~गणेश शर्मा पौडेल~
तिमीले ……
हलो जोत्न हुने
बिउ रोप्न हुने
धान कुट्न हुने
भकारी भर्न हुने
तर त्यही चामल कोठामा पुगेपछि
तिमीले छुन नहुने….?
ढुङ्गा फुटाउन हुने
मुर्ती कुद्न हुने
देउता बनाउन हुने
तर त्यही देउता मन्दिरमा पुगेपछि
तिमीले मन्दिर पस्न नहुने…..?
माटो मुछ्न हुने
पर्खाल लाउन हुने
भित्तो लिप्न हुने
घर बनाउन हुने
तर त्यही घरमा उपल्लो जात बस्न थालेपछि
तिमी घरभित्र पस्न नहुने…..?
लुगा सिउन हुने
छानो छाउन हुने
कपाल काट्न हुने
आगो ताप्न हुने
तर त्यही आगोमा बसालेको पानी
तिमीले छुन नहुने…..?
तिमीलाई
अछुत भनेर हेला गरेको देखेपछि
मैले पनि भत्काई दिए
जातका नमिल्दा पर्खालहरू
(बिनामारे, बाग्लुङ, हाल केरल, दक्षिण भारत)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ५ – Dec. 12, 2012 – २०६८ मंसिर २७ गते, बुधबार)