कविता : मलाई मेरो पहिचान चाहिन्छ

~महानन्द ढकाल~

सेताम्य भएको छ मेरो शिर
बर्षौ भैसक्यो म जन्मिएको
मेरो शीर देखेर,
कैयौं मुस्कुराउँछन् र टोलाउँछन् घण्टौंसम्म
कति नतमस्तक हुन्छन् मलाई हेरेर
अनि झुकाउँछन् आफ्नो शीर पनि ।
यही शिरलाई छोएर
कतिले विरताको परिचय बनाउँछन्
र छोड्छन् प्रेरणाका श्रृंखलाहरु
यहि शीरलाई छोएर
कतिले कसम खाएका छन्
र हेरेका छन् सुन्दर संसार पनि ।

यही शिर हो
जसले मलाई चिनाएको छ
अटल बनाएको छ, अमर बनाएको छ
घाम–पानी, आँधी–हुरीको चोटमा पनि
मुस्काराउने मेरो शिर हेरेर
कतिले मेरै सिको गर्ने प्रणय गर्दछन्
र अटल अमर बन्ने कोशिष गर्दछन्
मलाई गर्व छ
मेरो शिर सेताम्यै भएकोमा ।
मेरो छाती केन्द्र विन्दु हो मेरो शरिरको
रक्तसंचार भएको छ यहि छातीको बाटो हुँदै
स्वासप्रश्वास भएको छ यहि छातिलाई आधार मानेर
कोमलता र संवेदनशीलता
यहि छातिको वरिपरि रहेका छन्
मानवता र सहृयता
यही छातीमै टाँसिएका छन्
त्यसैले छाती, छाती जस्तो छ ।
अवयवहरुलाई सुरक्षा दिने यो छातीमा
संसार अटाएको छ ।
मखमली र गोदावरी उमारेको छ यो छातीले
लालि गुराँस मौलाउने
आधार दिएको छ यो छातीले
त्यसैले यो छाती आकाशभन्दा कैयौं गुना चौडा छ ।
मेरा दुई बाहुले
काँतर हुन दिएको छैन छातीलाई
एक बाहुमा गोरखनाथ बोकेको छु
र त कहलिएको छु विर गोर्खाली बनेर
अर्को बाहुमा स्वयंभुनाथ बोकेको छु
र त चिनिएको छु शान्ति प्रिय बनेर ।
मेरो काख सबैका लागि प्रिय छ
काला– सेता , अग्ला– होंचा
सबै निस्फिक्री खेलेका छन्
यही न्यानो काखमा ।
मेरै काखमा बसेर
गीता, बाइबल पढेका छन् कतिले
कुरान र त्रिपिटक छोएका छन् कतिले
मलाई कसैप्रति गुनासो छैन
मेरो कसैप्रति भेदभाव छैन ।
म स्वाबलम्बि छु
मलाई स्वावलम्बि बन्न
सिकाएको छ मेरो पैतालाले
मलाई उकालो– ओरालो हिड्न आउँछ
काँडा र गेग्रेटोमा दौडिन आउँछ
यही पैतालाको भरमा
लिगलिग जितेको हुँ मैले
यही पैतालाको भरमा काँगडा पुगको छु
टिस्टा तरेको छु कैयांै पटक
मलाई अगाडि बढ्न सघाइरहेको छ मेरो पैतालाले ।
शिरदेखि पाउसम्म
बिछ्याइएका छन् रक्तनलीहरु
प्राण बगेको छ यिनै रक्तनलीहरुमा
उर्जा थपिरहेका छन् रगतका थोपाथोपाले ।
म चाहन्छु यी रक्तनलीहरुमा
कुनै रोकावट नआवस्
कुनै प्रदुषण नछावस्
किनकी म कुपोषित सन्तान जन्माउन चाहन्न ।
मलाई सेताम्य फुलेको शिर मनपर्छ
मलाई मखमली र गोदावरी उमार्ने छाती मनपर्छ
मलाई अगाडि बढ्न सघाइरहेका पैताला मनपर्छ
म शिर काटेर मुर्कट्टा बन्न चाहन्न
म पैताला फालेर लगंडो बन्न चाहन्न
हात काटेर न म शान्तिप्रिय बन्न सक्छु
न म गोर्खालीको पहिचान दिलाउन सक्छु ।
मलाई सिंगो शरिर चाहिन्छ
मलाई मेरो पहिचान चाहिन्छ
किनकी म नेपाल हुँ
मलाई केवल नेपाल चाहिन्छ ।

महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.