~कौशिला रिसाल~
डुलेको याद आयो काफलको डाली डाली
बिझे काडा कति, खुट्टा हुँदा खाली खाली
ती यादका डुङ्गाहरू तर्दै छु आज म
सगालेर राख्छु अझै दिलबाट नफाली ।।
हिमालकी छोरी हु म, पहाड हो घर मेरो
हिउँजस्ती मनकी गोरी, नेपाली हो थर मेरो
मेरो भाषा सस्कृतिमा नेपालीको पन छ
थामेको छ काध, त्यही तराई हो भर मेरो ।।
छोड्न गाह्रो भयो, बस्यौ मनको मझेरीमा
पानी भर्ने निहुँ गरी आउन साझ पधेरीमा
तड्पिएर बस्न निकै गाह्रो पर्यो ज्यानलाई
लाउला माया सुटुक्कै कसले देख्छ अधेरीमा ।।
नजरमा नजर दियौ माया बसायौ यो मनमा
तिम्रो दिलको अमृत रस पसायौ यो मनमा ।
खुसी दियौ या दुःख, बुझ्न सकेको छैन अझै
फेरि किन यादका पलहरूले डसायौ यो मनमा ??
कहाँ गयो साच्चै, त्यो वनको चरी
सोचेको छु रमाउदै, होला कसरी ?
आउछ कि माया बोकेर फेरि मनमा
राखिरहेछु सम्झना मुटु वरिपरि ।।
डुलेको याद आयो काफलको डाली डाली
बिझे काडा कति, खुट्टा हुँदा खाली खाली
ती यादका डुङ्गाहरू तर्दै छु आज म
सगालेर राख्छु अझै दिलबाट नफाली ।।