~यकिना अगाध~
एक गाउँको टोलमा कुकुरहरुको माझ उ नाइके थियो । अरु कुकुरहरुले उसलाई हियाएर हेर्न पनि सक्दैनथ्यो । उसको अभिमान यति उच्च थियो कि उसले आफूलाई यो टोलको मात्र नभएर संसारकै वीर ठान्दथ्यो ।
एकदिन पल्लोटोलको कुकुरहरुको नाइके ढलमलिँदै उसको टोलमा आयो । उ भन्दा खाइलाग्दो थियो । आफ्नो टोलमा ढलमलिँदै आएको देखेर उसले ङार्रा ङुर्रा गर्दै दाँत देखाएर तर्साउन खोज्यो । पल्लोटोले कुकुर नाइके तर्सेन । उल्टै उसलाई झम्ट्यो । उसले प्रतिवाद गर्न खोज्यो तर नसक्ने देखेर पछाडि हट्यो । मर्नुभन्दा सिस्नुको फेद पक्डनु बेस भन्ठानेर पल्लोटोलेका अगाडि उतानोटाङ फर्काएर उ कुइकुइ गर्न थाल्यो । दम्भले अन्धो भएका पल्लोटोले नाइकेले उसको मुखभरी पिसाब तुक्र्यायो र आफ्नो दाँजो गर्न लायक नसम्झेर घृणापूर्वक त्यहाँबाट हिँड्यो ।
वल्लोटोले नाइकेलाई पल्लोटोले नाइकेको त्यो पिसाब भने आशिर्वाद फलाउने अमृत बन्यो । पल्लोटोले बलिया बाङगा कुकुर नाइकेले उसलाई कुनै शारीरिक चोट नपुर्याइ यतिकै छाडि गएको देखेर उसको टोलको कुकुरहरु उदेखि झन डराउन थाल्यो । उसको स्वभिमान बनेको अभिमान पल्लोटोले कुकुरहरु र उसको नाइकेको अगाडि सुइकुच्च ठोके पनि आफ्नो टोलका कुकुरहरुका अगाडि भने झन् उच्चो भयो ।
त्यस दिनदेखि उ आफ्नो टोलको अरुभन्दा नामी नाइके बन्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )