~सविना सिन्धु~
“पटक–पटक मोबाइलमा रिङ्ग टोन बझ्छ । रिसिभ गर्यो ।…हेलो भन्यो । तीन मिनेट होल्ड गर्दा पनि कोही बोल्दैन ।”, उर्वशीले मलाई सुनाई । “तँ जस्तोलाई त हो नि घरिघरि मिस कल आउने…यस्तो कल आउने । खै हामीलाई आउँदैन ।”, मैले उर्वशीलाई जिस्काउँदै भनेँ । ठिक त्यही बेला फेरी फोन आयो । रिसिभ गर्दा पनि कोही बोलेन ।
मोबाईलमा स्पिकर अन थियो । त्यसैले उताबाट आएको गाडीको आवाज मैले पनि प्रष्ट सुनेँ । केही क्षण उसले ‘हेलो’ भनी तर गाडीको आवाज बाहेक केही आएन । त्यसपछि फोन काटियो । धेरैबेर पछि हामीलाई कौतुहलता भयो । “फेरी फोन गर् न को चैँ रछ ।”, मैले भनेँ । ऊ राजी भई । उसले त्यही नम्बरमा थिची मोबाइलबाट । फोनको घण्टि गयो । फोन उठ्यो पनि । जती पटक हेलो भन्दा पनि मानिसले जवाफ फर्काएन । दुई मिनेट पछि बल्ल उसले फोन काटी ।
“तेरो स्वर राम्रो लागेर फोन गरेको होलानी । पक्कै कुनै ह्याण्डसम हुनुपर्छ …बुझिस् ।”, मैले जिस्काउने बाटो पाएँ ।
–“अँ छोराकी आमालाई फोन गरी बस्दो हो नि, ह्याण्डसम पनि ।”, उसले जवाफ फर्काई ।
सुन्दा अचम्म लाग्ला ‘क्राइम ग्याङ्ग‘ का सदस्यहरु तन्नेरी ठिटा होइनन् । अधबैशे पुरुषहरु हुन् । यो कुनै ठाउँ–कुठाउँ गएर लुट्तै हिँड्ने ग्याङ्ग पनि होइन । यस ग्याङ्ग भित्र समाजका गण्यमान्य नागरिक, बौद्धिक ठानिएका ब्यक्तिहरु, उच्च तहमा पुगिसकेका नागरिकहरु पनि छन् । उनीहरुको यो पाटो बिरलै मानिसले देखेका होलान् । उनीहरुको उद्देश्य कमाई गर्नु हो । धनी बन्नु हो । आफू फस्नु हुँदै होइन, अरुलाई फसाउनु हो ।
उनीहरु त्यो बर्गमा पर्दछन् जसले ‘फेक’ प्रमाणको सिर्जना गर्छन् । न्यायको आँखामा छारो हालेर अर्कालाई दोषी ठहर्याउन जे सुकै गर्न तयार हुन्छन् ।
उनीहरुलाई आफू बच्न कसरी कृतिम प्रमाणको निर्माण गर्न सकिन्छ र यस पटकको तारो कसलाई बनाउने हो त्यसको लागि अपराध घटाउनु भन्दा अघि नै प्रमाण बनाउन सक्ने ठाउँ र परिबन्धमा पार्न सकिने मानिसको खोजि गर्छन् । लक्षित ब्यक्ति सँधै सोझा साझा र निमुखा हुन्छन् । किनकी टाठा बाठालाई लक्षित गर्दा उनीहरु आफैं डुब्ने डर हुन्छ ।
क्राइम ग्याङ्गले यस पटक सोझी केटीलाई तारो बनाएका थिए । यसरी फोन गर्दा कल डिटेलमा फोन आएका र गएका नम्बरहरुको प्रष्ट डिटेल देखिन्थ्यो । भविष्य के कस्तो हुन्छ, के थाहा ? ठोस प्रमाण बन्न नसकेपनि, थोरै हदसम्म भएपनि न्यायको आँखामा छारो हाल्न सकिन्छ की भन्ने उनीहरुको सोचाई थियो । थप प्रमाण कसरी क्रिएट गर्न सकिन्छ भन्ने कुरा क्राइम ग्याङ्गका सदस्यहरु खोज्दै थिए । उनीहरुको यो अपराध पहिलो दोश्रो होइन । पटक पटकको हो । प्रत्येक पटक क्राइम ग्याङ्गका सदस्यहरु आफु जोगिएर अरुलाई फसाउने प्रयत्नमा हुन्थे ।
प्रविधिको विकाससँगै अपराधिहरु मोर्डनाइज हुन थालिसके । उनीहरु अत्याधुनिक प्रविधिको प्रयोग गरेर अपराधिक क्रियाकलापमा संलग्न हुन्छन् । प्रमाण ‘क्रिएट’ गर्न र प्रमाण ‘डिष्ट्रोई’ गर्न खप्पिस हुन्छन् । प्रविधि दिनहुँ परिमार्जित हुँदै जान्छ । ऐन कानून बर्षौं बर्ष पछि मात्रै । विधिको न्याय हुन्छ तर विवेकको आधारमा न्याय गरिने परिपाटी बसालिएको छैन ।
“हिजो आज के छ अजनबी ह्याण्डसमको हाल खबर ?”, उर्वशीलाई ठट्यौली पारामा मैले सोधेँ । “ब्युटिफुल पनि हुन सक्छे (लेडी) नि यार”, यसपटक उसले झन् रमाईलो उत्तर दिई । क्राइम ग्याङ्गका सदस्यहरु यती ठूलो योजना बुन्दै थिए । विचरा सोझा केटीहरुलाई यस्तो कुराको छनक पनि थिएन । त्यसैले त निर्दोष महिलालाई फसाईएका कथाहरु विश्व साहित्यमा पढ्न पाइन्छ ।
एक अँध्यारो रातमा केही मानिस बत्तिको उज्यालोमा मिटिङ्ग बस्दै थिए । उनीहरुको एजेण्डा ठूलै थियो । “यस पटक ठूलै मुर्गा हात लाग्ने भयो ।”, गहुँ गोरो वर्णका आशनारायणले भने ।
“त्यही त पहिलेको भन्दा ठूलो ।”, दुर्गा दत्तले सहमती जनाए ।
“पूरै ‘ए’ क्लासको ”, अर्को सदस्य एककुमारले सही थापे ।
“हा…हा…हा…हा…”, त्यसपछि गज्जबको ‘पुरुष’ हाँसो सुनियो ।
ठूलो बिल्डिङ्गको माथिल्लो तलामा उनीहरु क्राइम लिष्ट तयार गर्दै थिए । बेलुकाको एघार बजिसकेको थियो । झ्याल बाहिर टि टिट गदै गाडीहरु हतारोमा गुडिरहेका थिए। उनीहरुलाई भने कुनै हतारो थिएन । योजना बुन्दै थिए। कस्तो तरिकाले धन आर्जन गर्न सकिन्छ, त्यस्तो जुनसुकै तरिका अपनाउन पनि उनीहरु तयार थिए । यस पटक उनीहरुले लागुपर्दाथ ओसार पसार गर्ने गिरोहलाई सहयोग गरी कमाउने निधो गरेका थिए । दोश्रो नम्बरको अपराध थियो सरकारी कर्मचारी र टेण्डरवालासँग मिलेर ठूला मेसिनहरु खरिद गर्दा अनियमितता गर्न सघाई पैसा कमाउनु । दोश्रो अपराधका लागि उनीहरु सेटिङ्ग मिलाउँदै थिए – कृत्रिम प्रमाण कसरी बनाउन सकिन्छ … पैसाको आडमा क–कसलाई किन्न सकिन्छ भनेर । कर्तुत पक्रिए सजायको भागिदार कसलाई बनाउने भन्ने कुराको तय उनीहरुले अगाडि नै गरिसकेका थिए। यस पटकको तारो सोझी केटी (महिला) उर्वशी थिई । त्यसैले घरी घरी आउँथ्यो उसलाई त्यस्तो फोन जसमा कोही बोल्दैनथ्यो । उवर्शीले यसरी फोन आउन थालेपछि कयौं पटक कल ब्याक गरेकी थिई । फोन उठाएर केही मिनेट नबोलिदिँदा कल डिटेलमा भने सो नम्बरहरु रिसिभ्ड कल र डायल्ड नम्बरमा प्रष्टै देखिने हुन्थ्यो । यसलाई ठोस प्रमाण बनाउन नसकिएपनि थोरै हदसम्म न्यायको आँखामा छारो हाल्न सकिन्छ कि भन्ने उनीहरुको तर्क थियो । कृत्रिम प्रमाण सिर्जना गर्न उनीहरु अर्को हतियार खोज्दै थिए । उर्वशी सरकारी कार्यालयकी अकाउन्टेन्ट थिई । उसका कार्यालयका केही हाकिमहरु समेत क्राइम ग्याङ्गसँग मिलेका थिए पैसाका लागि ।
उर्वशीलाई कसरी दोषी प्रमाणित गर्न सकिन्छ ? यसका लागि के कस्तो तानाबाना बुन्न पर्छ भन्ने विषयमा उनीहरु बीच घन्टौं छलफल हुन्थ्यो । अदालतले प्रमाण हेर्छ । फोनकलको प्राइभेसी ब्यक्तिमा निहित हुन्छ । तैपनि भविष्यमा यस्तो वातावरण पनि सिर्जना हुनसक्छ भनी ती सबै परिस्थितिको लागि क्राइम ग्याङ्ग पहिल्यै सतर्क भइसकेको हुन्थ्यो । यदि अपराध घटाउनु भन्दा अघि नै सूनियोजित रुपमा कृतिम प्रमाण सिर्जना गर्न थालिन्छ भने त्यसपछिको स्थिति सामान्य मानिसको कल्पनाशक्ति भन्दा बाहिरको हुन्छ । उसो त सोझा साझालाई हतियार बनाएर वास्तविक अपराधि फुत्किन प्रयास गरिरहेको हुन्छ । कल डिटेलले आजको जमानामा काम गर्ला नगर्ला तर प्रविधिको विकास र अपराधिले उन्मुक्ति पाउन सक्ने स्थिति नहोला भन्न सकिन्न ।
अपराधका नाइकेहरु फुत्किन सक्छन्….भरियाहरु थुनिन्छन् । सोझासाझालाई परिबन्दमा पार्न सजिलो हुन्छ । झन् महिला भए त ….।
एक कुमार काठमाडौका रैथाने हुन् । आशनारायण पच्चिस वर्ष अघि काठमाडौं छिरेका । त्यस्तै अन्य बौद्धिक बर्ग पनि छन् क्राइम ग्याङ्गमा । यसरी यिनीहरु संगठित भई अपराधमा लागेका छन् । मानिस जन्मिछ तर उसको मृत्यु सुनिश्चित छ । ईश्वरले यस्ता अपराधिलाई अपराध कर्म गर्नु अघि नै ‘मृत्युको चेतना’ दिउन् । मानिसको मन मष्तिष्कमा आध्यात्मिक जागरण आओस् । आउडेटेड प्रणालीहरु परिमार्जित् हुन् । विवेकको न्यायले प्रश्रय पाओस् ।….उर्वशी जस्ता सोझा महिला परिबन्धमा नपरुन् ।
…..यो कथा हो । काल्पनिक कथा । कसैसँग मिल्न गएमा वा मिल्न सक्ने परिस्थिति सिर्जना भएमा ‘त्यो संयोग मात्र हुनेछ ।’