~सागर कुँवर~
धरहरा मात्र ढलेको कहाँ हो र ?
बारपाक विरूप बनेको छ
सिन्धुपाल्चोक सुनसान छ
जताततै सन्नाटा छाएको छ
नुवाकोटमा पनि नरुने को छ र ?
धादिङको मुटु पनि धड्केको धडकियै छ
रसुवा रोयो
काभ्रे कारायो
जति रोए पनि
जति कराए पनि
अन्ततः हामीले केही गर्नै पर्छ
हो, त्यसैले हामी सबैले
आत्मविश्वास बढाउनै पर्छ
यहाँ थुप्रै घरवारविहीन भए
परिवार गुमाउनु पर्यो
जीवन साथी गुमाउनु पर्यो
नचाहेर पनि
राष्ट्रिय गौरव ढलेको हेर्नु पर्यो
प्रकृति नै मानव जातिका विरुद्ध लागे पछि
मानव पनि नतमस्तक हुने रहेछ
प्रकृति नै यति निर्मम बनेपछि
दयाको भिख माग्ने ठाउँ नै रहेन छ
तर पनि
सरकार सक्दैन समाधान गर्न
यो अवस्था यस्तै रहेछ
हुने खानेहरू
परिस्थितिको फाइदा लुट्दै
कमाउन व्यस्त छन
निमुखाहरूले सिर निहुराउने वाहेक विकल्प छैन
देश भक्कानिएको छ
लास नै लासमा रोएको छ
काठमाडाँै मात्र कहाँ हो र ?
सिङ्गो देश पीडामा छ
हर्के मात्र घाइते कहाँ हो र ?
सिङ्गो देश घाइते छ
शहरहरूमा मात्र हैन यहाँ
गाउँहरू पनि शोकाकुल छन्
हामी मात्र कहाँ हो र दाजु–दिदी ?
विदेशी भाइबहिनी पनि गएका छन्
यही विपत्तिमा मिसिएर
सिङ्गो संसार लागेको छ
तर पनि
अभाव र पीडाको कमी भएको छैन
यो दुर्दशामा
राता मान्छेहरू पनि हराएका छन्
तर पनि हामी
एक बन्नै पर्छ
यो हाम्रो राष्ट्रलाई झुक्न नदेउ
हाम्रो झण्डालाई झुक्न नदेउ
हाम्रो विरतालाई बुझ
यो देशको लागि लड
यो विपतमा साथ देउ
प्रतिबद्धता गरौँ
हामीले धरहरा बनाउने छौँ
हाम्रो पाहिचानलाई पुनर्निमाण गर्ने छौँ
देश बनाए बन्छ
आशा जगाउँ
देश बनाउने अभियानमा लागौँ
जय देश, जय राष्ट्र ।
(बागलुङ, २०७२ वैशाख १६)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २३ – May 6, 2015 – २०७२ बैशाख २३ गते, बुधबार)