~केदार गुरुङ~
सधैँजस्तो
आज बिहान पनि
झ्यालबाट देखिने
भकेम्लोको रूखबाट
एक हूल कागहरूले
कुनै नयाँ नितान्त आवश्यक
सूचना दिएझैँ—
आफ्ना नाम—
आफै पुकारिरहेछन्;
तर किन, कसलाई, केको चासो?—
ती कागहरूले…
आँगनमा चरिरहेका चिङ्नाहरू
ढुकिरहेछन् कि ?—
कतै चुलाको वरिपरि राखिएका—
खुल्ला तसला र कराहीका खानाहरू
हेर्दै पो छन् कि ?—
नत्र त्यही भकेम्लोका
पाकेका अमिला दानाहरू ठुँगेर
आफ्ना नाम र अभिनय प्रदर्शन गराएर
त्यहाँबाट कतैउडेर जाने हुन् कि ?
कसैलाई केही पो भइहाल्यो कि जस्तो…
ठूलो सङ्कोचमा डुबाइराखेर—
ती कागहरू भुरुरु उड्दै फेरि—
कुनै अनिश्चित दिशातिर अदृश्य हुन्छन् ।
यस्तो सन्दिग्धता केलाई हो?—
तर, बिहानपिच्छे
सधैँ यस्तो—
परिवेश छाइरहन्छ ।