~किन्दर राई~
कथामा अनुवाद गर्न सकियो भने हरेक मानिसहरुको भोगाइ र अनुभूतिहरु कैयौं कथाहरुको शृंखला हो भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रकाशित भएको कथाहरुको संग्रह हो “मालिकराम राईका कथाहरु” । कथाकार मालिकराम राई “बियोगी” ज्यूले लेख्नु भएको कथाका तीनवटा संग्रहहरु मध्ये यो “मालिकराम राईका कथाहरु” तेश्रो कथा संग्रह हो । यस अगाडि उहाँले पहिलो कथा संग्रह “विवसता” सन २००२ सालमा, दोश्रो कथा संग्रह “सायपत्रि” सन २००४ मा प्रकाशित गरि सक्नु भएको छ भने यो तेश्रो चाहि सन २००८ मा प्रकाशित गर्नु भएको हो । १९ वटा कथाहरु रहेको यस कथा संग्रहलाई सृजनशिल साहित्य समाज हङ्कङ्ले प्रकाशन गरेको हो । यसको अलवा बिभिन्न पत्रपत्रिकाहरुमा पनी उहाँका अन्य कथा, संस्मरण र लेखहरु प्रकाशित भएको पाइन्छ ।
कथा संग्रहको नाम जुनरूपले “मालिकराम राईका कथाहरु” रहेको छ यसको दुई तरिकाले अर्थ लगाउन सकिन्छ । पहिलो, मालिकराम राईद्वारा लिखित कथाहरु जुन एउटा संग्रहको नाम राख्ने परम्परा अन्तरगत नै पर्दछ । सायद उहाँले यसै सन्दर्भमा राख्नु भएको होला भन्ने लाग्दछ । दोश्रो पाटाबाट यसलाई अर्थ्याउन खोज्ने हो भने मालिकरामराईले देखेका/भोगेका कथाहरु भन्ने पनि अर्थ लाग्न सक्दछ । यस सन्दर्भमा मालिकराम राई एउटा प्रतिनिधी पात्रका रुपमा खडा हुनु हुनेछ । यसभित्रका कथाहरु पढ्दा र मालिकराईसँग नजिक रहेर हेर्दा धेरैहदसम्म यस तथ्यको नजिक पुग्न सकिन्छ; मालिकराम राईका वरिपरि बाँचेका हामी सबैको आफ्नै कथा भित्र पस्न सकिन्छ । तेसो त उहाँको पहिलो कथा संग्रह विवसतामा एउटा कथा खुद आफ्नै नाममा लेख्नु भएको छ । मनोवादको शैलीमा लेख्नु भएको यस कथाले उहाँलाई एउटा खुल्ला किताबको पानाका रुपमा प्रस्तुत गर्दछ ।
एउटा निम्न तथा गरिब वर्ग देखि मध्यम वर्गीय, अर्ध शिक्षित र अस्थिर समाज भित्र रहेका आम मानिसहरु उहाँका पात्रहरु रहेका छन् । जव यी आम पात्रहरु जिजिवीषाकोलागि आफ्नै थातथलोमा भौतारिन्छन, आफनो गाउँदेखि मधेस र सहर पस्छन, बिदेश जान्छन्, समास्यहरुसँग जब पौठेजोरी खेल्छन कहिले हार्छन कहिलै जित्छन्; थोरै हाँस्छन धेरै चाही रुन्छन् । यस्तै भोगाईहरुलाई नै मालिकराम राईले कथाको बिषयबस्तु बनाउनु भएको छ । वास्तवमा यो मालिकराम राईका कथाहरु हामी सबैको कथा भएकोले कथा पढी रहेकोबेला त्यस कथाको पात्रमा आफुलाई पनि पाउन सक्दछौं । त्यसैले यस प्रकाशित कथा संग्रहको भूमिकामा उपप्राध्यापक धनप्रसाद सुवेदी “श्रमिक”ले आफ्नो भूमिकाको शीर्षक नै “कथामा जीवन: जीवनमा कथा” राख्नु भएको छ । आफ्नो भुमिकालाई बिट मार्ने क्रममा उहाँ लेख्नु हुन्छ, “.. कथा संग्रहले कथामा जीवनलाई उतार्ने र हरेकको जीवनमा थुप्रै कथाहरु सुरक्षित हुन्छन भन्ने मान्यता स्थापित गर्ने काम गरेको छ । यो यस कृतिको मुख्य पहिचान हो” ।
यसै कुरालाई अली फरक तरिकाले यस संग्रहको प्रकाशक साहित्यीक संस्था सृजनशिल साहित्य समाजका अध्यक्ष हाङयूग अज्ञात प्रकाशकीयमा लेख्नु हुन्छ “उनले(अर्थात मालिकराम राईले) घटना र दृष्यहरुलाई कथाहरुमा यसरी बुन्छन कि पाठकहरु कथाभित्रै छिर्छन् । पाठकहरुलाई कथा पढिरहेको छू जस्तो लाग्दैन, कथा बाँचिरहेको छू जस्तो लाग्छ” । उहाँ अर्थात हांगयुग अज्ञातज्यूको दृष्टिकोणमा कथामा देखिएको यथार्थताको कारण घटनालाई कथामा बुन्ने शिल्प हो भन्नु खोजे जस्तो लाग्छ । त्यसैगरी कथाकार मालिकराम ज्यूकै भाषामा भन्ने हो भने “यो कथा संग्रह पनि पहिलाका दूइ प्रकाशित कथासंग्रह जस्तै समाजका घटना, अनुभति र अनुभवहरुको संगालो हो” ।
धनप्रसाद सुवेदी र स्वयं कथाकार मालिकराम राईको भनाईलाई मनन् गर्ने हो भने यहाँ समेटिएका धेरैजसो कथाहरु वास्तवविक घटनामा आधारीत छन् । कथाको श्रृंखलाहरू त सबैको जीवनमा छँदै छ तर हांगयुग अज्ञात ज्यूले भनेजस्तो शिल्प चाही मालिकराम राईज्यूमा देखियो; साहित्यिक रुपमा उतार्ने शिल्प । कथाहरुको बारेमा सामान्यतया यसरी यसको पृष्ठभूमीबारे नजरअन्दाज गर्ने सामान्य चलनलाई किन उल्लंघन गरिएको छ भने कथाकार आफैले यस कथाको पात्रहरुबाट आलोचना समेत बेहोर्नु परेको कारणले कथाहरुलाई नै परिमार्जन गर्नु परेकोकुरा उल्लेख गर्नु भएको छ । (पेज १६ मा उहाँले भन्नु भएको छ, “प्रस्तूती र विवेकको कमजोरीले गर्दा विगतमा कथाद्वारा मैले केहि आरोप र आक्षेपको सामाना गर्नु परेको थियो । ती कथाहरुलाई सक्दो परिमार्जन गर्छू।”) माथि उपप्राध्यापक धनप्रसाद सुवेदीको आसय पनि यही हो कि मालिकराम राईका कथाहरुको श्रोत आफ्नै वरिपरीका परिवेश भित्र देखिएका वास्तवीक जीवनमा भोगिएका अनुभूतीहरुको संगालो हो । यसैलाई आफ्नो टिप्पनीमा कवि भोगेन एक्लेले भन्नु भएकोछ “कहींकतै छिन्द्राछिन्द्री परेको भएपनि अर्गेनिक छन् ।”
वास्तवमा मालिकराम राईज्यू यी यस्ता भोगाईहरुलाई यस भित्रका वास्तवीक पात्रहरुबाट आलोचना खैप्दै भएपनि समाजमा सन्देश मुलक खुराक पस्किनकालागि कथामा उन्नु भएको कुरालाई प्रष्टयाउँदै लेख्नु भएको छ, “यहाँ पनि मेरो उदेश्य ती पात्रहरुको चरित्रहत्या गर्नु होइन र उनिहरुप्रति मेरो कुनै पुर्वाग्रह छैन । मेरो खास उदेश्य त त्यही हो, जून ती पात्रहरु आफ्नो गलत प्रवृत्ति, अव्यवहारिक क्रियाकलाप, विसङ्तीपुर्ण कार्यबाट हतोत्साही होउन । त्यो कुलत र कुपथबाट टाढा होउन् । ……… …. … एउटा नयाँ र सुनौलो समाजको निर्माण होस् ।”
उहाँको यस भनाईबाट मात्र होइन समग्र कथाहरुको अध्यायन गर्दा उहाँको कथालेखनको अभिप्राय प्रष्ट हुन्छ । उहाँ समाजको विकृति र विसङगती प्रति आम मानसमा सजग गराउन चाहनु हुन्छ । त्यसेले उहाँको कथाहरुमा रोमान्स, योनकुण्ठा र आसक्तीपुर्ण प्रेम कहानीहरुको स्थान छैन । छनभने यसबाट हुने नकारात्मक परिणाम सहीतको कथाहरु मात्र छन् । कथाहरु प्रायः दूखान्तमा अन्त्य भएका छन् । कुनै न कुनै सन्देश दिएर टुङ्गिएका छन् या त ब्याँग्य प्रहार भएर टुङ्गीएका छन् ।
यस कथा संग्रहको पहिलो कथा हो “अहम” । १५ वर्षको कलिलो उमेरमा बाबूआमाको “कामखाने” र बंश परम्पराको निरन्तरतालाई प्रमुख ठान्ने मान्यता अनुसार काजीमानको ऊ भन्दा जेठि कन्यासंग बिबाह हुन्छ । तर काजीमानको घरको नाजूक आर्थिक अवस्था र श्रीमतीको अहमताको कारणले गर्दा पारपाचुके हुन्छ र श्रीमतीले आफ्नै बाटो समाएर हिड्छ । धेरै वर्षपछि काजिमान मधेस झर्दा आफ्नो उक्त पुर्व श्रीमतीलाई एउटा खोलाको बगरको झोपडिमा भेट्छ । काजीमानको घर छोड्दाको भन्दा झनै नाजूक अवस्थामा उनीहरुको अप्रत्यासित भेट हुँदा दुबैजनाको जुन किसिमको मनोदशा हुन्छ त्यसलाई कथानक रुपमा सुन्दर ढंगले देखाउनु भएको छ । कथाको प्लट अति राम्रो छ तर विचविचमा प्रयोग भएको प्रशंग कताकता नमिले जस्तो लाग्दछ । जस्तो श्रीमतीले काजीमानको गरिवीलाई देखेर लत्याएको भनिएपनि उनी अली खान्दानी परिवारको हो भनिएको छैन । बरु एकठाँउमा भनिएको छ, तँ जस्तो तन्नमसँग बस्नु भन्दा भिकारीसँग जान्छू भनेर श्रीमतीले धम्की लगाएको प्रशंग छ अली अमिल्दो लाग्दछ ।
आदर्श जोडि अर्थात अत्यान्तै गहीरो प्रेम अनी त्याग पनि रहेको जस्तो देखिने जोडिको विचमा अप्रत्यासित रुपमा देखिएको एउटा दूर्घटनाको ब्याथा हो दोश्रो कथा अप्रत्यासित । आफ्नो जीवन संगीनीले पहिलो सन्तानको जन्म दिएको अपार खुसियालीमा फूलको गुच्छा लिएर अस्पतालमा पुग्दा आफनो नश्ल नै नमिल्ने बच्चा देखेपछि यो जोडिको दर्दनाक हालतलाई सजिव ढंगले कथामा उनिएकोछ । श्रीमानको नाम सागर र श्रीमतीको नाम विनिता रहेको छ ।
यसकथामा एउटा अदृश्य तर महत्वपूर्ण पात्र रहेको छ विनिता काम गर्ने रेष्टूराँको गोरा मेनेजर । विनिता गर्भवती भएपछि काम छोडेर घरमा बसेको अवधिमा ऊ विनितालाई भेट्न आउछ पनि । गर्भवती महिलाले खाने भिटामिन र पढ्ने पुस्तक सहित भेट्न आएको बेला त्यो गोरा मेनेजर र विनिता विचको अस्वभाविक हावभाव र वार्तालापको अंशले पाठकलाई कथाको रहस्य पाहिले नै चुहाई दिएकोछ । बरु यसलाई आफ्नो छोरा अर्कै बाबुबाट जन्मेको थाहा पाएर उसमा आएको मनोदशा सँगसँगै मिसाई दिएको भए राम्रो हुने थियो जस्तो लाग्दछ । म यसलाई प्रबिधिक कमजोरी ठान्दछु ।
कथा संग्रहको लागि आफ्नो मन्तब्य प्रस्तूत गर्ने क्रममा मालिकराम राईज्यूले एकठाउँमा भन्नु भएको छ, अलिक राम्रो र अलिक पछि छापौंला भन्दाभन्दै लासमा परिणत भइहालियो भने को जिम्मेवार हुने । यस्तै … … पनि पाठकहरुले पढ्न पाएनन् भने त्यो जतिको थकथकी कहिले होला । उनिहरुमा मेरो सन्देश कसरी प्रवाह होला र चेतना आउला ।
यसरी हेर्दा र माथिपनि भनियो मालिकराम राईज्यूको कथा लेखनको मूल ध्येय नै पाठकहरुमा सन्देश प्रवाह गरि चेतना छर्नु हो। यहाँ तेश्रो कथाको रुपमा रहेको “आत्माहत्या” (लगायत अन्य कथाहरु पनि) त्यसैको एउटा उदाहरण हो । वास्तवमा कथाकीयपन भन्दा सन्देशात्मक आदर्शको विवरण यस कथामा देखिन्छ । एउटा सत्य घटनाको विवरण पछि पाठकहरुमा दिन चाहेको सन्देशहरुको एउटा लामो लिष्ट सँगै कथा टुङ्गिएको छ । यसकथामा एउटा बहिरीया केटीहरुसँग बरालि रहने श्रीमानको श्रीमती पनि लोग्नेको देखासेखी गर्दै आफूपनि परपुरुषहरुको पछिलाग्न थाल्छ तब घरको वातावरणले बिकराल रुपलिन पुग्दछ । र अन्त्यमा श्रीमतीको लास ट्वाइलेटमा झुण्डिएको अवस्थामा भेटिन्छ । रहस्यमय यस मृत्यूकाण्डको पुलिस अनुसन्धनले श्रीमानलाई निर्दोस देखाएपनि आम जनमानसले मृत्यको कारण श्रीमान नै भएको निर्क्योल गर्दछ । घटना भएर पनि भाव र अनुभूतिको कमी देखिनुले यो समाजलाई सचेत बनाउन सन्देश प्रवाहकोलागि मात्रै लेखिएको हो जस्तो लाग्दछ; सत्यकथा जस्तो लाग्दछ ।
चौथोकथा “विगत”मा एकजना मुलपात्र जया छिन् । उनले हङ्कङमा आफनो श्रीमानलाई सँगै लिएर आएको भएपनि कागजातको अपूर्णताको कारणले श्रीमान नेपाल फर्कनु पर्नेहुन्छ । नेपाल फर्केको श्रीमानलाई अनुकुल समय भएपछि हङ्कङ् नबोलाई अर्कैसँग विबाह गर्छिन । तर दोश्रो लोग्नेबाट आफुलेपनि धोका खाएपछि छूट्टिएर बसेको जयाको विगतको कथा हो यो विगत । यसमा जयाको अवस्थाको बारेमा मानसिक स्थिति मात्र उल्लेख गरिएकोछ तर बस्तुगत अबस्था उल्लेख गर्नु भएको भए कथाको शीर्षक “विगत” को मर्म स्पष्ट र अझ सार्थक हुने थियो ।
कथा भनेपछि घटना र पात्रहरुको संयोजन हो । तर यहाँ एउटा कथा “नलेखिएको कथा” छ यसमा पात्र त छ तर घटना छैन । घटना नै नभएको त होइन छ तर घटनालाई “पार्स्व”रुपमा मात्र राखिएको छ । शिलसिलेवर घटना नहुनुमा नै यस कथाले हामी सबैसंग कथा छ भन्ने वोध गराएको छ । र समग्र कथा सग्रहको प्रतिनिधि कथा अथवा सार हो यो कथा । यदि यो कथा संग्रहको नाम मालिकराम राईका कथाहरु बाहेक अरु कुनै हुन्थ्यो भने यही “नलेखिएको कथा” सबैभन्दा उपयुक्त हुने थियो ।
मालीकराम राईका अधिकांश कथाहरु नारी प्रधान छन् अर्थात नारी भुमिका र प्रबृत्ती स्पष्ट छुट्टिने किसिमका छन् । भुमिकामा धनप्रसाद सुवेदीले सातवटा कथाहरु त नारीलाई समाजमा खराब छन भन्ने हेतुले लेखिएकाछन् भनेर आरोप नै लगाउनु भएकोछ ।
हुनपनि भनिएका यी सातवटा कथाहरु मध्येका केहि कथाहरु पढ्दा के पुरुषहरु चाही महिलाबाट पिडित हुँदैनन् र, पिडक मानसिकता पनि लिङ्गीय हुन्छ र भन्ने प्रश्न खडा गर्नु भएको छ । पुरुष प्रधान समाज भनेर मात्र हुँदैन कतिपय घरपरिवार महिलाको अहम र आडम्बरको शिकार पनि बनेको हुन्छ भन्ने रहस्यलाई उजागार गर्न कोशिस गर्नु भएकोछ यि कथाहरूमा।
यसरी नारीको स्पष्ट नकारात्मक भुमिका भएको कथाहरु मध्ये पाँचौ कथा “उजाड घर” र १४औं कथा “नारी दमन” नै प्रमुख हो । यी दुबै कथाको प्रकृती मिल्दोजुल्दो छ । दुइपटक विवाह भएर पनि घरबार हुन नसकेको एकजना पुरुषको तेश्रो विवाह पछि पनि नवदुलही ज्यादै दुर्छो स्वभावको भएको अनि नन्द र सासुसँग मिल्न नसकेकोकारणले परिवार क्षतविक्षत हुन्छ । आमा आफ्नो ठुली छोरीज्वाईको घरमा गएर बस्नु पर्ने अवस्था हुन्छ र बहिनी विवाह गरेर जान्छीन ।विदेशमा भएको लोग्ने घर फर्कदा घर रित्तो हुन्छ र आगनमा झार पलाई सकेको हुन्छ कथा “उजाड घरमा” ।
“नारी दमन” भनिएको कथामा पनि बुहारीबाट सासु र अन्य परिवारका सदस्यहरु आजित हुन्छन् । नातीनातीनाहरु पनी बुहारीले माइती पटिका आफन्तकोमा राखेर विदेशमा भएको लोग्नेसँग नै बस्न जान्छन् । र त्यहाँपनि श्रीमानलाई कचकच गर्न नछोडेपछि श्रीमान (शरण) नेपाल फर्कन्छ र आमासँग गाउँमा गएर समाजसेवा गर्न थाल्छन् । यी माथिका दुबै कथामा नै पुरुषलाई विवाह प्रति नै वितृष्णा जाग्ने अवस्था देखाईएको छ ।
नारी प्रमुख पात्र रहेको अन्य कथाहरु हुन “गरिब मानसिकता” (आठौं), “आइडिको कथा”(दशौं), “लुटिएको जिन्दगी”(बार्हौं), “नलेखिएको कथा”(तेर्हौं), “रुपा”(सौर्हौं), “आशा”(उन्नाईसौं) र “अहम्”(पहिलो) । यसमध्ये लुटिएको जिन्दगी, रुपा र आशा नारीहरुले भोगेको दुखद कथाहरु हुन । लुटिएको जिन्दगी हंगकंग आइडिमा नेपालबाट हंगकंग आउने नेपालीहरुको एउटा प्रतिनिधी कथा पनि हो । काठमाण्डौमा चिया पसल गरेर पेट पालन गरि रहेको युवती प्रति जब पैसावाल तर बुढो साहूको गिद्दे दृष्टि पर्छ तब हंगकंगको जन्मदर्ता किनि दिएर कागजी विवाह गरेर एकसाथ हंगकंग आउने अवस्था सृजना गर्छ । हंगकंगमा एकसाथ बस्नुपरेको अबस्थाको मौकामा उनको अस्मिता लट्ने ध्यय पुरा गर्छ ।
बिचरा, दुखै लुकाई । (रुपाः पृष्ठ १३२) जब गरिब दुखीहरु मर्छन हाम्रो गाउँघरमा भन्ने चलन छ, बिचरा “दुखै लुकाई” । दलित परिवरमा जन्मिएकी रुपा बैशमा राम्री थिइ, सबैको आकर्षणको बिन्दु । उच्च बंशका भनिएका पुरुषहरुको अबैध सम्बन्धले बतासे छोरा पाएपछि माइतिबाट निकाला हुन्छिन । पछि बडो दुखले छोरा हुर्काउछिन् । तर छोरो बढेपछि बुहारी लिएर छुट्टिएपछि उनको दुर्दशाको अर्को अध्याय शुरु हुन्छ । अर्काको भारी बोकेर जिविका गर्दागर्दै भारि बोकेकै अवस्थामा कमजोर जिउलाई भारिले किचेर उनको मृत्यु हुन्छ । योवन हुदाँ उनको शरिरसँग खेल्ने र भोग्ने तर उनको जातलाई अस्विकार गर्ने आजको हाम्रो समाजको सानो ऐना हो यो कथा “रूपा”।
त्यस्तै दाउराको भारी बोकेर बच्चा र आफ्नो एक छाक टार्न भारी बोक्दाबेक्दै ज्यान गुमाउन पुग्ने एउटी दुखी पात्रको कथा हो अन्तिम कथा “आशा”। ज्यानमारा काण्डमा संलग्न आफ्नो लोग्ने गीरीराज जेल चलान भएपछि गाउँकै भद्र तथा शिक्षीत भक्तराजसँग विवाह त हुन्छ तर दोश्रो श्रीमान भक्तराजको पनि असमयीक निधन हुन्छ । जेल भूक्तान भएपछि उही अपराधी गीरीराजसँग नै विवाह गर्न वाध्य पारिएको आशा यो वाध्यताको डोरीमा पनि अडिन पाउँदिनन् । उसको श्रीमान गीरिराजको पनि गाउँलेबाट हत्या हुन्छ । आफू एकपाखे भएपछि बच्चा र आफु बाँच्नकोलागि लड्दालड्दै यस संसारबाट बिदा लिन पुग्छीन ।
गरिब मानसिकताको कारणले आफ्नै खुट्टामा बन्चरो हान्दै धनको लोभमा एउटा विवाहित पुरुषसँग विवाह गर्न पुग्नुले आफ्नो खूसिको जिन्दगीबाट नरकिय जिवन गूजार्न पुग्छ ८ औं कथा “गरिब मानसिकता”को पोक्ची ।
वास्तवमा परिवेशलाई र प्रशंगलाई नियाल्ने हो भने मालिकराम राईका कथाहरु गाउँघर, काठमाण्डौं शहर, मूग्लान र हङ्कङ्को वरिपरि रमेको छ । कहिले मूग्लानको चियापसलमा कप माझ्दै, गाउँघरको हाटबजारमा दुखजिलो गर्दै , हङ्कङ्को आइडि बनाउँदै खूसी र तनाव धोका र प्रेमकासाथ घूमि रहेको छ ।
आइडिको कथा नै कथाको शीर्षक रहेको १० औं कथामा एउटा विवाहीत महिलाले अत्यान्त्यै दुख र सास्तिकासाथ ऋणपान गरेर आफुलाई हंगकंग पठाउने लोग्ने र छोरालाई धोका दिएर अर्कैसँग हिडि दिन्छ । बाबु र छोरा तेहि आईडीको ऋणको बोझ धान्न नसकेर घरबाट पलायन हुन्छन् । तेसो त चौथो कथा विगतपनि आईडि मार्फत महिलाले नै आफ्नो श्रीमानलाई धोका दिएको कथा हो भने १२औं कथा लुटिएको जिन्दगी आइडिमार्फत एउटा गरिव यूवती माथि भएको धोका हो । त्यसैगरि आइडिको जगमा उभिएको कथा हो १७ औं कथा “साथी” । यहाँ दूइजना अत्यान्तै मिल्ने महिला साथीहरुको श्रीमानहरु पनि अत्यान्तै मिल्ने र हितौषि नै हुनु अनौठौ संयोग हुन्छ । तर श्रीमानलाई आफ्नो साथीसँग नेपालमा जग्गा किन्न पठाएर आफू भने साथिको श्रीमानसँग पोइल गईदिए पछि कथाले एउटा घनिष्टता भित्र भएको धोकालाई उजागार गरेको छ । के सामिप्यता र जैविक आवस्यकता नै यस्ता दूर्घटनाको कारक तत्व हो, यो प्रश्न पनि खड़ा हुन्छ ।
तेसो त छैटौं कथा “विसंगति” , सातौंकथा “दोश्रो विवाहको परिणाम” र अठारौं कथा “सिन्दूर”ले पनि हङ्कङमा पाइला टेकेको छ तर यि कथाहरुको विजन चाही हङ्कङ् आईडि हैनन् ।
छैठौं कथा विसंगतीले नेपाल र हङ्कङ्लाई आधाआधा टेकेको छ । यसका पात्र भाग्यवती निकै अभागी छिन । अट्ठाइस वर्षको उमेरमा नेपालमा आमाको जून रोगले निधन हुन्छ उनको पनि हङ्कङमा उहि रोगले कलिलो उमेरमा निधन हुन्छ । यो कथा सन्देश वाहक नभएपनि एउटा जिउदो कहानीभित्र पाठकलाई बाँच्न लगाउन सफल छ । यहाँका किराँत संस्कृती र संस्कारको ढोल बच्छ, साँझपख कराउँने झ्याउँकिरीको आवाज छ, गाउँका युवाहरु स्यालको रक्सि औषधीको रुपमा प्रयोग गर्न स्यालको शिकार गर्छन ।
सातौं कथा दोश्रो विवाहको परिणाम सन्देशमूलक कथा हो । यसमा पनि पात्रहरु सजिव छन् । कथा ओर्ग्यानिक छन् तर भोगने एक्लले टिप्पनीमा भने जस्तै कहि कतै छिद्र पनि छन् । हङ्कङमा रहेको बाबूले दोश्रो विवाह गरेपछि चिनमा डक्टर पढ्दै गरेको छोरी र नेपालमा हाइस्कूल पढ्दै गरेको छोरा अनी हङ्कङमा रहेको आमाको हालतलाई सजिव ढंगले उतार्नु भएको छ । यता चिनमा पढ्दै गरेको छोरी पढाई छोडेर आमालाई साथ र सहानुभूति दिन काम पनि गर्दै हङ्कङ् आउछ र उता नेपालमा भएको छोराले स्कुल छोडि दिन्छ र अव यो बाबू भन्ने शब्द नै हटाउने अभियानमा लाग्ने बहुलटि्ठपन देखाउन थाल्दछ । स्कुलको शिक्षकलाई भन्छ कि म बाबू र सौतेनी आमा भन्ने शब्दै सुन्न चाहन्न ।
तर यहाँ कथाको अप्राशंगिक लाग्ने एउटा वाक्य छोराले भन्छ, “बाबू र सौतेनी आमा मात्र होइन काका भन्ने शब्दपनि मन पदैन” । यो काकाको प्रशंग किन भनियो होला भन्ने प्रश्न खडा हुन्छ पाठकलाई ।
यहाँ नवौं कथा “उसको साथि” र १८ औं कथा “सिन्दूर” पनि एउटा संस्मरणात्मक कथाको रुपमा रहेको छ । हुन त कथा कथा नै हो कथाकारको कलमको छेलोले संस्मरणको बार नाघि सकेको हुन्छ । सजीव घटना र रोचक प्रसंगयुक्त छन् यी लगायत धेरै कथाहरु । जव मान्छे जानअन्जान गल्ती गर्छ र समस्यामा फस्छ तर लोकलाजको कारणले बाहिर ल्याउन सक्दैन त्यस्तो अवस्थामा आत्मीय साथिले मात्र साथ दिनसक्छ भन्ने सन्देश दिएको छ कथा “ऊसको साथि” ले ।
हरेक मानिसको जिवनमा विवाह अनिवार्य हुन्छ तर वास्तवीक विवाह हुनु भन्दा अगाडि धेरै मान्छेको जिवनमा चाहेको तर प्राप्त गर्न नसकेको कोहि न कोहि पात्र हूने गर्दछ । यही कथालाई बोकेको छ अठारौं कथा “सिन्दूर” ले ।
मालिकराम राईका पहिलो दोश्रो र तेश्रो कथा संग्रहका कथाहरु हेर्दा हरेक संग्रह र लेखन काल अनुसार लेखकिय क्षमता क्रमसः खारिँदै गएको देखिन्छ । त्यसो र पहिलो र दोश्रो कथा संग्रहको तूलनामा यस तेश्रो कथा संग्रहका कथाहरु समकालीन नेपाली कथा साहित्यको समकक्षमा पूगेका कथाहरु छन् । त्यस मध्ये उहाँका दूइकथाहरु, “भिकारी र कूकूर” र “रहस्यमय पलायन” उत्कृष्ट कथाहरु हून । परिवारबाट अपहेलित भएर पूलमूनी जिवन गुजारी रहेको एउटा असहाय बृद्द र शोख र रहरले सुखसयलमा पालेको एउटा कूकूर विचको मित्रवत सम्बन्धलाई कथामा मार्मिक ढंगले प्रस्तूत गरिएको छ अन्तराष्ट्रीय परिवेश र बिषयबस्तु समेटेको कथा “भिकारी र कुकुर” मा । मान्छे जतिसुकै विवेकशिल र धनी भएपनि उसमा रहेको स्वार्थिपनले गर्दा आफ्नो जन्मदिने बाबुआमा समेत कसरी लत्याउन सक्छ भन्ने कूरालाई देखाउन खोजीएको छ भने विवेकहिन भनिएको पशुमा प्राकृतिक माया, स्नेह र मित्रता कति धेरै प्रघाढ हुन्छ भन्ने कुरा देखाउन सफल छ यो कथा । यो कथा नेपालबाट प्रकाशन भई रहेको साहित्यिक पत्रिका गरिमाको बर्ष २५अंक ११ (कार्तिक २०६४)मा प्रकाशन हुन सफल कथा हो ।
केहि वर्ष अघिसम्म मुङ्लान नेपालीहरुको प्रमुख बिदेशी गन्तब्य थियो । धेरैको घरजम पनि उतै भएको छ । कतिको यता नेपालमा र उता मुग्लान दुबैतिर घरजम भएको पनि छ । उताको सन्तान र यताको सन्तान बिच चिनजान नहुँदा कालान्तार एउटै बाबुको छोरा र छोरी बिचपनि अन्जानबस बिबाहवारि हुने स्थिति उत्पन्न हुँदा बाबुले मात्र यसको किनाराको साँची हुनु पर्दाको असहज अबस्थाको राम्रो चित्रण छ कथा “रहस्यमय पलायन”मा ।
केहि कथाहरु जस्तो “लुटीएको जिन्दगी” लगायत कथाहरु पढ्दा कुनै लघु उपन्यास पढ़े जस्तो अनुभव हुने स्तरका शिल्प र बिषय छनौटमा पनि पछिल्लो कालमा अब्बल रुपमा देखा परिसक्नु भएका मालिकराम राईज्युले केहि बर्ष देखि यता साहित्यको क्षेत्रमा भएको आफ्नो परिष्कृत क्षमतालाई कज्याएर राखेको महसूस हुँदैछ । यो एउटा नेपाली साहित्यको लागि सुखद कुरा हुन सक्दैन । हुन त तीनतीन वटा कथा संग्रह पस्कि सक्नु भनेको चानचुने कुरा होइन तर हलमा हंगकंगको मात्र नभएर सम्पूर्ण नेपाली साहित्यिक मनहरुले उहाँको उपस्थिति खटकिएको महसूस गरेको छ । यस कुरालाई आत्मासाथ गर्दै उहाँले नेपाली साहित्यको फॉटमा पुनः पदार्पण गर्नकालागि आग्रहका साथ पंग्तिअन्त गर्दछु । धन्यवाद !
समीक्षक समाज हंगकंगकोलागि
किन्दर राई