~प्रवीण राई जुमेली~
अनेकौं अप्रिय सत्यहरु बोकेर
हिंडिरहन्छ मान्छे
मृत्युसम्मलाई
उसको सरीर
उसकै इच्छाहरुको भारी
थेग्न नसकेर लडेपछि
ती सत्यहरुको पनि
कुनै अर्थ रहँदैन
तरै पनि मान्छेलाई
आफ्नै सत्य पनि कहिल्यै पच्दैन
अगाडि उभिएर
वृतान्त भनिदिनेलाई पनि
दुश्मनको लहरमा उभ्याई
सक्दो सरापिबस्छ उसले
अनेकौं छल र असत्यहरुको मखुण्डा भिरेर
उ सभ्य र शिक्षितको अभिनय गरिबस्छ
हो…ठिक त्यही समय-बिन्दुमा
पर्चाको जन्म भएको थियो
पर्चा-लेखकहरु कहिल्यै
खुलेर अघि आउँदैनन्
आफ्नो विपरित-पात्रको व्यक्तित्वमा
सक्दो गाली र सरापहरु भरेर
बदनाम गल्छिंडाहरुको सिर्जना गर्न
खप्पिस हुन्छन् उनीहरु
आफ्नो सत्य बताएर होइन
अरुको असत्य खोतलेर
पर्चा जन्माउनेहरु किस्मत अज्माउँछन्
पर्चाको सडान्धले गलेको मानिस
टाडैबाट गन्हाइरहेको हुन्छ
तर पनि उसले आफ्नो भाकामा
स्वप्रशंसाको दोहोरी गाइरहन्छ
गाइरहन्छ
पर्चा मानिसको नीच र
आधुनिक आविष्कार हो
तरै पनि सोझो जिन्दगीको भुक्तभोगीले
पर्चाको दखलबाट
टाडै बसेर बाँच्न रुचाउँछ।।
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)