कविता : सञ्चेतना

~वासुदेव पाण्डे~

छ फाटो हामीमा कलुष छ सधैँ हुन्छ झगडा
सिमाना मिच्दै गो दिनदिन छिमेकी छ तगडा ।
छ नेता कुर्सीमा फगत उसको दृष्टि धनमा
र चिन्ता चासो क्यै मुलुक हितको छैन मनमा ।।

नपुग्दा सत्तामा मुलुक हितको गर्जन ठुलो
पुगे सत्तामा ती तर हुन गयो गर्जन लुलो ।
छ अप्ठ्यारो गर्दा तर छ सजिलो भाषण दिन
गरेनन् सीमाको छलफल तिनैले अगि किन ?

सबै नेपालीले हरपल जुटे देश हितमा
नयाँ बन्थ्यो होला मुलुक दरिलो एक पलमा ।
न नेताले गर्छन् न त छ कुनै शक्ति सबल
सबै हामी मिल्दा सुगठित हुने देश सकल ।।

भए आफू राम्रो न त छ सब खोटी जगत यो
जुटी केही गर्ने अनुपम छ बेला बखत यो ।
भुली ‘हामी’ लाई ‘म’ तिर सब हामी किन गयौँ
नजुट्दा नेपाली समय सकियो पीडित भयौँ ।।

चिरी काँक्राजस्तै मुलुक अहिले खण्डित भयो
यहाँ रोपे काँडा र त सडक आन्दोलन छ यो ।
मिलेका फुट्दैछन् घरघर छ आतङ्क र डर
सबै स्वार्थी देखेँ स्वजन कसको मान्नु र भर ।।

भएको मासेमा विगत दिनको उच्च गरिमा
कठै के लेख्लान् यी सकल कविले राष्ट्र महिमा ।
कहाँ गाई चर्ला तलतिर नआए हिमनदी
कता बग्ने होलान् हरदिन यही सोच्दछु बसी ।।

कता उड्ला डाँफे, हिमशिखरको प्रान्त नभए
कहाँ खस्लान् झर्ना नग,जल दुवै शान्त नभए ।
कहाँ हिँड्लान् गैँडा समथर यहाँ ठाउँ नभए
कहाँ जालान् चल्ला विकल बबुरा माउ नभए ।।

हिजो बाजी थापी मुलुक हितमा जो जन मरे
खुसी हुन्नन् होला सहिद घर यो खण्डित गरे ।
खुसी भै सम्हालौँ विगत दिनको गौरव छ जे
रहे सिङ्गो हाम्रो मुलुक कसको गुम्दछ छ र के ?

-वासुदेव पाण्डे, सुर्खेत

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.