~सविता शर्मा~
नेपालमा मानव–अधिकार
सधैँ–सधैँ कुण्ठित रह्यो
दानव–अधिकारवादीहरूबाट
चुरे पहाडको यति दोहन हुँदैछ
कि कालान्तरमा
सगरमाथाको देश नेपाल
बगरैबगरमाथिको देश नेपाल हुँदैछ
न्याय दिने न्यायालय आफैँ
अहिले न्यायिक कठघरामा उभिएको छ
आम निर्वाचनबाट जनादेश पाएका दलहरू
निरीह बनेका छन्
निर्वाचन आयोगको ‘निगाह’ पर्खिरहेका छन्
देश बनाउने नेताहरू
आफ्नो उपचारका लागि विदेश धाइरहेका छन्
उपचार गर्ने डाक्टरहरूचाहिँ
देश बनाउन लागिरहेका छन्
हाम्रो सुन्दर शान्त नेपाल
अहिले न सुन्दर छ, न शान्त छ
‘नयाँ नेपाल’ को सपना मात्र बाँकी छ ।
(स्रोत : नेपालभूमी – २०७४ माघ २ गते मङ्गलबार प्रकाशित अङ्कबाट)