~श्रीकृष्ण श्रेष्ठ~
मेरो देश नेपाल, काठमाडौं मेरो सहर
के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर
प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ
देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ।
यहाँ घर बिनाको लावारिस् मान्छे छ
तर व्यवसाय बिनाको घर छैन
परायाले यहाँ साथ देलान् बरु
आफ्नै मान्छेको भने भर छैन।
विश्वा सम्पदा लाज मानेरै
खै, कुन कुनामा लुक्छन्
विशाल नदी फेरी प्यासैले
पल भरमै कसरी पो सुक्छन्।
यो मेरो सहर,
मानौँ सपनाको संसार जस्तै छ
किन्ने कार्य मुस्किल यहाँ
तर बेचिन त यहाँ सस्तै छ।
मेरो सहरले ठगी गर्न सिकाउँछ रे
पैसाकै लागी मार्न मर्न सिकाउँछ रे
सायद त्यसैले यहाॅ देशको सारा आई खाँदिएको छ
सायद त्यसैले देशले फेर्ने सास यहाँ बाँधिएको छ।।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )