कविता : एक सम्बोधन मधेशलाई

~हेमबहादुर गन्धर्व~

एक मधेश !
एउटै शरीरभित्रका
अङ्गहरू जस्तै
एउटै इन्द्रेणीभित्रका
रङहरू जस्तै
हामी अखन्डित र अविभाजित छौँ
चाहे हामी
सेताम्मै हिउँ ढाक्ने
हिमाल किन नहोउँ ?
चाहे हामी
रक्ताम्मै लाली फुल्ने
पहाड किन नहोउँ ?
तर हामी
एउटै मुुटुभित्रका
शिराहरू जस्तै
एउटै आकासभित्रका
ताराहरू जस्तै
हामी
पराइ र पृथक छैनौँ
त्यसैले
ए मधेश ¤ अब तिमी आफैले
बुझ्नु पर्छ कि
ए मधेश ¤ अब तिमी आफैले
सोच्नु पर्छ कि
हिमालले हिमाल अलग माग्न
थाल्यो भने
पहाडले पहाड अलग माग्न
थाल्यो भने
मधेशले मधेश अलग माग्न
थाल्यो भने
तब नेपाल
अपाङ्ग नेपाल बन्नेछ
र, अखन्ड मातृभूमिको इतिहास
फेरिने छ
तब नेपाल भुरे नेपाल
बन्ने छ
र, आफ्नै आँगनमा
सीमा रेखा कोरिने छ
त्यसैले
ए मधेश ¤ किन अलग
मधेश माग्छौँ ?
एक मधेश ¤ किन राष्ट्र
भाँच्न खोज्छौँ ?
बरू
तिम्रो विद्रोह
मधेश अलग लिन होइन
मधेश अधिकार लिन
उठ्नुपर्छ
बरू
तिम्रो विद्रोह
आत्मनिर्णय लिन होइन
आत्मसम्मान
लिन बोल्नुपर्छ ।

– बाग्लुङ (हालः पान्डीचेरी, दक्षिण, भारत)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ८ – Jan. 2, 2013 – २०६९ पौष १८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.