~एकादेशको गगनराज~
(सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि छ । टेलिभिजनमा विभिन्न राजनीतिक दल र संगठनका मानिसहरूले गरेका भाषणका दृष्यहरू आइरहेका छन् । कोठाका झ्यालहरू खुल्ला छन् । ओच्छ्यान छरपस्ट अवस्थामा छ । कोठामा साना केटाकेटीहरू यताउती गर्दैछन् ।)
लाक्पा : आज राम्रो तास नै परेन ।
कुमार : हो त, मलाई पनि त राम्रो तास नै परेन ।
मण्डल : (टेलिभिजनतिर हेर्दै) हेर त त्यसले हामी मधेसीलाई कस्तो होच्याएर बोलि हाल्या छ …..। यो संविधानमा त हाम्रो अधिकार सुरक्षित गराइहाल्नु पर्छ नि !
गोरे : (टेलिभिजनतिर हेर्दै) हामी दलितहरूको पनि त कुरा सुनेकै छैनन् नेताहरूले । हाम्रो पनि अधिकार संविधानमा लेखिनु पर्छ ।
सोम : हामीजस्ता गरिब किसानहरूको कुरा पनि त आउनु पर्यो नि संविधानमा । नेताहरूले सुनेनन् भने त हामीले आन्दोलन गर्नु पर्छ । अस्ति भोट माग्ने बेलामा सबै अधिकार दिन्छौँ भनेर भने । तर, आजकाल मुख देखाउन आउँदैनन् । यसरी हुँदैन अब, उठ्नु पर्छ, आन्दोलन गर्नु पर्छ । (तास भुइँमा फाल्दै)
लाक्पा : आरे, हो त नि ¤ हामी पछाडि परेका आदिबासीहरू काहिलेसम्म हेपिने हाँ ? आन्दोलन त गार्नै पार्छ ।
मण्डल : (जुरुक्क उठ्दै) अरे ¤ के हेरिहालेको हो ? गइहालौँ न त ।
गोरे : (जुरुक्क उठ्दै) जाऔँ, जाऔँ, गइहालौँ । उठ् कुमार तँ पनि ।
कुमार : (तास भुइँमा फालेर जुरुक्क उठ्दै) ल, ल गइहालौँ ।
(सबैजना आन्दोलनमा जान्छन् । गाउँ, सहर जताततैबाट विभिन्न समुहहरूको जुलुस निस्कन्छ । जुलुसको अघिअघि प्रहरीहरू पनि देखिन्छन् ।)
दलितको समुह : (झण्डा बोकेर उफ्रँदै) दलित आन्दोलन – जिन्दाबाद, जिन्दाबाद
दलित अधिकार – चाहिन्छ, चाहिन्छ
दलित भन्न – पाइँदैन, पाइँदैन
छुट्टै राज्य चाहिन्छ – चाहिन्छ, चाहिन्छ
मधेसी समुह : (झण्डा बोकेर उफ्रँदै) मधेस आन्दोलन – जिन्दाबाद, जिन्दाबाद
मधेसी अधिकार – चाहिन्छ, चाहिन्छ
तराइ, मधेस – एक प्रदेश
छुट्टै राज्य चाहिन्छ – चाहिन्छ, चाहिन्छ
जनजाति समुह : (झण्डा बोकेर उफ्रँदै) जनजाति आन्दोलन – जिन्दाबाद, जिन्दाबाद
जनजाति पहिचान – चाहिन्छ, चाहिन्छ
हाम्रा माग – पुरा गर, पुरा गर
छुट्टै– छुट्टै राज्य – चाहिन्छ, चाहिन्छ
अखण्ड जिल्ला समुह : (झण्डा बोकेर उफ्रँदै) जिल्ला टुक्राउन – पाइँदैन, पाइँदैन
हाम्रा माग – पुरा गर, पुरा गर
जिल्लाबासी – एक होऔँ, होऔँ
(विभिन्न समुहको नाराहरू लाग्दै गर्दा नेपथ्यमा बन्दुक पड्केको आवाज पनि सुनिन्छ ।)
हिन्दू धर्म समुह : (झण्डा बोकेर उफ्रँदै) नेपाल राज्य – हिन्दू राज्य, हिन्दू राज्य
हिन्दू राज्य – कायम गर, कायम गर
मन्दिर हाम्रो – सम्पत्ति हो
सबै हिन्दू – एक होऔँ, एक होऔँ
महिला समुह : (झण्डा बोकेर उफ्रँदै) महिला मुक्ति – जिन्दाबाद, जिन्दाबाद
महिला आन्दोलन – जारी छ, जारी छ
हाम्रो माग – पुरा गर , पुरा गर
सम्पूर्ण महिला – एक होऔँ, एक होऔँ
(जताततैबाट आन्दोलन गर्नेको समुह उनीहरूतिरै आइरहेको देखेर चौतारीमा बसेर संविधान कसरी बनाउने भनेर छलफल गरिरहेका अगुवाहरू छक्क पर्दछन् । आन्दोलन नजिकै आइसकेकाले सबैजना उठेर आन्दोलनको नारालाई रोक्ने प्रयास गर्दछन्)
अगुवाहरू : (एकै स्वरमा) के भयो ? तपाईँहरू किन यसरी आन्दोलन गर्दै हुनुहुन्छ ?
दलित समूह : हामीलाई हाम्रो अधिकार चाहियो । हामी सधैँ थिचोमिचो सहेर बस्दैनौँ । हामीले छोएको पानीसमेत माथिल्ला जात भनाउँदाहरूले पिउँदैनन् । हामी मन्दिर छिर्न पाउँदैनौँ । हामीले इनार पनि छुट्टै बनाउनु परेको छ । तल्लो जात भनेर हामीलाई समाजमा घृणा गरिन्छ । हामीलाई समान व्यवहार गर्नु पर्छ । के हामी मान्छे होइनौँ र ?
मधेसी समुह : (जोसिएर) हामी मधेसीहरू पुस्तौँदेखि हेपिएर बसेका छौँ । हाम्रो राज्यका निकायहरूमा पहुँच छैन । हामीले हाम्रो अधिकार पाएका छैनौँ । हामीलाई पहाडेहरूले हेपेर हाम्रो ठाउँमा विकास हुन सकेको छैन । हाम्रो ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या छ । अब, हामीलाई आफ्नो छुट्टै राज्य चाहियो । हाम्रो तराईलाई टुक्र्याउन पाइँदैन । हामी एक मधेश एक प्रदेशको पक्षमा छौँ । के हामी यो देशका नागरिक हैनौँ र ?
जनजाति समुह : हामीलाई पनि हाम्रो अधिकार चाहियो । हाम्रा पुर्खादेखि हामी हाम्रो ठाउँमा छुट्टै पहिचान बनाएर बसेका छौँ । हाम्रो भूमि हामीलाई प्राणभन्दा प्यारो छ । हामी विभिन्न ठाउँमा विभिन्न जातका मानिसहरू बसेका छौँ । हामी बसेको ठाउँ र हाम्रो पहिचानका आधारमा हाम्रो छुट्टै राज्य हुनु पर्यो । हामी जनजाति एक भएर उठेका छौँ । अब, हाम्रा कुरा नसुनी हुँदैन ।
अखण्ड जिल्ला समुह : संघीयताको नाममा हाम्रो जिल्ला टुक्र्याउन पाइँदैन । हाम्रो जिल्ला सबै कुरामा सम्पन्न छ । हामी एक ठाउँमा रमाएर बसेका मानिसहरू अर्को प्रदेश वा राज्यमा बस्न सक्दैनौँ । हामीलाई हामीले भनेकै जिल्लामा वा प्रदेशमा राख्नु पर्छ । हाम्रो माग पनि संविधान बनाउनेहरूले सुन्नु पर्छ । नत्र, हामी कडा आन्दोलन गर्छौँ । ज्यान दिन पनि तयार छौँ ।
हिन्दू धर्म समुह : (शङ्ख फुक्दै) नेपालको पहिचान भनेकै हिन्दू राज्य हो । ८५ प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्ने जनसङ्ख्या हुँदाहुँदै हिन्दू राज्य नबनाउने षड्यन्त्र रच्ने को हो ? हामीलाई हिन्दू राज्य चाहिन्छ । मन्दिर भनेको त हाम्रो पहिचान र सम्पत्ति हो । विश्वको एक मात्र हिन्दू राज्यको पहिचान पनि नष्ट गरेको हामी देख्न सक्दैनौँ । हाम्रो माग पुरा हुनै पर्छ । धर्मको नामका कसैले राजनीति गर्नु त पाप गर्नु हो, अपराध गर्नु हो । जिन्दाबाद !!
महिला समुह : हामी महिलाहरूको अधिकार यो संविधानमा सुरक्षित हुनुपर्यो । आधा आकाश ढाकेका महिलाहरूको आवाजलाई सुन्नु पर्यो । राज्यका हरेक ठाउँमा हाम्रो उपस्थिति समान हुनु पर्यो । घरघरमा हुने महिला हिंसा अन्त्य गर्नु पर्यो । छाउपडी, दाइजो, बोक्सी, बलत्कारजस्ता घटनामा संलग्न हुने जोसुकैलाई कडा कारबाही गर्ने कुरा संविधानमा लेख्नु पर्यो । हाम्रो आन्दोलन जारी छ । के हामी महिलालाई कमजोर ठानेको ? (जोसिएर उफ्रिँदै ) महिला आन्दोलन – जिन्दाबाद ! जिन्दाबाद !
अगुवा १ : (उठेर) हेर्नुहोस् दाजुभाइ तथा दिदीबहिनीहरू ! हाम्रो देशमा भएका विभिन्न समयमा भएका आन्दोलन र विभिन्न मागहरूलाई पुरा गर्नका लागि हामीले यो संविधानको निर्माण गर्दैछौँ । हामी सम्पूर्ण मानव जातिहरू एक हुनुपर्छ । कसैले अर्काको अधिकारलाई हनन् हुने कार्य गर्नु हुँदैन । मान्छेले मान्छेलाई मान्छेको व्यवहार गर्नुपर्छ । छुवाछुत गर्नेलाई कडा कारवाही गर्ने कुरा हामी संविधानमा लेख्नेछौँ । छुवाछुतलगायतका विभिन्न प्रथाहरूको पछि लाग्नु त ठूलो अपराध हो ।
अगुवा २ : (उठेर) संविधान सबै वर्ग र समुदायको साझा दस्तावेज हो । यसमा कसैका एकलौटी कुरा वा मागहरू मात्र समेटिदैनन् । सबैका अधिकारलाई संविधानमा समेट्नु पर्दछ । हामी नेपालीहरू एउटै गाउँमा विभिन्न जाति, समुदाय र संस्कृति मान्ने मानिसहरू मिलेर बसेका छौँ । त्यसैले हाम्रो समाज सुन्दर फुलबारीजस्तो भएको छ । सबैका आवश्यकताहरू उस्तै हुन्छन् । सबैको नसामा रातो रगत नै बग्दछ । हामी दु:खी हुँदा आँशु झर्छ भने खुशी हुँदा हामी उडेको चरीझैँ हुन्छौँ । हामी सबैलाई बराबर अधिकार दिएर संविधान निर्माण गर्छौँ । हामी तराई, पहाड, हिमाल जहाँ बसे पनि हाम्रो पहिचान हामीसँगै हुन्छ ।
अगुवा ३ : (उठेर) हामी यो देशमा दीगो शान्तिको प्रतीक्षामा छौँ । हामी विभिन्न जात, संस्कृति र धर्म मान्ने समुदायका मानिसहरू एउटै गाउँ ठाउँमा बस्छौँ । हामीलाई हाम्रो संस्कृति र परम्परा अत्यन्तै प्यारो छ । हामी जहाँ भए पनि आफ्नो संस्कार विर्सन सक्दैनौँ । कसैले कसैको धर्म संस्कृतिलाई घृणा वा अपमान गर्नु त धर्म हैन, महापाप हो । सबैलाई आ–आफ्नो धर्म मान्ने स्वतन्त्रता हामी संविधानमा लेख्नेछौँ । जातजातिका पहिचान, स्रोत र साधन, आर्थिक अवस्थालाई ख्याल गरेर संघीय राज्यको निर्माण गर्नेछौँ ।
महिला अगुवा : (उठेर) हामी महिलाहरूको अधिकारलाई पनि समेटेर संविधान निर्माण गर्ने कुरामा म आफैँ पनि लागिरहेकी छु । महिलामाथि हुने विभिन्न प्रकारमा विभेदलाई अन्त्य गर्नका लागि हामी प्रयास गरिरहेका छौैँ । महिला र पुरूष भनेका त एक रथका दुई पाङ्ग्राहरू हुन् । हाम्रो सहयोग विना त पुरुपहरूले जिन्दगीको कल्पनासमेत नगरे हुन्छ । महिलाहरू सृष्टि हुन्, सिर्जना हुन् । हामी महिलाहरू आफैँ पनि सचेत र सिर्जनशील हुनु पर्छ ।
अगुवा ४ : (उठेर) हामी आज आफ्नो स्वार्थ पुरा गर्नका लागि मात्र यसरी आन्दोलन गरिरहेका छौँ । यस्तो आन्दोलनबाट हामी आफैँ कमजोर भइरहेका छौँ । हामीले आज खासमा हामी नेपालीहरूमाथि विदेशीहरूले गरेको हस्तक्षेप र हाम्रो स्वाधीनता, राष्ट्रियतालाई बचाउनका लागि यसरी आन्दोलन गर्नु पर्ने हो । हाम्रो नेपाली गौरव र पुर्खाहरूले आफ्नो रगतले कोरेका सीमारेखाहरू बचाउनका लागि हामी विद्रोही हुनुपर्ने हो । तर, आज तपाईँहरू एकअर्कामाथि आक्रमण गरेर जवरजस्ती आफ्नो अधिकार लिन खोज्दै हुनुहुन्छ । देशको स्वतन्त्रता र विकास सबैभन्दा ठुलो कुरा हो । समयमा सबैका अधिकार समेटिएको संविधान निर्माण गरेर देशको विकासमा लाग्नु पर्ने आजको मुख्य आवश्यकता हो । हामी त्यसैलाई ध्यानमा राखेर संविधान बनाउन जुटेका छौँ । तपाईँहरू आफ्नो आन्दोलन रोक्नुहोस् । हामी अब छिट्टै सबैको अधिकार समेटिएको संविधान जारी गर्छौँ ।
(आन्दोलनमा आएका सबैजना टाउको निहुराएर फर्किन्छन् ।)
अगुवाहरू : (आआफ्नो मेचमा बस्दै) ल, हामी पनि अव संविधान निर्माणमा लागौँ, छिट्टै संविधान निर्माण गर्नुपर्छ ।
(केही समय छलफल गरेर कागजमा हस्ताक्षर गर्छन् । अगुवाहरू संविधान निर्माण भएको घोषणा गरेर खुशीयाली मनाउँछन् । विस्तारै पर्दा बन्द हुन्छ ।)
समाप्त
एकादेशको गगनराज
गजलशिविर, राजधानी