कविता : पाण्डुलिपि हराएको दिन

~रमेश क्षितिज~

निद्राको पक्षी गुँड सरेर
टाढा पुगेको होला जङ्गलको कुनै रूखमा
यता तातो तावाजस्तो ओछ्यानमा
रोटी सेकेझैँ शरीरलाई
कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी ।

कठै ! त्यसमै थिए मैले दशकभरि देखेका सपना
एउटा इतिहासको कालखण्ड देखिने ऐनाजस्ता अक्षरहरू
अनेकौँ ऊहापोह र आत्मकथाहरू
आँखामा भुसुनाझैँ ठुङ्न आइरहेछन् अनेक बिम्बहरू
अस्पतालको एक कुनामा रोइरहेकी छे कुनै स्वास्नीमान्छे
गर्भमै मृत शिशुको नीलो अनुहार हेरेर
अँध्यारो कोठाको एउटा कुनामा पढिरहेछ एक नेपाली युवा
आफ्नी विदेशी प्रेमिकाका शब्दहरू इमेलमा
जहाँ छ लेखिएको- प्रेमका लागि फुर्सद छैन मलाई
कृपया अब हामी साथीमात्रै बनौँ !
वा बाढीले काटेर बगर भइसकेको आफ्नो खेत हेरेर
उदास उभिइरहेछ कुनै किसान खोलाको किनारमा ।

कहिल्यै नभेटिने बालसखाजस्तो भएर
हराएको छ पाण्डुलिपि आज
कसैले निभायो होला चुरोटको ठुटो
नाबालकजस्ता उसका चोखा पन्नाका ओठहरूमा
वा कुनै खलनायकजस्तो पसलेले
जबर्जस्ती च्यात्यो होला लुगाजस्ता उसका आवरणहरू
गुन्डा हुरीले गलहत्यायो होला
वा कुल्चियो होला कि असिनाको सैनिक बुटले बेसरी

पाण्डुलिपि हराएको दिन
जीवनका बहुमूल्य दस वर्षरू त्यसै गुमाएँ मैले ।

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.