~आस्था थापा~
हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ न है
मेरो बुद्ध दाजु कहाँ छन् भनि देऊ न है
शान्ति र सुरक्षा दिदी हराएको बर्सौ भयो
टुक्रा टुक्रा भयको छ आमा को छाती
मेरा सहिद दाजुलाई सुनाइ देऊ न है
छैन अब बाँकी पुर्खाको चिनारी
हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ न है
लथालिङ्ग भताभुङ भएको छ भनिदेऊ
हे आमाको पोल्टाबाट लास उठेको छैन
कतै छैन ती मठमन्दिर कतै छैन पाटीपौवा
हे २०७२ यो खबर लगि देऊ है मेरो दाजैलाई
हर्के बिर्खे हरायको साइली र माइली ठूली पुरिएको एक वर्ष बित्यो
छिनमा आउँछ आधी तुफान छिनमा असिना पानी
त्यही भएको त्रिपाल पनि बास बसे तानी तानी
हे २०७२ मेरो दाजैलाई यो खबर सुनाइ देऊ है
मखमली माला बारीमा सुक्यो जमरा मन्दिरमै कुहियो
देउसी र भैली त कहाँ हो कहाँ ? खाँचो छ आज मलामी जानेको
हे २०७२ मेरो दाजै लाइ यो खबर पुराइ देऊन है
चाउरी परेकी आमाका छाला पनि लुछ्दै छन्
पलपल झिरमा उनेर मेरी आमालाइ लिलानी गर्दैछन्
चार दिशाबाट गिध्दे नङग्रा फैलाई
मेरी आमाको जिउदो लासलाई कोपर्दै छन्
तेसैले हे २०७२ मेरो दाजैलाई यो खबर पुराइ देऊ न है
कहा होलान् मेरा ती दाजु
यति पुकार सुनि आए हुन्थ्यो
उथलपुथल भयो आफ्नै भन्नेले हेला गरे मेरी आमालाई
पटक पटकको चोट बहाना अनेकौँ छ
सपुत सन्तान कोही छैन यहाँ तिम्रो खाँचो छ
त्यसैले हे २०७२ मेरो दाजैलाई यो खबर लगि देऊ न है
आजसम्म कोलाहल डर त्रासले भरियो आमाको आँगन पुरै
न छ खाने अन्न न छ बस्ने बासको टुङ्गो
मागेको फरियाको छत पनि लग्यो उडाइ हुरीले
भान्टाङ भुन्टुङ लालाबाला लिएर कहाँ जाऊँ ?
सबैतिर आलो चोट छ
कहाँ कहाँ मात्र मलम लाउँm ?
त्यसैले हे २०७२ मेरो दाजैलाइ यो खबर लगि देऊ है
चिरा चिरा भएको छ ज्वारभाटा झैँ
छैन तिलको दाना राख्ने ठाउँ
पुरै चिहान नै चिहानमा परिणत भयो आज
सुन्दर हरियाली बस्ती अनि ती गाउँ
तेसैले हे २०७२ मेरो दाजैलाइ यो सुनाइ देऊ न है
भनि देऊ न सुनाइ देऊ न यो चेलीको पुकार
हासी खुसी विदा गर्छु नि म
हे २०७२ साल तिमीलाई
– भक्तपुर तथली (हाल अलवर्षा, दुबई)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क १८ – March 30, 2016 )