कविता : कवि

~भुवन निस्तेज~

साउनको दलिनमा
साँझ पख
गफिन आएको बादलले
सशंकित
भिराला बस्तीहरूलाई
जाग्राम बस्न लाए झैं
हाकिम सा’बको
वक्र मुस्कानले
फेरि जुम्सिएको छ
मेरो उमंग
दराजभित्र
थन्किए झैं
काम लाग्न सक्ने
तर कम जरुरी
कुनै फाइल ।

निस्तेज
निस्तेज भएको छ
खुशीहरूको
बाली बनी भित्रिने चेष्टा
आग्रहहरूले
सलहको फौज बनेर
फेरि रित्तो पारेका छन्
जीवन फल्ने गरा ।

यो नदिको बगरमा
धारिला ढुंगाहरूमा
म नांगा खुट्टा लिई
कहिले भिरालो बस्ती
कहिले जुम्सो मुस्कान
र कहिले
सलहले रित्याएको गरा भएर बसेको छु
मान्छे ! ए मान्छे !!
यो बगरका
यी धारिला ढुंगाहरूमा
हराएको छ
एउटा कवि !

घनगढी, माघ ११, २०६९

(स्रोत : अभिव्यञ्जना)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.