~मनु वि.क.~
म भारी बोकी रहेकै छु
जिन्दगीभरि
थिचिएर मिचिएर
मुटु चर्काउने भारी
हात, गोडा थरथराउने भारी
भारी छ– म छु
म छु– भारी छ,
भारी र मेरो अटुटताको कारण
थाहा नपाएकी म
दुई जिउसँगै भारी खेपें
सुत्केरी हुँ भन्न नभ्याएकी म
दुधे बालकसँगै पसिना बगाएँ
बगाउँदैछु वर्तमानमा
भारी सँगै, काँध हात र पेटमा गरी
हुर्काइएका मेरा सन्तानहरू
मुटुका टुक्रा थिए
छयालिस, बैसठ्ठी त्रिसठ्ठी सालमा
ढालिए
हजार कष्टभित्र फुलेका कोपिला
जनयुद्धका नाममा बेपत्ता पारिए
सामत सालले मेरो खुशी लग्यो
बचेखुचेका खुशीहरू आउने
सालमा खोसिंदै गए
भारीभित्रको जिन्दगीमा
उज्यालोको कल्पना ?
मेरो च्यातिएको फरिया जस्ताको तेस्तै छ,
यहीलाई च्यात्दै दर्गुछन् कारहरू
कारको हर्नले थप भने झै लाग्छ
सवारीमा भारी बोकेर सडक काट्ने को ?
“मर्न नसकेर किन बाँचेकी ?
छोराछोरी लोग्ने सबै खाई
यस्तीलाई काल किन आउँदैन ?”
तर नयाँ लागेन यी सबै
सुनिरहेकै कुरा
भोगिरहेकै पीडा
बरु नयाँ कुरा त
मुटुको धड्कन बोलिरहेछ
भारी घटाउँदै जा
थरथरी कापेका गोडाले जोड दिइरहेछ
अब त अचाक्ली भो धान्न सक्दिन
टाउकोले भनिरहेछ
भारीले दिमाग सक्न लाग्यो
बचा चाँडै एउटा दिमागलाई
बचेखुचेको दिमागले भनिरहेछ
नाम्लोलाई फ्याँक्दिै
डोकोलाई च्यातिदे
नसक्ने के छ र ?
खोज्दै जा चाँडोचाँडो
एउटा नयाँ संसार
सारा अन्धकार चिर्नुछ
– काठमाडौँ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २७ – May 28, 2014 – २०७१ जेष्ठ १४ गते, बुधबार)