~योगेन्द्र काउचा~
ऊ
वारवार रुन्छे
पलपल छट्पटिन्छे
वेकम्मा जस्ता
अङ्क भरिएका कागजका खोस्टा
सधैजसो बोकेर हिड्नु
देखाउँदै फिँजाउदै हिँड्नु
सड्क महलका ढोका घच्घच्याउनु
लाग्दछ, उसको नियती हो क्यारे ।
ऊ
फेरि सम्झिन्छे
प्रत्येक धड्कनमा तड्पिन्छे
मरुभूमिमै दाजु वेवारिसे हुँदा
बाटैघाटै बहिनी बलात्कृत हुन्छे
घरमा बाबुआमा
ऋणमा पिल्सिएर रुँदा
परालका खागमा उभिएका
कल्पनाका महलहरु भत्किँदा
कि त
उसको आँखामा आग्रह छ
भाकामा बिलौना छ
पश्चाताप र निराशा छ
घृणा र बेवास्ता छ
कि त
चुल्ठीमा रङ लगाउन व्यस्त छे
हातहरुमा बुट्टा भर्न आतुर छे
छिल्लिएका गीतका धुनमा छे
लाज हराएका पहिरनमा सिँगारिदै छे
तर चुपचाप छे
कर्तव्य र अधिकारबाट बेखबर छे
हातमुख जोड्न शरिर बेच्दै हिड्दै छे
लाग्दछ, उ माटोको मूर्ति हो क्यारे ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक १ – Nov. 13, 2013 – २०७० कार्तिक २७ गते, बुधबार)