~कौशिला रिसाल~
सम्झदा मलाई खास लाग्छ तिम्रो माया
मेरो मुटुको हरेक श्वास लाग्छ तिम्रो माया ।
कैद गरेको छु तिमीलाई मेरो मनको मझेरीमा
टाढा हुदा नि, बिश्वास लाग्छ तिम्रो माया ।।
पटक पटक तिमी किन हुन्छौ रुष्ट ?
किन आयो तिमीमा भाव असन्तुष्ट ?
आपसी सम्झौताबिना कहाँ चल्छ जीवन ?
नलुकाई भन्नू अब मनको भाव स्पष्ट ।।
कहाँ गयो साच्चै , त्यो वनको चरी
सोचेको छु रमाउदै, होला कसरी ?
आउछ कि माया बोकेर फेरि मनमा
राखिरहेछु सम्झना मुटु वरिपरि ।।
जोगिएर हिड्न खुब सिकायो, मलाई गाउँले
सहरमा हैसियत राम्रै बिकायो , मलाई गाउले ।
कसरी सक्छु बिर्सन त्यो प्यारो गाउलाई
स्वार्थी दुनियाँमा सधैं टिकायो, मलाई गाउले ।।
डुलेको याद आयो काफलको डाली डाली
बिझे काडा कति, खुट्टा हुँदा खाली खाली
ती यादका डुङ्गाहरू तर्दै छु आज म
सगालेर राख्छु अझै दिलबाट नफाली ।।
म कहिल्यै कसैको भर परेकै छैन
यहाँ, मैले अरुको विश्वास गरेकै छैन
साटेको छु मनको वह आफ्नै मनसङ्ग
अझै केही गर्ने ,मेरो जागर मरेकै छैन ।
कहाँ गयो साच्चै, त्यो वनको चरी
सोचेको छु रमाउदै, होला कसरी ?
आउछ कि माया बोकेर फेरि मनमा
राखिरहेछु सम्झना मुटु वरिपरि ।।