~प्रकाशकृष्ण “बाक्सिला”~
शान्त वातावरण बीच एकान्त मरुभूमि
अर्थात
एकान्त मरुभूमिको शान्त वातावरण
अनि जीवनको अस्तित्वको खोजी !
केको लागि
प्रश्न छ तातो हावाको !
म अनुत्तरित छु
म भित्रको रिक्तता वा
मेरो चेतनाभित्रको शून्यता
जुर्मुराउने जमर्को गर्छ
अलिकति वालुवाको धुलो उडेर
केही परसम्म जान्छ
एउटा काढेदार वनस्पतिमा
ठक्कर खान्छ
र जमीनमा र्झछ
क्याक्टस….।
अहो ! क्याक्टस पनि जीवन हो
यो पनि बाँचिरहेछ
हरित भएर वृद्धिरत !
रङ्गीविरङ्गी भएर फुलिरहेछ
अनि आफ्नो रक्षार्थ काढे हतियार उठाएर
मरुभूमिको तीक्ष्ण झोक्काहरुको सामना गरिरहेछ
धैर्यतापूर्वक र वीरतापूर्वक ।
के त्यसो भए मेरो खोज
यही क्याक्टस हो त?
अह कदापि हुन सक्दैन
किन म सुवासित सुन्दर र
रेशमी कोमल पुष्प भीड छोडेर
क्षुद्र क्याक्टस खोजुंला…।
मलाई क्याक्टस त पटक्कै मन पर्दैन ।
नत्र म किन आएँ यस महा उष्णभूमिमा ?
अचानक….
एक हुल उँटहरु धिमा गतिमा आउँछन्
प्रचण्ड सूयको रापलाई चुनौति दिदै
रत्तिभर पर्वाह छैन ताप र तृष्णाको
अहो ! उँट ….!
उँट पनि त झन् चलायमान जिन्दगी हो
मरुभूमिका कष्टहरुलाई सहर्ष स्विकार्नु
बिना पानी…..
रगत पाक्ने गर्मीलाई आँखाले खाँदै हिड्नु
उसको नियति……।
त्यसो भए के म उँटलाई खोज्दैछु ?
अहँ , यो हुन सक्तैन
यो हुनै सक्तैन
किनभने म वसन्तको हरियाली बीच रमाउने
जल संसारमा विचरण गर्ने
सेतो हिमराशिमा जीवन बाँच्ने
सारा प्राणी जगत छोडेर
त्यही भद्दा उँट रोजुला ?
मलाई उँटको जिन्दगी ठयाम्मै मन पर्दैन ।
तर अनायासै म यथार्थमा ओर्लन्छु
म आफ्नै ओछ्यानमा छु
म आफ्नै वर्तमानमा छु
म आफ्नै संसारमा छु
त्यसैले झन् आफुलाई आफैमाथि दया लागेर आउँछ
मलाई आफ्नै परिचयको प्रश्नले टोक्न थाल्छ
म झन् झन् सत्यको नजीक पुग्छु
उफ…म त मरुभूमिमा हल्लिरहेको
क्याक्टस रहेछु
म त बालुवाको थुप्रोमा दौडिरहेको
उँट रहेछु
म त सिङ्गो मरुभूमि रहेछु
फेरि ममताहरु टुसाउँछन् मेरो अन्तरमा
गलत सोचहरुलाई सच्याउँदा सच्याउँदै
अप्रत्यासित शब्दहरु निस्कन्छन् मेरो मुखबाट्
मेरो प्यारो मजस्तै क्याक्टस…..
मेरो प्यारो मजस्तै उँट…..
मेरो प्यारो मजस्तै मरुभूमि