~रमेश भट्टराई ‘सहृदयी’~
गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण
खाल्डोमा चातुर्य देख्थे क्यार
तलैया माटोमा ठडिएका अनन्य सपना
मानौँ घना जङ्गलको निष्पट्टता
चाहँदैन बस्न तर बाध्यता
गाउँको पाखो बारी बँझ्याएर
खाल्डोमा ओइरिएका तमाम विम्बमा
सुनौला सपना
अनेकौँ तर्कना
बेकामे र फुर्सदै नभएकाको जमात
धुलो, धुवाँ, अनकन्टार भिरभन्दा भविष्यकै कापमा
रुखो बजारमा भक्त, जोगी र मगन्तेको कलङ्क
वेश्यालय र बसपार्कमा लुट्ने गाडीका दलाली
होटेल, ट्याक्सीवाला, रक्सीवाला
मान्छे, कुमान्छे र सुमान्छेहरू
सपनामा हाम्फाल्ने खाल्डो
कति गहिरो ?
पेट र नोटको चर्को वर्गद्वन्द्वमा
माक्सदेखि व्यास सबै
मझैँ लाञ्छित् बनेर
जागिरसँगै गार्डको गाली दिने हुलमा
विवश बन्दै छन्– कति कति
वेदना, लाञ्छना, सम्मान र कल्पनाको घनचक्कर
दीनता र स्वाभिमानको घुस्साघुस्सी
बाध्यता र आशाका भद्रगोल स्वप्ना
लाग्छ, मान्छे हज्जारौँ वर्ष बाँच्छ
म सधैँ पानी, विरोधी आगो नै भइरहँदा
यो खाल्डो कति पापी
यो खाल्डो कति जाति
रमाउने र रुवाउनेको विरोधाभाष
बाँच्ने र कमाउनेको भीड
लास पोल्दा पनि भि.आइ.पी. लास रे
वैरागिने, चिमोटिने र लाञ्छित
हिमाल, पहाड, तराई छोड्ने महापण्डित
पशुपति, स्वयम्भूतिर
लक्कु बोक्ने लठ्ठुहरू
घर घडेरीको हानाथाप
नेता, झोले, ठूटे, ठ्याउकेहरू
खाल्डोको गफ बेचेर सोझा गाउँले ढाँट्छन्
यो खाल्डो, म खाल्डो खै… पुर्न गाह्रो ।
अँध्यारो छिँडी र लोडसेटिङरहित नेताजीका बिल्डिङ
पेट पाल्ने, चोर्नेदेखि घ्याम्पे पेटका निर्लज्ज
पसिना बगाउने र पसिना पिउनेको टाई सुटमा
थोत्रो पत्रु ढाका टोपीसँग
सानदार चिल्ला गाडीको विरोधाभाष
ती मार्क्सवादी पण्डित हुन् या समाज
क्रान्ति हो या हजुर्याइँ संस्कार
को बलवान् गधा कि गाई
भैँसी दूधका लागि महान्
गोरु खेतको महान्
म मान्छे हाम्फाल्ने खाल्डोमा न्याय जान्दिन
रातमासँगै सुत्ने कुकुरहरू
दिनमा प्लास्टिक टिप्दा खै किन लखेट्छन्
चिल्ला र चिप्ला मान्छेलाई
भुस्याहाले हजुर्याइँ छाँट्छ
सायद पेटको गेट खुला राख्नलाई
हुने खाने र हुँदा खानेका समानता– वेदना
अहो ! विचित्रको खाल्डोमा
गुरुत्वाकर्षणको विज्ञान छ
ईश्वरको साक्षात्कार
अत्याचारीलाई लुक्ने घारी
बनिबनाउ ठग्नेको सानदार पगरी
रिमोड कति चर्को… कुनाकन्दरा कँपाउँछ
देश परदेश हल्लाउँछ
यो मान्छे हाम्फाल्ने खाल्डोबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )