~चन्द्र मेघि गुरुङ्ग~
मेरो गाउँ गाउँ थियो
जहाँ चरक्क चहर्याउने घाउ थियो
हामी सुम्सुम्याउथ्यौं माया गर्थ्यौ ती घाउहरुलाई
अब अहिले
न गाउँ गाउँ रह्यो न घाउहरु रहे
न रहे ती मायालु स्पर्श गर्ने हातहरु
ढुङै ढुङ्गाले छपिएका शीतहरुले ढाकिएका
साँगुरो गोरेटो बाटो
हामी खाली खुट्टा टक्क टक्क पाइला सार्थ्यौ
आहा त्यो साँच्चै प्रकृतिसँङ्गको गहिरो माया
अहिले गाउँमा विकाश आयो
न ती सागुरा बाटाहरु रहे न त्यो मायालु प्रकृति
गाउँ जहाँ पैचो चल्थ्यो पर्म चल्थ्यो
एउटालाई दुख्दा अर्कोलाई चहर्याउथ्यो
दशै तिहार सवैलाई आउथ्यो
त्यहाँ न धनी थिए न गरिव
साँच्चै समाजवाद त त्यो गाउँमा थियो
अहिले न गाउँ गाउँ रह्यो न समाजवाद
गाउँ जहाँ हामी निस्छन्द माया गर्थ्यौ
माया देखाउन न गुलाफ चाहिन्थ्यो
न त रेष्टुरेन्टमा धाउन पर्थ्यो
ति मायाहरु मन मुटुका थिए
अहिले विकास गयो गाउँमा
विकाससँङ्गै बाटो बन्यो अरे
ती हामिले बाख्रा चराउने डाँडाहरु
चिरा चिरा पारिए
हामिले लुकामारी खेल्ने ढुङ्गामा डोजर चलाइए
बाटो सँङ्गै अहिले त मोटरसाइकल गाउँ पुग्यो
ती निश्चल माया पनि आजकल त मोटरसाइकल चढेर गायब भइन रे
त्यो गाउँ राम्रो कि नयाँ नेपाल ?
नयाँ नेपालमा भोक छ रोग छ
जताततै असन्तुष्टिका आवाजहरु छन्
आधा मान्छेले देशै छोड्नु पर्ने वाध्यातहरु छन्
खै म उस्तो कि नयाँ नेपाल
मलाई चाहिँ पट्क्कै मन परेको छैन
नयाँ नेपाल ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )