कविता : आस्था कहाँ ढल्छ र सालिक ढालेर

~निस्नु थिङ~

आस्थाले बम जन्माउँछ
बमले आस्था होइन
मजदुरले क्रान्ति जन्माउँछ
क्रान्तिले मजदुर होइन

जार, हिटलर, मुसोलिनी
जस्ता को थिए र ?
जसले निर्मम दमन कति गरे
फेरि पनि आस्था ढलेन
क्रान्तिको मैदानमा कहीँ गलेन

पक्की पक्की बाँध बनाए
छेक्न ढुङ्गाको पहरा उभ्याए
क्रान्ति भेलको त्रासले सताए
रातको निँद कति उडाए

क्यालेण्डरको अक्टोबर मेटाउन चाहे
अक्टोबर रोक्न जार कस्सियो
त्यही भुमरीमा जार फसियो
अन्ततः सेप्टेम्बर उछिन्दै अक्टोबर आयो
दुनियाँले नयाँ दुनियाँ पायो

आँधीले आस्थाको दियो निभेन
लेनिन सामु जार टिकेन
उनले विभेदका पर्खाल भत्काए
सबैले गरिखाने दुनियाँ सजाए

शताब्दी अघि जितेर गए
दुनियाँको दिलदिमागमा छाएर गए
शोषक वर्ग उनको नामले डराउँछ
तस्विर उनको आगोमा डढाउँछ

उनैको सालिक तोड्दै छ
उनैको आकृति फोड्दै छ
मुकुण्डोधारी आएर
बाल्छ धुवाँ, टायर

निर्जीव सालिक तोडेर
भयानक चुनौती दिँदैछ
लथालिङ्ग विश्व देखेर
लेनिनले अवतार लिँदैछ

एउटा पत्थर फोडेर
मुखुण्डोधारी अहङ्कारको भाषा बोल्दैछ
लाखौँ हजार लेनिन जन्माउने मार्ग खोल्दै छ
आफ्नै लास आफैले मसानघाटमा पोल्दै छ

कठै ¤ कति बाँचेको मनमा डर पालेर
सुरुवात गरिदियौँ चिराग तिमीले फालेर
आउँदै छ पिँढीहरू युगज्योति बालेर
आस्था कहाँ ढल्छ र एउटा सालिक ढालेर

(२०७२÷१÷९ गते लेनिन जयन्तीको सन्दर्भमा )

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३२ – July 8, 2015 – २०७२ असार २३ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.