~यकिना अगाध~
भगवान जाने उसले जीवनमा कसोकसो गरी मनग्य धन कमायो । ती कमाइको केही हिस्सा राजनीतिक पार्टी, त्यसका भातृ संगसंगठनहरु, धार्मिक तथा टोलका क्लबहरुलाई पनि चन्दा स्वरुप दिने गर्दथ्यो । फलतः उसलाई समाजले उदार हृदय भएको महान समाजसेवी भनेर औधी सम्मान गर्दथ्यो । जो जसलाई जेजे परे पनि तुरुन्तै सहयोग गर्ने आदत भएको हुनाले यो टोलमा उनको गुनगान नगाउने कोही थिएनन् ।
यही टोलमा एउटा गरीब परिबार पनि बस्दथ्यो । उनीहरु मजदुरीबाट नै दैनिकी गुजार्दथ्र्यो । आजसम्म उनीहरुले कोही कसैको एक रुपैयाँ पनि तलमाथी गरेको रेकर्ड थिएन । एकदिन यस घरको मूली अचानक बिमारी पर्यो । उपचारको लागि उनीहरुसंग पुग्दो रकम भएन । चिनेजानेकाहरुसँग सरसापट गर्यो अझै थोरै रकम पुगेन । यसैबीच उनीहरुलाई त्यो महान समाजसेवीको सम्झना भयो किनकि गाउका चल्ताफिर्ता व्यक्तिहरुलाई अप्ठ्यारो पर्दा उसले प्रशस्त सहयोग गरेको उनीहरुले पनि देखेको थियो । उसैकहा थोरै नपुग रकम ऋण माग्न उ पुग्यो । उसको बिन्तिभाउ सुनेर महान समाजसेवीले भन्यो– हुन्छ हुन्छ । केही समयपछि आउ । म श्रीमतीसँग सल्लाह गरौंला ।
केही समयपछि उ त्यहा पुग्दा महान समाजसेवीले श्रीमतीसँग यसो भनिरहेको सुन्यो– त्यस्ता मुला बेकामेलाई पैसा दिएर के काम । भोली फर्काउने हो कि होइन के थाहा ? अहिले उ आयो भने तिमीले उसलाई आजलाई छैन भोली आउ भनेर टारि देउ है ।
त्यसपछि त्यो मजदुर उसँग पैसा नै नमागी सरासर आफ्नो झुपडी फर्कियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )