कथा : सरी मिना

~कृष्णराज सर्वहारी~

रात धेरै छिप्पिसकेको थियो । म लोकसेवा आयोगको जाँचको तयारीमा थिएँ । यसपालि त जसरी भए पनि नाउँ निकालेरै छोड्छु भनेर घुँडा धसेर लागिपरेको थिएँ । टाउको भारी हुन थालेपछि सुत्ने उपक्रम गर्दै थिएँ, कसैले ढोका ढक्ढक्यायो । ढक्ढक्को आवाजपछि मनमा अनेक शंका–उपशंका खेल्न थाले । आजकल जताजतै माओवादीको बिगविगी छ, उनीहरुकै जत्था हो कि ? आ… ! मैले के बिगार गरेको छु र आउलान् । कि नजिकै डेरा गरी बस्ने रमेश हो, म्याथको प्रश्न सल्भ गर्न नसकेर यति राति आएको । ऊ पनि मान्छे उट्पट्याङकै छ, रातबिरात क्यै थाहा पाउँदैन । बेला न कुबेला हिंडिरहन्छ … यस्तै सोचेँ ।

ढोका पुनः ढक्ढक् भयो मनमा तर्कना खेलाइराख्नु भन्दा ढोका खोल्नु नै उपयुक्त ठाने । तर ढोका खोलेपछि मैले आफनो अगाडि जसलाई पाएँ, देखेर आश्चर्यचकित भएँ । मैले घाँटी सफा गर्दै भनें –‘मीना यति राति तिमी ?’उनी ‘चुप–चुप’को इशारा गर्दै विनासंकोच मेरो कोठाभित्र प्रवेश गरिन् र सरासर मेरो सुत्ने पलङ्मा ढसमस्स बसिन् । मैले केही सोच्नै सकिन । ‘के भो मीना ? सञ्चो भएन कि क्या हो ? टाउको दुख्यो ? सिटामोल खोजौं ?’ तर उनले एक वाक्य पनि फुटाइनन्, मुखै खोलिनन् । मैले उनलाई गौर गरेर हेरें । उनको आँखा बोलिरहेको थिए । आँखाबाट बासनाको ज्वाला निस्किरहेको थियो । मैले नहड्बडाईकन पुनः भनें –‘मीना ! तिमीले यो ठीक गरिनौ, तिम्रो त अझ पढ्ने–खेल्ने उमेर छ । भर्खर १५ पुगेर १६ वर्षमा लाग्यौ । अस्ति भर्खर मात्रै होइन तिम्रो बर्थडे मनाएको ! जाऊ सुत, म तिमीसँग भोलि कुरा गर्छु । तिम्रा बाबा–आमाले मेरो कोठामा तिमीलाई देखे भने के सोच्लान् ?’

‘बाबा–आमाले जे सोचे सोचुन्, बट आई रियल्ली लभ यू सर, प्लीज डोण्ट ब्रेक माई हार्ट ! मीनाको त्यस्तो वाक्यले मलाई बिझायो । मन त लाग्यो तिनलाई कसेर एक थप्पड बजारुँ तर मैले संयमले काम लिएँ –‘हेर मीना ! यो लभ भन्ने कुरा केटाकेटीको खेल होइन । डीप लभ विहेमा परिणत हुन्छ । हिन्दू समाजमा बिहेभन्दा अगाडि तयो कुरालाई मान्यता दिइएको छैन, जसको चाहनाको लागि आज तिमी मेरो कोठामा यति राति आएको छ्यौ । तिमी बाबा–आमाकी एक्ली छोरी । तिम्रा बाबाआमाले तिम्राबारेमा धेरै धेरै सपना साँचे होलान् । उच्चशिक्षा हासिल गराउने योजना होला । तिम्रा लागि सपनाको राजकुमार खोज्दै होलान् । अझै त तिमीले प्रवेशिकासम्म पनि पार गरेकी छैनौ । भोलि कलेज ज्वाइन गरौली । एउटा कहावत छ –नो नजेल विथआउट कलेज, म तिम्रा बाबाआमाको सपनामा यति चाँडै धमिरा लाग्न दिन्न मीना । आई एम सरी मीना, म तिम्रो चाहना पूरा गर्न असमर्थ छु । जाऊ आफनो कोठामा जाऊ ।

स्नातक सिध्याएर जागिर खोज्ने आशसँगै उच्चशिक्षा अध्ययनका लागि आजभन्दा दुइ वर्षअगाडि म राजधानी उक्लिएको थिएँ । डेरा खोज्ने क्रममा मीनाको घर फेला परेको थियो । राजधानीमा डेरा पाउन निकै गाह्रो भन्थे, तर यस मानेमा म निकै भाग्यमानी थिएँ । रिटायर्ड मेजर सन्तकुमारको घरमा डेरा पाउनु मेरा लागि चानचुने कुरा थिएन । त्यो टोलमा उनको आफनै रवाफ, आफनै व्यत्तित्व थियो । खै के मुड चलेर उनले मलाई डेरा दिए, त्यो त उनै जानून् । जबकी म बस्नुभन्दा अगाडि उनले कसैलाई कोठा बहालमा दिएका थिएनन् ।

तर मलाई डेरा बसालेको उनलाई फाइदै थियो । बाह्रैमा ट्यूसन पढ्दा पनि उनकी छोरी मीना पढाईमा निकै कमजोर थिइन् । छोरो बल्लबल्ल दुई कक्षामा पुगे पनि स्कुल भन्नेवित्तिकै नाक–मुख खुम्चयाउँथ्यो । छिमेकीसँग पनि कुरा गर्न नरचाउने मेजरसा’ब एकदिन मसँग कुरोकन्थो खोल्न पुगे । छोराछोरी बिग्रिएकोमा निकै चिन्ता देखाए । ‘यदि आज्ञा भए, म तह लगाउने थिएँ’ मैले उनका छोराछोरीलाई सही बाटो देखाउने जिम्मा लिदै भनें । शुरुमा त उनले नाक–मुख खुम्चयाए तर पछि के सोचे कुन्नि दुवैलाई मेरो कोठामा पढ्न पठाइदिन थाले । छोराछोरीको पढाईमा दुई महिनाको बीचमै निकै प्रगति भएको देखेर बुढा निकै खुशी भए । ‘आ ! एकै परिवारको मान्छे पनि के को दुई–दुईवटा भान्सा ?’ उनले एकदिन अबदेखि सधैं उनकै भान्सामा खानुपर्छ भनेर जिद्दी गर्दै आफनो भान्सामा बसालेका थिए ।

त्यसपछि मीना मसँग विस्तारै भ्mयांगिदै गइन् । उनमा जानी चढिरहेको थियो भन्ने कुरा जोकोहीले उनको शारीरिक ढाँचा देखेर अनुमान लगाउन सक्थयो । तर मीना मलाई त्यति हदसम्म चाहन्छिन् भनेर मैले कल्पनासमेत गरेको थिइन । उनलाई मैले त्यो नजरले कहिल्यै हेरेको पनि त थिइन । तर हिजो उनको अप्रत्याशित मेरो कोठाको आगमनले म हतप्रत भएको थिएँ । एक त राजधानीमा डेरावालहरु त्यसै त्यसै बदनाम छन् र त घरवेटीहरु जवान छोरी भएपछि डेरा दिन चाहँदैनन् ।

आजभोलि म नयाँ डेराको खोजीमा छु । जहाँ शहरका धनी बाउका छोरीहरु अर्थात् मीनाहरु मलाई राति राति पछ्याउने नआउन्, राति राति ढोका ढक्ढक्याउन नआऊन् । तर थाहा छैन मैले त्यस्तो डेरा फेला पार्न सक्छु या सक्दिन ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.