~चन्द्र मेघि गुरुङ्ग~
म पुरुष हुँ
तर तिमीले सोचेजस्तै
बलात्कारी, व्याभिचारी होइन
तिमीलाई हिंसा गर्ने पुरुषमा म पर्दिन
तिमीले देखे जस्तै त्यो म होइन
जो रातदिन जुवाखालमा भेटिन्छ
साइँलीको भट्टीमा पल्टिन्छ
व्यर्थैमा तिमीलाई भकुर्छ
हुन त म त्यो पुरुष पनि होइन
जो भक्ति थापा थिए
या जङ्गबहादुर
म त्यति पुरुष हुँ
पँधेराबाट सङ्गै आउँदा गाग्रो म बोकिदिन्छु
सङ्गै बसेर लुगा पखाली दिन्छु
भान्सामा सङ्गै साग केलाई दिन्छु
म त्यति पुरुष हुँ
तिमी रुँदा म सङ्गै रुईदिन्छु
तिमी हाँस्दा म हाँसिदिन्छु
म त्यति पुरुष हुँ
तिमीलाई दुख्दा म पीडा महसुस गर्छु
तिमीलाई वचन आउँदा मेरो छाती चिरिन्छ
म कति पुरुष हुँ
त्यो त म आफै पनि बुझ्दिन
तिमी भन्छौ आमा हुन गार्हो
बाबु हुन ज्यादै सजिलो
होला प्रकृतिले मलाई आमा हुन दिएन
तर महसुस गर्न सक्छु
हो म त्यतिको पुरुष हुँ
जो कम्तीमा तिम्रो पीडा महसुस गर्न सक्छ
दुखमा हात दिन सक्छ
सुखमा हाँसिदिन सक्छ
पूर्ण या अपूर्ण के हुँ
तर पनि
तिम्रो साथ पाउँदा पूर्ण महसुस गर्न सक्छु
हो म त्यतिको पुरुष हुँ
म त्यो आदर्शवादी पुरुष पनि होइन
जो राम्रो मात्र होस
भलो मात्र गरोस्
मेरा नि गल्ती होलान्
मैले पनि कुभलो गरेँ हुँला
तर त्यो मेरो अनजान भुल थियो
म त्यति पुरुष हुँ
म तिम्रो आत्मा महसुस गर्न सक्छु
तिमीलाई बुझ्न सक्छु
पूर्ण या अपूर्ण के हुँ
छुट्ट्याउने जिम्मा तिमीलाई ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )