जोगाउनको लागि राम्रो काम गरेको, बालबालिकालाई नेपाली भाषा सिकाउनको लागि भाषा पाठशाला खोलिएका साथै यसका शाखा ७० ठाउँमा विस्तार गरिएका धारणाहरू आएका छन् । यस भ्रमणको उदेश्य पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ जन्मजयन्ती मनाउनु नै थियो । २०१२को नभेम्वर ११ तारिक ह्युस्टनले आशियाना रेष्टुरेन्टमा १०३ लक्ष्मीजयन्ती भव्य साथमा मनाइएको र १८ तारिखमा वाशिङ्गटन डि.सी.को Centreville Regional Library मा भव्यताको साथमाा मनाइएको थियो । यस लक्ष्मीजयन्तीमा डा.शंकरप्रसाद शर्मा र प्राध्यापक ठाकुर पराजुलीको प्रमुख आथित्व रहेको, ६ ओटा कृतिको विमोचन भएको, यी छ ओटा कृतिमा अनेसासका संस्थापक होमनाथ सुवेदी द्वारा लेखिएको गंगाका १४ ओटा कृतिको समीक्षा कृति ‘गंगाका समीक्षा’ पनि विमोचन भएको थियो । होमनाथजीले समालोचना कृतिमा गंगाप्रति राखिएको धारणा यहाँ यसप्रकार समावेश गरिएको छ – ‘निरास, हतास, मृत्युमुखीभन्दा, आशावादी, जीवनमुखी, सौन्दर्यपरख साहित्य नै गंगाको साहित्य हो ’ –होम नाथ सुवेदी ।

यस कार्यक्रममा गंगाजीले नारीलाई आफूले आफूलाई न धिकार्न र हार खान हुन्न भन्दै आह्वान गरेको, केही पङ्क्ति यहाँ प्रस्तुत गर्ने अनुमति चाहान्छु –
…..
पवित्रताकी खानी तिमी हौ
युगौं–युग हाक्ने भवानी तिमी हौ
‘घरै मन्दिर हो’ यही मान्यतामा
शान्ति समृद्धि सुभद्रा तिमी हौ ।
तिमी अग्रगामी दिशाकी ईशा हौ
तिमी नै सदा सभ्यताकि ऋचा हौ
तिमी स्वच्छ बन्दा उज्यालो छरिन्छ
यसैले तिमीलाई पूजा गरिन्छ ।
पृष्ठ ४१

बास्तवमा घर भन्नु नै नारी हो । उसमा के शक्ति छैन, सबै शक्ति छ र गंगाजीले नारीलाई महत्त्वपूर्ण स्थान दिनु भएको छ ।

Atlantic Oceanको झोलुङ्गे पुल–यस नियात्राको उदेश्य सीमा नाम गरेकी बहिनीलाई भेट्नु र क्भबतब ितिर घुम्नु थियो । गंगाजीले जलको अपार महिमाको साथै विकरालरूपको वर्णन गर्नु भएको छ । प्राकृतिक सौन्दर्य पान गर्दै लालीगुराँसका १२ थरीका जातको अवलोकन गर्दै सीमाको घरमा पुग्नु, सीमा लगायत का ५÷६ वटी महिलाले जग्गा लिएर घरबनाएर बृद्धबृद्धालाई शुक्लसहित सेवा गर्ने व्यवसायमा लागेको र पैसा कमाएको कुरा, अर्को एक जना महिलाले विग्रेका केटी जम्मा गरेर व्यवसाय चलाएको यो व्यवसायबाट नपुगेर, त्यहाँ गएका मानिसलाई काम दिने भनेर दुइ जनालाई काममा लगाएर एक जनाको मात्र तलव दिने जस्ता काममा पुग्नु, जालमा फँसेको महसुस भएर त्यहाँबाट हिड्नु र सीमाकोमा पुग्नु । यहाँ गंगाजीले एउटा मार्मिक कविता लेख्नु भएको छ जो यसप्रकार छ –

पारदर्शी जीवन जिउन खोजेँ
जहाँ तहीं काँडै काँडा पाएँ ।
सहृदयी मानव भेट्न खोजेँ
छलकपटी दानव मैले पाएँ ।
पवित्र भोजनको प्रतिक्षा गर्दा
छलकपटको मिसावट पाएँ ।
खुशीयालीको माहौल खोज्दा
कहालीलाग्दो वातावरण पाएँ ।
रात नै उज्यालो हुने संसारमा
दिनमै अन्ध्यारो छाएको देखे ।
जाडोगर्मी समान हुने ठाउँमा
थुरथुर काँपेर म हल्लि रहें ।
अर्थतन्त्रमा नै हाहाकार गर्ने
उनमा अत्यान्तै अहम्भाव देखे ।
नेपाली एकत्वभाव वोध खोजे
आकाश पातालको अन्तर पाएँ ।
(पृष्ठ ४८)

यहाँको तीतो अनुभवपछि गंगाजीको भ्रमण एटलान्टिक ओसेनतिर, उनका देवर देवरानी देवरकी छोरी श्वेतास र सीमा बहिनी समेत, लाग्नु । लामो पुलको बारेमा गंगाजीले पस्केको मीठो धारणालाई उनकै शब्दमा हेरौं – ‘‘ जाँदाजाँदा बाटोमा लामो पुल, लचक्क, समुद्रमा पो छोइएको कस्तो गजब पुलत माथि पो हुनु पर्ने तर त्यहाँ समुद्रको पानीमा छोइएर दुईतिर उठेको छ । कस्तो गजबको सौन्दर्य देखिन्छ । त्यहीबाट गाडीको रफ्तार पनि चलेकै छ ।’’

पुल पारगरेर अघि बढेपछि एटलान्टिक महासागरमा पुगेपछि त्यहाँको सौन्दर्यता, अनगिन्ती मानिसको तमासामा हेर्नमा तल्लिनता, ह्वेल माछा लगायत माछाहरूको नृत्य, समुद्रको उर्लदो छाल आदिमा रमाउँदा, हावा चल्नु र भागदौड चल्नु ,टावरमा चढ्नु र रमाइलो हेर्नु र फर्कनु जस्ता धारणा यस नियात्रामा आएका छन् ।

यस नियात्रामा गंगाजीले प्राकृतिक सौन्दर्यताको वर्णनमात्र नभएर नेपाली नारीले विदेशमा बसेर कसरी धन आर्जन गरेका छन् भन्ने खोज अनुसन्धन पनि गरेको देखिन्छ । उनले पस्केको कवितालाई अध्ययन गर्दा नेपालीको एकत्वभाव हुनु पर्नेमा सो हुन नसकेको धारणा आएको छ ।

अमेरिकाबाट नेपाल फर्कदाको अनुभव बटुलबाटुल– ‘देश सानो भए पनि आफ्नो देशको माया धेर्रै ठूलो हुँदोरहेछ ।’ यी शब्दहरू गंगा लिगलका हुन् । नेपालप्रतिको अगाध माया बोकेकी गंगा लिगले आफ्ना धारणा प्रष्टरूपमा हरेक कृतिमा राखेको पाइन्छ । विदेशमा बसे पनि यहाँको गुन्द्रुको झोल, फापरको रोटी, हाँडीमा भुटेका मकै र मोहीको यादले सताउँछ । यस राष्ट्रप्रतिको माया, यहाँको प्राकृतिक सौन्दर्यता र लालीगुराँसको सुन्दरतालाई उहाँले आफ्नो मुटुभित्र सङ्गृ्रहीत गर्नु भएको छ । उहाँ अमेरिका बाट नेपाल आउने र जानेक्रम जारी छ । २०१२ को जनवरीमा नेपाल पुग्दाको नेपालमा उनले पाएको यथार्थताहरू यहाँ पस्कने काम भएको छ । यहाँ आउँदा अनेकथरी दल र संस्थाका हड्ताल र बन्दका कार्यक्रम, नारा जुलुस, जुलुसमा देखिएको गाली गलौज भोग्न परेको कष्ट यी बन्दहडताल उपलब्धीप्रति लक्ष गर्दै उहाँ लेख्नु हुन्छ –‘सुरम्य नेपाल आमाको मुहारमा कालो पोत्ने काम सिवाय अरू केही थिएन यहाँ । ’ अरु कुरा हरू पनि गंगाजीले ठाउनु भएको छ , जस्तै प्रगति नदेखिएको फेशन भने बढेको, जनसंख्या बढेको आदि कुराहरू यहाँ आएका छन् । यहाँ नेपाल टिभीमा अनतरवार्ता दिनु , अन्तरवार्तामा अनेसास ह्युस्टन च्याप्टरको अध्यक्षको रूपमा संस्था संचालन, भाषा पाठशाला सञ्चालन संस्कृतिको को संरक्षण र सम्बर्धनको लागि सल्लाह र सुझाव दिएको जस्ता धारणा अन्तरवार्तामा राखेको धारणा र अनेसास नेपाल च्याप्टरले आयोजना गरेको स्वागत समारोहमा राधेश्याम लेकालीले सम्मान गरेका कुरा । यसरी यहीेवेला चैत्र १४ गते नेवा खलले महिला साहित्यकारलाई सम्मान गर्ने कार्यक्रममा सम्मानित भएका धारणा लगायत। यस नियात्रामा नेपालको बन्दहडतालले गर्दा तीतो अनुभूति भएकोभएता पनि नेपाली आमाको मायाले गर्दा मीठो मान्दै भैरहवाबाट काठमाण्डौ हुँदै अमेरिका फर्कदै यो नियात्रा समाप्त भएको छ ।

अतितको सम्झना – अमेरिकाबाट धेरै वार्ष पछि नेपाल आउँदा आफ्नो जन्म थालो पाल्पा तानसेन पुग्दा त्यहाँ प्रगति भएको र ठूलै परिवर्तन आएको , शीतलपाटीको चहलपहल बढेको, श्रीनगरको डाँडोमा सुन्दर घरहरू बनेका, नारायण थानको भ्रमण, नातापाता भेटघाट, फर्कदा केराबारीमा आएर नास्ता गर्नु, सेलरोटी बारा, पकौडी मालभोग केरा किन्नु , बुटवलको शनीबारे बजारमा जानु र न्यूरो, कुरीलो किनेर भैरहवा फर्केको धारणा आएको छ । आफ्नो बालक कालको तानसेन र आजको तानसेनमा धेरै परिवर्तन भएको तथा प्रगति भएको धारणा आएको छ यस लेखमा ।

फ्लोरिडाको भ्रमण र गहन स्मरण– ‘श्रृङ्गारिक अनगिन्ती प्राकृतिक र कृतिम सामाग्रीका खानीले अमेरिका स्वर्गको देश भने पनि केही फरक पर्ने छैन ।’ (पृष्ठ५७) । यी शब्दबाटै थाहा लाग्छ कि अमेरिकाको प्राकृतिक सौन्दर्यता कति विशाल छ । गंगाजीले यस नियात्राका लेखनमा सारा अमेरिकाको प्राकृतिक सौन्दर्यलाई समेट्दै यस नियात्राको उद्देश्यमा प्रवेश गर्नु भएको छ । यात्रामा गंगाजी त्यहाँको रम्य प्राकृतिक सौन्दर्य देख्दा यति प्रफूल्ल हुनुहुन्न्थ्यो कि , हरेक ती प्राकृतिक सम्पदा, पाल्म रुखका पातहरू, चरा, बोटविरुवा आदि सबैले उनको स्वगत गरेको भान हुन्थ्यो । पहिलो दिन क्ष्ल्ीक् का च्याप्टर अध्यक्ष सुन्दर श्रेष्ठ र रेखा श्रेष्ठको घरमा बास बस्नु थियो, त्यहाँ उहाँ पुग्दा नपुग्दा रम्य वातावरणमा कवितामय भएको, भोली पल्ट मुख्य कार्यक्रमको भएको र उक्त कार्यक्रममा गंगाजीको कृति ‘भानु तिम्रो सम्झनामा’ विमोचन भएको । गंगाजीले ‘फ्लोरिडालाई ह्युस्टनको कोसेली’ नामाको कविता वाचन गर्नु भएको, कृति विमोचन INLSका संस्थापक अध्यक्ष श्री होमनाथ सुवेदीज्यूले गर्नु भएको, हरेक च्याप्टरका अध्यक्षज्यूहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको, कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि भएको र कार्यक्रमको सकिएपछि श्री सुन्दर श्रेष्ठ र रेखा श्रेष्ठ को घरमा बास भएको, भोली पल्ट विहान पुष्प प्रधानजीले पाल्म वीचमा घुमाउन लैजानु, गोकर्ण जी.सी.र रत्ना जी.सी.सँग २५ वर्ष पछि भेट भएको मयामीमा महामेला लागेको, नदीहरू समुद्रमा मिलेको सौन्दर्यता, सनवाथको रमणीयता आदिको अहवलोकन पछि कृष्णकोमा बास गरी ह्युस्टनमा फर्केको धारणा आएको छ ।

ह्युस्टनमा साहित्यिक कार्यक्रमको सिर्जना एक झलक एक अविस्मरणीय स्मरण–
‘‘साहित्य जगत सधैं चोखो हुन्छ त्यस्तै संस्कृति पनि’’–यी सारगर्भित शब्द हुन् गंगा लिगलका । यी शब्द यस कृतिको अन्तिम शीर्षक ‘ह्युस्टनमा साहित्यिक कार्यक्रमको सिर्जना एक झलक एक अविस्मरणीय स्मरण’ मा पस्कनु भएको हो । यस लेखमा गंगाजीले स्मरण शब्दलाई यसरी परिभाषित गर्नु भएको छ –‘ कनिकुथीलाई जम्मा गरि कुटुरो पारेर समयमा मनलाई आनन्द दिलाउन र रमाउनका लागि फुकाउने कुटुरो रूपी ऐना नै स्मरण हो ।’ यस लेखमा आदिकवि भानुभक्त र महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानको स्मरण गरिएको छ । यिनले दिएको योगदानलाई चीरस्मरणको लागि जन्मजयन्ती मनाउने काम,२०१०मा ह्युस्टनमा एनआरएनले ग्लोवल कार्यक्रम राखेको, यसमा गंगाजीका ऐना कथासङ्ग्रह र गंगाका गजल गजलसङ्ग्रहको विमोचन र कविता वाचन गरिएको ,यही दिनमा अनेसासको ह्युस्टन च्याप्टरको स्थापना गरिएको, यस दिनलाई ह्युस्टनले ‘‘साहित्य सिर्जना,दिवस’’ को रूपमा मनाउँदै आएको, भानुजयन्ती र लक्ष्मीजयन्ती मनाउन थालिएका, १०१ औं लक्ष्मी जयन्ती हर्मन पार्कमा गर्दा ‘‘सखी वियोग खण्डकाव्य पनि विमोचन गरिएको, जुलाई १५, २०११ मा १८९ औं भानुजयन्ती आशियाना रेष्टुरेन्टमा मनाईएको र गंगाजीको ‘‘सागरपारि’’ कवितासङ्ग्रह विमोचन गरिएको, यही २०११मा नै लक्ष्मीजयन्ती १०२ मनाएको , यही सालको दिसम्बर १६ मा प्राध्यापक बालकृष्ण भट्टराईलाई अभिनन्दन गरिएको र बालकृष्णकै हातबाट गंगाजीको ‘‘लालीगुराँस’’ गीतिसङ्ग्रह विमोचन भएको, यही साल १४ जुलाईमा भानुजयन्ती फ्लोरिडामा मनाइएको र गंगाजीको ‘‘भानु तिम्रो संझनामा’’ कविता सङ्ग्रह विमोेचन गरिएको, वाशिंगटनबाट ‘‘पत्र साहित्य’’ र नेपालबाट ‘‘ममताको खास्टो’’ खण्डकाव्यको पनि विमोचन भएको, १८ तारिक २०१२मा वाशिंगटन अ.ने.सा.स केन्द्रिय कार्यालयमा होम सुवेदीजीले गंगाजीका १४ ओटा कृतिमा गरेको समालोचना (गंगाका समीक्षा) कृतिको राजदूत डा.शंकर शर्मा र प्रोफेसर ठाकुरप्रसाद पराजुलीबाट विमोचन गराइएको, नोभेम्वर १५, २०१२ मा नेपालमा मनाइने बाल दिवसमा नेपाली भाषा पाठशाला खोलिएको धारणाहरू यस शीर्षकमा अएका छन् ।

माथि मैले सबै भ्रमणहरूका भावसार पस्कने प्रयास गरेको छु । यी भ्रमणहरू यात्रा र नियात्राको रूपमा यहाँ पस्किएका छन् । यी भ्रमण अमेरिकाका विविध स्थानहरूमा धेरैजसोले ह्युस्टन र वाशिंगटनले अग्रता पाएका छन् भने आष्टिन, Dallas, Atlantic Ocean, फ्लोरिडाको साथै नेपालको काठमाण्डौ, भैरहवा, तानसेन (पाल्पा)को परिवेशमा लेखिएका छन् । अधिकाम्स भ्रमण साहित्यिक कार्यक्रममा सहभागिताको लागि गरिएका छन् र फलदायी पनि देखिएका छन् । केही भ्रमण स्थान अवलोकनको लागि पनि गरिएका छन् तापनि गंगाजीले पस्केका प्राकृतिक सौन्दयर्ता, स्थान विशेषको महत्त्व, त्यहाँ भएका गरेका कार्यले देशलाई पुर्‍याएको योगदान, अमेरिकामा बसेका नेपालीहरूको अवस्था, नेपाली भाषा साहित्य र संस्कृति बचाउन गरिएका प्रयासहरूको वर्णनहरू सटीक रूपमा आएका छन् । नेपालमा आउँदा बन्द–हडतालले पारेको कष्टदायी जीवन, आर्थिक विकासमा पुर्‍याएको अवरोध, सडकको दयनीय अवस्था, जनसंख्याको बढ्दो चाप, बढ्दो फेशनको असर आदिलाई यी भ्रमणमा समेट्ने प्रयास भएको छ । हरेक भ्रमणमा त्यस स्थानमा भएका मन्दिरको दर्शन, अवलोकन र पूजापाठले गंगाजीमा धर्मप्रति तथा ईश्वरप्रतिको गहन आस्थालाई प्रष्ट पारेको छ । सरल र सुवोध भाषामा लेखिएका यी भम्रमणलाई नेपालका यो्जनाकार, नेतृत्ववर्गले पढ्ने र मनन गर्ने हो भने निश्चय नै यस देशलाई अमेरिकाको विकास जस्तै बनाउन र अमेरिकामा बसेका साहित्यकारले नेपाली पन, नेपाली भाषा,संस्कृतिक, साहित्यमा गरेको अतुलनीय योगदानलाई मूल्याङ्कन गर्ने हो भने यो कृति एउटा मार्ग दर्शन बन्न सक्छ जस्तो मलाई लाग्छ ।

भाषगतरूपमा, प्रस्तुतिगतरूपमा समीक्षक र पाठकले चाहेको जस्तो पूर्णता यस कृतिमा नहुन सक्छ किनकी लेखकले लेख्ने समयको परिवेश, त्यहाँको बस्तुस्थिति, लेखकको विषय बस्तुतिरको झुकाव या दिन चाहेको महत्त्वलाई पाठक र समीक्षकको सोचमा समानता नहुन सक्छ ।

अन्त्यमा मलाई लाग्छ गंगाजी आफ्नो भावना पोख्न सशक्त हुनुहुन्छ । उहाँको यस लेखमा उहाँले भोगेका, देखेका, मनमा बिझेका र पाठकलाई दिनचाहेका सन्देशमा उहाँको भावना प्रष्ट छ र एउटी सफल नियात्राकारको रूपमा आफूलाई उभ्याउनु भएको छ भन्दै साथै उहाँको सुस्वास्थ। दीर्घायुको कमनाको साथमा यस लेखको बिट मार्न चाहान्छु ।

मिति २०७५ साल माघ २७ गते
कावासोती न.पा. वार्ड नं ७, शान्तिचोक

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.