~ज्ञानेन्द्र खतिवडा~
शेली र देवकोटाले मुर्दा प्रमिथसलाई
आगो चोर्न पठाए…
के शेली र देवकोटा पनि मुर्दा नै थिए !
आफुलाई चाहिने आगो
आफैं बाल्न सक्दैनथे,,,?
म त गर्भमा छँदा नै आगोसितै हुर्किएँ
अक्सिजन बाल्दै बाल्दै / अक्सिजन जलाउँदै जलाउँदै
मेरो सृष्टि आगोबाटै भयो
र, म माटो टेक्न आएँ
आगो जलाउन नजान्दो हुँ त
म पनि मुर्दा नै रहन्थें
यसैले आगो मेरो प्राण भो
आगो मेरो ज्यान भो
अभिमन्युझैं गर्भमा सिकेर
पृथ्वी टेक्दा भुसुक्कै भुल्ने पनि होइन म
पृथ्वी टेक्दा –
आगो छातिभरि / मुटुभरि बोकेर आएँ म
आगो भित्रभित्रैबाट
आवश्यकता पर्दा पृथ्वीले
कसरी पड्काउँछ ज्वालामुखी –
त्यो पनि जान्दछु म
माचिस बालिरहन पर्दैन मलाई आगो सल्काउन
जसरी ज्वालामुखी पड्काउन माचिस बाल्दैन पृथ्वी
मेरो त आँखैमा बल्छ आगो
मेरो त मुटुमा नै बल्छ आगो
छाति हरदम आगो हम्किरहन्छ
-जब पनि अन्याय र अत्याचारले
हिमालको उचाइँसित सेखी गर्दै कुम जोड्नपुग्छ
त्यससित लड्न / भिड्न
कसरी आगो बाल्नपर्ने हो –
त्यो भित्रैबाट बालेर आउँछु म
आगो खोजिहिँड्न पर्दैन मलाई
बाहिर बाहिर
र, यति बाहिर जहाँ कल्पनामात्र पुग्छ
प्रमिथसजस्तै स्वर्ग पुग्छ – आगो खोज्न
शेली र देवकोटा सहयोग माग्छन् – आगो खोज्न
ती त सबै मुर्दा थिए
जिउँदाको आगो आफैभित्र हुन्छ
ठिहीमा कक्रिएकाहरूको
शरीर तताउन बाल्छु म मेरो भित्री आगो
शोषित र पीडितहरूको मनमा
आँट पकाउन
बाल्छु म मेरो भित्री आगो
शोषकलाई जलाउन
बाल्छु म मेरो भित्री आगो
निर्बलहरूमा बल थप्न
बाल्छु म मेरो भित्री आगो
माचिस चाहिँदैन मलाई आगो बाल्न
म मभित्रैबाट बाल्नसक्छु
दन्दनाउँदो आगो –
बरु-
मभित्रको आगो निभ्यो भने म मरिसकेको हुनेछु
मभित्रको अक्सिजन बल्न छोड्यो भने म
मुर्दा भइसकेको हुनेछु ।