~केवश गाहा “पाल्पाली”~
अस्तित्व मेट्ने कुचाल चले सत्तामा बसेर
बैरीकै पाउ लौ फेरि दले सत्तामा बसेर ।१।
देशका निम्ति आहुति दिन्छु हमेशा भन्नेले
हेर त आज जनता छले सत्तामा बसेर ।२।
गरिब झनै गरिब भए यस्तो छ शासन
शोषक सबै फुले र फले सत्तामा बसेर ।३।
नेपाली युवा रक्ताम्मै भए सडक गल्लीमा
गन्दैछन् कति मानिस ढले सत्तामा बसेर ।४।
राष्ट्रले धन सम्पत्ति लुट्न व्यस्त छन् शासक
देख्दैनन् कति झुपडी जले सत्तामा बसेर ।५।
पाल्पा (हालः भारत रायगढ)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ९ – January 27, 2016 – २०७२ माघ १३ गते, बुधबार)