~खोलाघरे साहिँलो~
आइतमानले सिमेन्टीको बोरामा थपक्क नाम्लो लगायो । फेदाङ्वाको सिमेन्टी अघि मात्रै साहुकोबाट ल्याएर बिसाएको थियो । भारी बोकेर उठ्न लाग्दा उसलाई अघि ल्याउँदाखेरीको भन्दा गह्रौँ लाग्यो । बल लगाएर तान्यो । उसकी श्रीमतीले भर्खरै मात्रै उसलाई एक डबका जाँड छानिदिएर सुँगुरलाई चारो खोज्न निस्केकी थिई । आजैदेखि उसका छोराछोरी पनि पढ्न स्कुल गईसकेका थिए । विद्रोहीहरूले शैक्षिक हड्ताल गरिदिएका थिए हिजोसम्म । आजदेखि सबैतिर खुल्ने हल्ला छरिएपछि सबै स्कुले केटाकेटी स्कुल गएका थिए । अहिले आइतमानलाई गह्रौँ भारी यसो घचेडी दिनेसम्म कोही भएन ।
जसोतसो बल लगाएर उठ्यो आइतमान । उठ्ने क्रममा निहुरिएको बेला उसका आँखा सधैँ जाँतो हालिएको कुनामा पुगेछन् । जाँतोको माथिल्लो चाहिँ फब्ल्याटो त्यहाँ थिएन, तल्लो मानी हुने फब्ल्याटो मानी ठड्याएर बसिरहेको थियो । आइतमानले यताउता हेर्न कर पाएन र सोध्नलाई छेउछाउमा कोही थिएनन् पनि । सोधिहाल्नु पर्ने पनि थिएन र सोधिहालेको भए पनि केही बिथोलिने थिएन । ऊ बिस्तारै बिस्तारै बाटो लाग्यो । पर्तिर खोरको छेउमा ऊ पुग्दा अघिदेखिनै चारो मागेर चुँचुँ गर्दैगरेका सुँगुर उसलाई देखेर अझै जोडले कराउन थाले । ऊ भने गइरह्यो । गोठमा मसिना एकहल बहर तल्तलाउँदै थिए । आइतमानलाई हतार भइरहेको थियो । फेदाङ्वाको सिमेन्टी पुर्याइदिएर उतै आज दिनभरि काम सघाउनुपर्ने थियो । ऊ भारी बोकेको तालमा बिस्तारै-बिस्तारै हिँडिरह्यो बजारको बीचबाट भएर । बजार पनि आज सबै खुलेको थियो । सडकमा पसल थाप्ने टमाटरवालाले पनि अघि नै पसल फिँजाइसकेको थियो । रविकर्णको शालिक छेउमा माछावालले पनि माछा बेच्दै थियो । जिरा, मसला, चुरा, टीका आदि बेच्ने बिहारी विजन्दरले पनि आफ्नो साविकको खटियामा सामान सजाइसकेको थियो । दस बजिसकेको हुँदा स्कुल र प्लस-टु स्कुलहरू लागिसकेका थिए । खेलमैदानमा प्लस-टुका केटाकेटी फुटबल हान्दै थिए । कतिपय भित्र टेबुलटेनिस खेल्दै थिए । चार पाँचजना प्लस-टु भवनको छतमा घाम ताप्दै बसेका पनि थिए । एक जना कुइरे र कुइरेनी खेलमैदानको ओल्लो छेउबाट माथि जरीबुटे डाँडातिर दूरबीन लगाएर पालैपालो केके हेरिरहेका थिए । ‘ अडसठ ‘ बूढा तिनीहरूसँग बात मार्दै गरेका देखिन्थे । अन्यान्य सबैको दिनचर्या यथावत चलेको देखिन्थ्यो ।
आइतमानले खेल मैदान नाघ्यो, सडक भेट्यो । सडकमा निस्कियो । दमकतिरबाट भारी बोकेर आएको एउटा ट्रक हर्न बजाउँदै उँभो लाग्यो । सडकछेउमा उसैलाई पर्खेर उभिएको जस्तो उसको सोनो छोराले उसकै छेउछाउ आएर भन्यो “बाबु हेर न ! मेरो त डटपेनले लेख्दै लेख्तैन।”
भारी बोकिरहेको आइतमानले छोरातिर हेर्न नघुमेरै भन्यो -“दिदीसँग अर्को सुइरो किनी मागेर लगा न !”
छोराले केही भनेन । एउटा हातमा डटपेनको मसी लत्पत्तिएको सुइरो र अर्कोमा डटपेनको ढुङ्ग्रो बोकेर मसी पोतिएको हात हेरिटोपल्दै पछि छोडियो। आइतमान गइरह्यो।
फेदाङ्वाकोमा पेटी बनाउँदै त्यसमा सिमेन्टी लगाउँदै गर्दा आइतमानको मेलो घरि उठ्नु पर्ने, घरि बस्नु पर्ने हुन्थ्यो। धेरै दिनपछि आज न्यानो घाम लागेको थियो। आइतमान बसेर कर्नी चलाईरह्यो। टुक्रुक्क बसेर निकैबेर काम गरेपछि उसले उठ्नु पर्ने भयो एकखेप। ऊ जुरूक्क उठ्दा उसलाई तिर्मिर भयो। आँखाअगाडि पुरै निष्पट्ट अँध्यारो भयो। उसलाई लढ्छु कि, पछारिन्छु कि जस्तो भयो। दुवै हातले टाउको थामेर ऊ फेरि टुक्रुक्क बस्यो। आँखा खोलेर हेर्न खोज्यो। आँखा अगाडि पहेँलो घेरो भएको एउटा टाटो बढ्दै बढ्दै गएर ठूलो घेरो भयो अनि त्यो घेराको मध्यभागमा कालो कालो थेग्लो पलायो। थेग्लो र घेराको बीचमा उज्यालो चमक देखियो। हेर्दाहेर्दै त्यो कालो थेग्लो जाँतोजस्तै भयो दुरूस्तै। त्यही एक फब्ल्याँटो जाँतो जुन उसले आफ्नो घरमा भर्खरैमात्र नदेखेको थियो।
“ए रात्तै ! हन म यो के देख्दैछु हँ ?” आइतमान आफैँ बर्बरायो। उसले हातमा लिएको कर्नी बिसायो। दुवै हातले एकैछिन आफ्ना आँखा मिच्यो अनि फेरि हेर्यो, झन् अचम्म। जाँतोको मानी पस्ने प्वालमा कागतेको लोक्ता उनेर बाँधिएको रहेछ र लोक्तामा त्यो जाँतो झुन्डिएको रहेछ। लोक्तालो उभोँपट्टिको छेउ उँभोउँभो आकाशतिर कहाँ हो कहाँ पुगेको रहेछ। त्यसको माथिल्लो किनार केमा बाँधिएर झुन्डिएको हो त भनेर बुझ्न आइतमानले कोसिस गर्यो तर अहँ, सकेन। त्यो लोक्तामा बाँधिएको जाँतो तुर्लुङ्ग भएर उसकै टाउकोमा अहिल्यै बज्रेला, झरेर किचीमिची पार्ला जत्तिकै थियो। आइतमान अनायास डरायो। उसले काम गर्नै छोड्यो।
त्यसैबेला उसकी छोरी र छोरो त्यहीँ आइपुगे। बाबुको घरिघरि आकाशतिर हेर्नुको अर्थ तिनीहरूलाई लागेन। छोरीचाहिँले छेवैमा आएर भनी- “बाबु ! बाबु ! भोलिदेखि हाम्रो जाँच अरे, आजलाई अध्ययन विदा भयो।”
आइतमानले छोरीले भनेको सुन्यो वा सुनेन वा सुनेरै पनि ध्यान दिएन कि ? दुवै उभिएकोबाट सिधै माथितिर हेर्यो र भन्यो – “तिमीहरूको टाउको माथि हेर त, के छ ?”
दुवैले आकाशतिर मुन्टो फर्काएर हेरे।
“अब्बुइ……….किच्छ।” उनीहरू दुवैले एकैचोटि भने र डराएर तर्किन खोजे। बाबुकै छेउमा आएर लेपासिए। आइतमानले छोरी, छोरो र आफ्नो शरीरमाथि छुट्टाछुट्टै जाँताहरू झुन्डिएको देख्यो। सबै जाँताहरू झरेर अहिल्यै किच्लान् जस्तो लाग्थ्यो।
“भागौँ ! हिँड।” आइतमानले भन्यो र भाग्न थाल्यो। दुवै नानीहरूले डराउँदै एकपल्ट आकाशतिर हेरे अनि झन् डराउँदै बाबुसँगै भाग्न थाले।
फेदाङ्वाका परिवार छक्क परे। केही पर्तिर पुग्न लागेको आइतमान र उसका छोराछोरीलाई फेदाङ्वाले कराएर सोध्यो – “हन कहाँ दगुरेको हँ तिमेरू ?”
आइतमानले जीउ नघुमाइकन पुलुक्क मुखमात्रै फर्काएर औँलाले आकाशतिर सङ्केत गर्दै भन्यो- “माथि हेर त ! तिम्रो टाउकोमाथि के छ ?”
फेदाङ्वा र उसका परिवारले उँभो हेरे अनि लगत्तै “अहोई !” भन्दै आइतमानकै पछि लागेर भाग्न थाले ।
उनीहरू सबै सडकमा आइपुगे । सडकमा हतियारधारी विद्रोहीहरूको ठूलो लस्कर दक्षिणबाट उत्तरतिर जाँदै थियो । आइतमानले भाग्दाभाग्दै देख्यो ती सबैका टाउकामाथि गोटैगन्ती जाँताहरू झुण्डिएका थिए । उसैसँग भागने अरूले पनि देखे । आफ्नु सामुन्ने र दायाँबायाँ परेका सबैका शिरमाथि त्यही अनन्त उझिण्डो भएको जाँतो झुण्डिएको उनीहरू देखिरहेका थिए र भागिरहेका थिए । मैदानमा गोल खेल्ने, क्याम्पसको कोठाभित्र टेबुलटेनिस खेल्ने भवनको छतमाथि घाम तापेर बस्ने सबै त्यो लस्कर कुदेको देखेर प्रश्नात्मक र चासोको रूपमा हेर्न थाले । आइतमान र उसको दौडिने समूहले हातले आकाशतिर इशारा मात्रै गर्यो । विद्रोही हतियारधारीहरूको एक जना नाइकेले उनीहरूलाई एकैछिन रोक्यो र सोध्यो –”तपाईँहरू किन दगुर्नुभएको कमरेड ?”
आइतमानले भाग्दाभाग्दै आफूलाई भाग्नमा व्यवधान पुर्याएकोमा धेरै रिसाउँदै भन्यो- “के सोध्छौ वित्थामा ? माथि हेर अगस्तीहरू । ऊ माथि, टाउकोमाथि हेर त !”
आइतमान सरकारी सेना आएकोमा ‘गस्ती ‘ भन्थ्यो । घरिघरि गाउँघरमा आएर दुःख दिइरहने हुँदा, खाना मागिरहेने हुँदा विद्रोहीहरूलाई चाहिँ ‘अगस्ती ‘ भन्ने गर्थ्यो । तर यो शब्द ठाडै विद्रोहीहरूलाई प्रयोग गरेको चाहिँ यसपाली मात्र हो । विद्रोहीहरूको नाइके रिसाउँथ्यो कि ? तर यसअघि नै आइतमानको इसाराले आकाशतिर हेर्दा त आफ्नो थाप्लोमाथि अनन्त उझिन्डो भएको जाँतो देख्यो । सबैले देखे । नाइकेले भिरेको बन्दुक यसैबेला पूरै अर्थहीन थियो, अनि उसले पढेको पदार्थविज्ञान वा द्वन्द्ववादी सिद्धान्तको यहाँ कुनै औचित्य थिएन। बन्दुक फालेर ऊ लगायत उसको जत्था नै भाग्न थाल्यो । दमक जाने ट्याक्सीहरू छिटोछिटो भाग्न थाले । एकैछिनमा बजार र आसपास सबै जथाभावी भाग्न थाल्यो ।
अब कसैले कसैलाई सोध्ने, पुर्पच्छे गर्ने सरोकार थिएन । सबैलाई आफ्नो थाप्लामाथि जाँतो हेर्दै भाग्ने गर्ने मात्र सरोकार थियो । घरिघरि उभिएर उँभो हेर्थे । जति भाग्यो भागेको सँगसँगै जाँतो थाप्लामाथि पुगेको हुन्थ्यो । भाग्दाभाग्दै आइतमान आफ्नो घर छेउको ढिस्कोमा पुग्यो। उसका छोराछोरी सँगसँगै आएका थिए । उसले एकचोटि उँभोतिर दृष्टि दियो । त्यो पहेँलो घेरा झनझन बढेर व्यापक भएको थियो । पर… पर कता हो आफूलाई सबैभन्दा ठूलो मान्छे हुँ भन्ने भ्रम बोकेर सुरक्षाका सैयौँ बन्दुकधारीहरूद्वारा घेरिएको व्यक्तिमाथि पनि त्यो जाँतो झुण्डिएकै थियो ।
त्यसैबेला त्यो जमात एकोहोरो भागिरहेको देखेर अचम्म मान्दै अम्लिसाको घाँसको भारी बोकेकी आइतमानकी श्रीमती त्यहीँ आइपुगी, सरासरी हिँडिरही । आइतमानले अत्तालिएर करायो- ” सन्चरानी ! औ सन्चरानी !!”
सञ्चरानी ठिङ्ग उभिई। आइतमानले सोच्यो- यसले घाँसको भारी बोकेकी छ, जाँतो खसिहाले पनि एकैतालमा त मर्दिन। प्रकटमा भन्यो- “हाम्रो जाँतो छैन त ? खोई हाम्रो जाँतो ? तिमी त सुँगुरलाई चारो खोज्न गएकी हैन र ?”
“जाँतो कुञ्जो लगाउन झिकेकी नि ! त्यहीँ त छ कुनामा। सुँगुरलाई चारो दिएर बाछालाई घाँस ल्याएको नि !” सञ्चरानीले यतिभन्दा नभन्दा आइतमान भागिसकेको थियो, ऊसँगै संसार भागिरहेको थियो। आइतमानले त्यहाँ पुगेर छोराछोरी पनि छोड्यो, एक्लै भागिरह्यो। ऊ कराउँदै कराउँदै आकाशतिर इशारा गर्दै गयो- “सञ्चरानी ! माथि हेर है ! टाउको माथि हेर है !!”
————————–
२०१३/३/१३ मा पाँचथर मौवामा जन्मनु भएका श्री खोलाघरे साहिँलाका तीन कृतिहरू, आज एउटा जुलुश निस्किँदैछ(कविता सङ्ग्रह), जिजीविषा – रिक्त/रिक्त (गजल सङ्ग्रह) र स्थापित/विस्थापित (कथासङ्ग्रह) प्रकाशित छन्। जीवन स्मृति प्रतिष्ठान र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, वाणी प्रकाशन विराटनगर का सदस्य रहनुभएका श्री साहिँला महानन्द पुरस्कारबाट पुरस्कृत हुनुहुन्छ।
(स्रोत : साहित्यसरिता डट अर्ग)