~गोविन्दप्रसाद आचार्य~
मान्छेले गर्छ जे गर्छ नाश या त्यो विनास होस्
मान्छेले हर्छ या भर्छ सुख या त्यो विलाप होस्
बाटो छेक्दै छ मान्छेले बढ्छ मान्छे ढलाउँदै
मान्छेको हितमा मान्छे बढ्छ बाटो बनाउँदै
हिलो भित्र छ देखेको हाँसेको फुल जिन्दगी
माथि–माथि छ हेरेको अझै माथि छ जिन्दगी
मान्छे रुक्न नजानेको बढ्छ आँखा थुते पनि
मान्छे बोल्दा नथाकेको बोल्छ जिब्रो थुते पनि
दुखे दुख्ला व्यथा दुख्ला चित्त त्यो च्यातिए पनि
मान्छेकै ममता बोक्छ जिन्दगी चुँडिए पनि
मान्छेकै सेकुवा बन्छ, पोलेको गन्ध आउँछ
सासले आस छोड्छ त्यो मान्छेकै गीत गाउँछ
मान्छे पर्खाल हो छेक्छ मान्छेले नै बिगार्छ त्यो
नगर्ने गर्छ मान्छेले गर्नेको पथ रोक्छ त्यो
मान्छे जङ्गलमा बस्छ देख्न सक्दैन मङ्गल
मान्छेभित्र डुब्यो मान्छे भेट्न सक्दैन कोमल
मान्छेकै सृजना टोक्ने मान्छे नै अति घातक
ढाल्यो जम्मै बनाउको के भन्नु प्रतिपालक
रुन्छ मान्छे दुख्यो भन्दै झनै टेक्दछ माथमा
बत्ति जम्मै निभाएर बस भन्दै छ रातमा
अँध्यारो जति नै बढ्छ उज्यालायउे पनि आउँछ
बल्दो दीपक अौँसीको मान्छेले त्यो निभाउँछ
मान्छे यात्रा गरी हिंड्छ परन्तु पछि धाउँछ
तीतो ठक्करमा मीठो जिन्दगी गीत गाउँछ
आजको फूलको थुङगा भोलि त्यो झर्नुपर्दछ
प्राण साँचेर बाँचेथ्यो भोलि जो फुल्न पाउँछ
चिसो प्रभात तातेको लाग्छ चिसो बिदा भयो
त्यति तातो थियो तेज रात छाडी बिदा भयो
मुटु हल्लिन्छ जाडोमा दाँत दुख्छन् भयङ्कर
लाग्छ फेरि कतै कार्ही घाम त्यो झुल्किँदैन र
विस्तारै तातिंदै जान्छ फेरि चिसो हुँदैन झैं
गर्मी चढ्छ बिछट्टै नि जाडो कैल्यै हुँदैन झैं
कला राम्रो सजाएको आज विज्ञानको गति
देख्न सक्दैन त्यो राम्रो दुष्ट मानिसको मति
चेतना सिर्जनाभित्र आँखा लिएर आउँछ
छेक्ने जो छेकिंदै बस्छ त्यो मीठो गीत गाउँछ
आजलाई रहोस् रात भोलि त्यो दिन आउँछ
धर्तीभरी उज्यालो त्यो रापिलो घाम ल्याउँछ
चुली हिमालझैं थुप्रो हारले जब ल्याउँछ
जित भन्दै नयाँ बाटो मान्छेले तब गाउँछ
पर्ख पर्ख अझै पर्ख चाहना सल्किँदै रहोस्
मान्छे गन्तव्यको यात्रा संसारमा गरिरहोस्
(‘सिमाना र चराहरू’ बाट)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ९ – Jan. 22, 2014 – २०७० माघ ८ गते, बुधबार)