~रश्मिला कवाङ ‘रश्मि’~
इतिहासमा नरोकिएका चित्रहरू,
अज्ञात आकारहरू
वर्षौसम्म नखुलेका ढोकाहरू
अनि नफस्टाएका मुनाहरू
कालान्तरसम्म नलेखेका अनगिन्ती अक्षरहरूले
हो, त्यही खाली पानाहरू भर्न मन लागेको छ ।
बाक्लो गाताभित्रका नरम मेरो डायरीका पानाहरूमा
ती चिसा रातका डढेका ओछ्यानहरूमा निडर भएर
अनि विना छतका दलिन र आँगनमा, चोटाहरुमा
हिजोका ती आला घाउहरू बिस्कुन सुकाएका
मूकदर्शकझैं त्यो माटोका भित्ताहरूका रङ्ग
विभिन्न रङ्गहरूले भनै मन लागेको छ मेरो डायरीमा
अभावको झरी दर् दर् दर्किदा पनि
त्यो खुल्ला आकाशझैँ खुलेर भन्न मन लागेको छ ।
ओठमा गुराँसजस्तै मुस्कान छरेर
संसारका ठूलाठालूद्वारा कसिङ्गर बढारेझैँ गरे पनि
सपनाका टुक्राहरू जोडेर विशाल लक्ष्य बनाउने छु
आँसुका थोपाहरू सँगालेर हृदयमा सद्भावरुपी तलाउ बनाउनेछु
ढलेका साहसहरू बटुल्दै सङ्कल्पको पहाड
सायद मेरो ती सादा पानाहरूमा कोर्नेछु
र त सुन्दर बनेछ यो मेरो जीवनको डायरी
रहरका पङ्खाहरूले मनको अति सुन्दर चङ्गा बनेर
उडाउनु छ क्षितिजभन्दा माथि र परपर सम्म
त्यो बादल पारिको देशमा स्वच्छ मनले
अनि जिम्मेवारी , रोजगारी र कर्तव्यले छुटेका,
अनि सम्हाल्दासम्हाल्दै पोखिएर झरेका
जीवनका स्वर्णिम पलहरू सँगाल्न मन लागेको छ ।
हो यही डायरीभित्रै पनि समयको एउटा जहाज बनाउनेछु
अनि प्रेम र सद्भावका कमलहरू फुलाउनेछु मेरै कलमले
र पुग्नु छ मलाई ती सुन्दर बस्तीहरूमा ।
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )