कविता : आखिर म त गुन्द्रुक न हुँ !

~चेतन कार्की ‘धनकुटे’~

कुन धर्तिको कुन काल्लामा
कस्ले खनजोत गरी सम्याएको बारीमा
अनायसै तोरिका दानाहरु छरिन पुगेछन्
रुवा फुटेर धर्ति भरी हरियै बनि उमृएछन्
शिशिरको कठोर यातना मात्र हैन
बैशाखी पवन र प्रचण्ड रविको यातना सँगै
साउने झरी भदौरे भेल सँगै
क्षितिज छोडेर आकाश उचाली रहेछन् तोरीका कलिला मुनाहरु ।

ढकमक्क फुलेर धर्तिलाई सजाउने रहर रहरमा
टिका बनेर बसेको एक पाते र दुई पाते गर्दे
कल्कलाउँदा मुनाहरु हिरा र सुनलाई नै
पछार्ने सक्ने जोस र उमंग लिएर
शिरमा कठोर मेघका डल्लाहरु सँहदै
आफनो गन्तब्य पथमा लम्किरहेछन्
घडिको पलपलको लङगुर सँग आफनो पौरखलाई पारखी गरेर
आकाश उचाल्दै उक्लिरहेछन् तोरिका कलिला मुनाहरु ।

कल्कलाउँदो हरियाली वसन्ती जीवन
आकाशमा कालोबादल मडारीरहेछ
वाज आएर तोरी माथि झम्टा हालिरहेछ
जवरजस्ति टिपिक्क निमोठेर डल्लो पार्दै
मिठो स्वाद फेर्न मुखभित्र लगाई रहेछ
जरा समेत उखेली निरीह प्राणीलाई झैं कैदी बनाउँदै
आफनो पोल्टा र डालीहरुमा लगाउँदै छ तोरीका कलिला मुनाहरु ।

यी तोरीका मुनाहरुको धर्तिसँगको नाता कता गयो ?
ढकमक्क भएर फूल्ने सौन्दर्य जीवन कता गयो ?
यी तोरीका कल्पनाका तरङ्ग–तरेलीहरु यसरी बेहाल भै उडेको देख्ता
अनि मान्द्रोमा विस्कुन भएर सुकिनु पर्दा
खै मेरो जिन्दगीता खै के जिन्दगी भन्नु र
एकदाना तोरीको विउलाई समेत आफू फूल्ने स्वतन्त्रता नभएपछि
गन्तब्य पथमा लम्किरहेकै बेला पापीको इशारामा परी
बाँसको ढुङरोमा कोचिएर गुन्द्रुक भै तोरीको साग जस्तै
आफनो अस्तित्व गुमाएर गुन्द्रुकमा परिणत भएपछि
त्यसैले
हरियाली वसन्तमा फूल्ने तोरीको फूल पनि बन्न सकिन
पुग्नु पर्ने गन्तब्य स्थलमा पनि आफू हिंडेर पुग्न सकिन
त्यसैले म त एउटा गुन्द्रुक हुँ गुन्द्रुक
चाहे अब त मलाई अचारको चटनी बनाए पनि हुन्छ
कराहीमा भुटेर भातको डल्लो माथि राखे पनि हुन्छ
पानी नै पानीमा उमाली तपाँइकै सर्दी मेट्न तातो सुरुवा
बनाएर पिए पनि हुन्छ
आखिर म त गुन्द्रूकम न हुँ जे गरे पनि हुन्छ
आखिर म त गुन्द्रूक न हुँ जे गरे पनि हुन्छ

–चेतन कार्की, धनकुटा ब. क्या, विए दोश्रो वर्ष

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.