कविता : सेमिकोलोन भ्यालीका चराहरु

~भुपाल सापकोटा~

यहाँका कुखुरा अल्छी छन
साढे-आठमा बास्छ्न
भक्तपुरे जुजुधौ
साढे-छमा काठमाण्डौं छिर्दो हो !

यहाँका डाँफे
राजतन्त्र गएपछि
लोप भएको भान हुन्छ |
मुनालहरु,
लोकतन्त्र आएपछि !

यहाँका भगेंराहरु,
गन्तब्य बिहिन
फ्याट्ट, फुट्ट
उर्लिन्छन्, उफ्रिन्छन |
मन,
तिनको नी हुदों हो
उफ्रिदा खुट्टा-दुख्दा हुन्
बाध्यता हुनुपर्छ |
आफ्नो काममा सेक्युरिटी जसले खोज्छ नी |
नभए, उफ्रिन कर लाग्छ |
उफ्रिनु पर्छ |

यहाँका मयुरहरूको
नर्तकी कुन चाहिँ पिक्सारले
उतार्ला र !

यहाँका कोइली
संगीत रच्छन्
उस्तैलाई
सुरमा लठ्याउने गरि !
रचना गर्ने हरु,
शान्ती रुचाउँछन्,
स्टेबिलीटि खोज्छन,
आफुँ बसेको हाँगा,
कुन दिशाबाट आएको
हावाले कट्याक्क भाँच्नेहो
दोधारमा,
यो सुमधर संगीत कतिन्जेल गुन्जेला र ?

यहाँका परेवा,
पशुपतिमा शान्ती छर्छन |
पशुपति बाहिर
हाम्रा घरका परेवाका खोरमा
आजकल,
हावा अनि गुंज मात्र बाकि होलान |

यहाँका चिल अनि बाज,
मौका छोपेर बस्छन
यहाँका काग,
फुल चोर्छन |
गिद्दहरु,
पोज छाड्छन,
एउटा खुट्टामा उभिएर जिन्दगी ढुक्छन् |

त्यसैले,
आउनु र जानुको बिचमा,
साथ हुन्छ भन्नु कहिलेकाही भ्रम लाग्छ |

यहाँका चराहरु
टाइगर डाँडोको
भिस्याटमा बिस्ट्याएर,
महाबीर दाइको,
टोपी फोहोर पार्छन !

यहाँका डान्ग्रे हरु
साँझ पर्न साथ,
बाँस-घारीमा
जम्मा हुन्छन अनि
मोनोलग छांटछन् |
क का की की कु कु .. के कै कं क !

साइबेरियाका विदेशी चरालाई
मन परेको ठाउँ,
नेपाली चराहरुलाई,
खल्लो लाग्दो हो
झिजो लाग्दो हो |

यहाँका गौथली हरुले बनाउने घर,
सयौं बर्ष देखी,
उस्तै देखिन्छ |
राम्रो देखिन्छ होला |
परिवर्तन राम्रो की
न-परिवर्तन राम्रो भनेर के रुमलिनु छ र |
रुमलिने समयमा,
अर्को गुड बनिसक्ला |

एक ऋतुमा
एक सरकार
बदलिने हाम्रो देशमा,
बाँसघारी ताकेर,
दुई नाले बन्दुकले,
ड्याम्म हान्दा,
कति चरा उड्लान्
कति फटफटाउलान
अनि कति ढक्क
छाती फुलाउदै
म त गोर्खाली चरा पो त,
यस्ता नाथे ड्याम्म-डुम्म सँग डराउछु ?
कुर्लेलान !

यो नमिल्दो सुनिएला,
तर,
यहाँका चराले सोच्न थाले भने ?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.