~हिरण्य भोजपुरे~
मोबाइल मेरो खल्तीमा छ । पेन्टको अगाडिको खल्तीमा ।
मोबाइलको ‘भाइब्रेसन’ ‘भाइब्रेट’ भो । घन्टी बजेन ।
म मोटरबाइकमा छु । मोबाइल भाइब्रेट हुँदा आफू भाइब्रेट नहुनुको स्थितिमा, परिस्थितिमा । के गर्ने, यहाँको ‘ट्राफिक’ नै यस्तै छ ।
एउटा पायक पर्ने ठाउँमा पुगेँ । हेरेँ । एल्साको फोन रहेछ । मैले उसको नम्बर मिलाएँ । एल्सा निकै बेर बोलिनँ । ‘लास्ट–लास्ट’ को ‘रिङ’ मा त्यसले ‘सेलफोन’ उठाई ।
मैले सोधेँ — “तैँले फोन गरेकी ?”
त्यसले ‘हो’ भनी । मैले सोधँे — “किन त ?”
त्यसले ‘त्यसै’ भनी र भनी — “अघि किन फोन नउठा’को ?”
मैले मेरो ‘रियल’ ट्राफिक सन्जालको बोध अबोध बन्दै त्यसलाई बोध गराएँ । त्यो खितित्त हाँसी ।
मैले भनेँ — “रिङ्गर बन्द रहेछ । भाइब्रेटले भाइब्रेसन दिइरह्यो । त्यो भाइब्रेसन मेरो आइफोनको थियो कि मेरो मुटुको, मैले चाल पाउन सकिनँ । अनि तिमीलाई मैले फोन गरँे ।”
एल्सा मस्तसित हाँसिरही र म मधुर बनिरहँे ।
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)