~रमेश पल्लव~
विचल्ली बनाएर जिउने आशाहरु
निमोठेर ति निर्दोष अनुहारहरु
तिमीले बहादुरी देखाएको
अनुभव गर्यौ होला
अनि तिमीले आफूलाई
शक्तिको आडमा
सर्वोच्च शिखर चुमेको भ्रम पाल्यौ होला
शक्ति हातमा छ भन्दैमा जे पनि गर्न सक्ने
तिम्रो सोचाइ गलत हो कि होइन
यो सोर्हौं शताब्दीको जस्तो
शक्ति र घमण्डले चल्ने संसार होइन
यो त एक्कासौं शताब्दीको
आधुनिक एवं वैज्ञानिक संसार हो
यो न्यायको संसार हो
यो हरेक मानिसले बाँच्न पाउने संसार हो
किन नङ्ग्रयाउँछौ ति विषालु नङ्गाहरुले
किन चिथर्छौ ति अपवित्र हातहरुले
भन तिमी नढाँटी भन
दुई छाक टार्न र एकसरो लाउनका लागी
परिश्रम गर्ने हातहरुलाई तिमीले किन निमोठ्यौ ?
बच्चा जन्माएर मात्र कर्तव्य पूरा हुँदैन
त्यसको भविष्यको बनाइदिनु पर्छ
असल बाटोमा हिड्न सिकाउनु पर्छ
तिमीले त
कसैलाई जन्मनै बित्तिकै सिध्याइदियौ
कसैलाई आधा वर्ष पनि नपुग्दै बलि दियौ
अनि कसैलाई पालेर पनि राम्ररी खानेकुरा खुवाएनौ
अनि सुन्दैछु
तिमी निक्कै पक्षपाती पनि छौ रे
कसैलाई काखा कसैलाई पाखा लगाउने
तिम्रो व्यवहार सायद शुद्ध छैन कि जस्तो लाग्छ
तिमीलाई विश्वले नै मानेको बेला
आफ्नो नाम उच्च राख्छौ कि राख्दैनौ
राजनीतिको फोहोरी खेल रोक्छौ कि रोक्दैनौ
तिमी यतिसारो निष्ठुरी हुनुको रहस्य के हो
भन छातीमा हात राखेर भन
तिम्रो यो बहादुरी हो कि शक्ति प्रर्दशनको
अन्यायपूर्ण खेल हो
शान्तिका प्रतीक
ति निरीह परेवाहरु निमोठेर तिमीले के पायौ
त्यसैले
भो बहना र नाटहकरु बन्द गर
शक्तिको प्रदर्शन तुरुन्तै रोकी हाल
र सोचीहाल कि
तिम्रा वर्तमानका कदमहरु कति जायज छन्
तिम्रा भविष्यका योजनाहरु कति शुद्ध छन्
अनि त भन्न मन लाग्छ
तिमीले कस-कसलाई के-के दियौ
हुनेलाई सायद केही दियौ होला
तर नहुनेलाई
तिमीले आँशु सिवाय केही दिएनौ ।
हाल: क्यालिफोर्निया, अमेरिका