~व्योम जी अवतार~
हो म जोकर हुँ
जोकरहरूको नजरमा … ।
म उठ्दा, बस्दा र सुट्दा
घिच्दा र निश्काशन गर्दा पनि
गजवकै जोक बन्छ होला … ?
कहिल्यै बोल्नै हुन्न म
म भित्रका उद्गार नै जोक हुन्छ ।
म हाँस्दा, रूँदा र रिसाउँदा
जोक नै फल्छन् लटरम्म … ।
मैले फेर्ने सास
मैले गर्ने विश्वास
मेरो आशा र भरोसा
मैले गर्ने माया
अनि मेरो छाया पनि जोक नै हुन ?
कि मेरो जिन्दगी नै जोकर … ?
सुन,
मेरो सासलाई जोक देख्ने आँखाहरू
मेरो विश्वासलाई जोक मान्ने मनहरू
मेरो आशा र भरोसालाई लत्याउँदै
मेरो मायालाई पनि जोक सोँच्ने दिलहरू
मेरो छाया समेतलाई जोक सम्झने बोकेचाहरू
अनि मेरो हरेक क्रियाकलापलाई
जोक नै महसुस गर्ने महाजोकरहरू
सुन एकदिन
तिमीहरूले जोकर थानेको जिन्दगीको अन्त्य
यानकि मेरो मृत्युको खबर पनि
जोक मान्ने छौँ
र,
हुनेछौं दुनियाँमा सबै जोकर … ।
– बोम बहादुर घर्ति मगर (व्योम जी अवतार)
२०७३ फाल्गुन २०
घोराही ,दाङ
हाल, काठमाडौ