कथा : स्पर्श

~अर्जुन थापा~

‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर बुढो तल ओर्लिबक्सिन्छ ।

जिन्दगीमा कहिलेकाहीँ कोही अपरिचित व्यक्तिलाई पहिलो भेटमा नै यस्तो लाग्छ कि धेरै पहिलादेखि नै चिनजान भएको छ । अघि मलाई त्यस्तै फिलिङ्स आयो जब उनीलाई भेटेँ । उनीहरू दुवै श्रीमान् श्रीमतीलाई नदेखेको न बोलेको नै थिएँ । तर उनीलाई देख्दा कताकता आफ्नोपनको आभास भयो मलाई ।

‘भोलि शुक्रबार राम्रो दिन रे । भोलिकै साइत गरेर सर्ने रे । मैले पैँतिस हजार भनेको छु महिनाको भाडा । बत्ती र धाराको मिटरमा उठे अनुसार ।’ भन्दै बुढो सुक्ला हुनलाई भित्र गइबक्सिन्छ ।

नयाँ भाडावाला जो अघि साँझ आएका थिए । आउने कुराले मनमा प्रशन्नता छाएको छ । बुढो उतापट्टि पल्टेर अघि नै सुक्ला भइसक्यो । तर मेरो आँखामा खाई किन हो निद्रा परिराखेको छैन ।

भोलिपल्टको ताजा घामले मलाई जीवनको नयाँ अध्याय पल्टाइदिन मद्दत गर्छ । उनीहरू बिहानैदेखि सामानहरू ओसारी राखेका छन् । मेरो शरीर किचेनमा भए तापनि ध्यान पूरै तल उनीहरूमा नै थियो ।
‘होइन हजुर पनि कस्तो । यसो तल गएर केही हेल्प चाहिन्छ कि सोधिबक्स्योस् न । नयाँ ठाउँ उनीहरूलाई केही प्रोब्लम पो भएको छ कि !’ मेरो कुरा सुनेर बुढो केही नबोली तल गइबक्सिन्छ ।

एकछिन पछि म पनि गएर केकसो भएछ हेरेर आउनुपर्ला । हिजो एकैछिन हो भेटेर बोलेको । एउटै घरमा बसेपछि त फेमिली जस्तै बनेर बस्नुपर्छ नि । फेरि कस्ती चढेकी रहिछे भनेर सोच्लान् ।

ढोकामा डोरबेल बज्छ ।

‘दर्शन गरेँ हजुर । हजुरकोमा बस्न आएका छौँ हामी । काठमाडौँको रहनसहन त्यति थाहा भएन । केही कुरामा मिस्टेक भएमा हजुरले आफ्नै बहिनी सम्झेर सम्झाइबक्सेला । मेरो हसबेन्ड कामको सिलसिलामा धेरैजसो आउट अफ टाउन गइबक्सन्छ । त्यसैले हजुरहरू जस्तो फेमिली भएको घर खोजी हिँडेका थियौँ ।

एनि ओए, यो महिनाको एडभान्स पैँतीस हजार दिऊँ भनेर आएको ।’ भनेर उनी फर्किन्छिन् ।

झट्ट हेर्दा उनी र मेरो उमेरमा त्यति फरक थिएन । उनको हेराई, बोल्ने शैली र पहिरनबाट प्रस्ट थाहा हुन्थ्यो कि कुनै सभ्य घरबाट आएकी थिइन् ।

********

आज भन्यो भोली भन्दाभन्दै उनीहरू आएको पनि पूरै एक वर्ष भएछ । समयको क्रमसँगै उनी र म नजिक हुँदै गएका थियौँ । एउटै घर त्यसमा उनको श्रीमान् कामले गर्दा बढी भ्याली बाहिर नै बिजी हुने ! जसले गर्दा प्रायः माथि नै आएर हामीसँग घुलमिल हुन्थिन् । मेरो मुमाहजुरले पनि माया गरिबक्सिन्थ्यो उनीलाई । बुढोले त हामीलाई दिदीबहिनी नै भनिबक्सिन्थ्यो । हुन पनि हाम्रो केही हदसम्ममा फेस पनि मिल्थ्यो । हामी दुई अब जहाँ गए पनि सँगै नै हुन्थ्यौँ । हामीहरू एकअर्काको हरेक दुःखसुखका कुराहरू सेयर गर्ने भइसकेका थियो । मलाई उनको साथ पाउँदा अझ भनौँ उनीसँग समय बिताउन पाउँदा समय बितेको थाहै हुँदैन थियो ।

जीवनमा कोही कोही मान्छेहरू यस्ता भेटिन्छन् कि जसको साथ पाउँदा सबै पाएजस्तो हुने । हो, मलाई अब कविताको साथ पाउँदा त्यस्तै हुन्छ । उसले मलाई सम्झाउने, बुझाउने तरिका आदिबाट विगत आठ नौ वर्षदेखि दुःख र शोषणलाई आफ्नो छाला र मासुहरूमा गालेर शान्त बनेर बसेको म एकपटक फेरि नयाँ ऊर्जा थपिदिएकी छिन् उनले । एउटा बेसुध जीवन, दुःख र पीडाहरूले एउटा मार्मिक कथा भइसकेको म तर उनको आगमनले एउटा मलमको काम गरिराखेको थियो ।

झट्ट हेर्दा मलाई नपुग्दो केही छैन । श्रीमान्को ठाउँमा श्रीमान्, काठमाडौँ जस्तो ठाउँमा राम्रो घर, नोकरचाकर, गाडी । हरेक कुरा छन् र हरेक कुरा पुराइदिबक्सेको छ श्रमिान्ले छैन त केवल माया, समय र सम्मान । श्रीमान्ले मबाट सन्तान नहुने भएपछि अर्को बिहे गर्छु भनेर मसँग राखिबक्स्यो । प्रस्तावअनुरूप अर्को बिहे गरेर राखेको होइबक्सिन्छ । उहाँले पहिलो पटक दोस्रो बिहे गर्छु भनेर मर्जी हुँदा नै मेरो मन पटक्क भाँचिएको थियो । र, समयको सँगसँगै मेरा सपनाहरूलाई जलाउँदै गएँ मैले । मनभित्र र बाहिर दुवै जना परिसकेका थिए । मेरो शब्दहरू सबै सकिसकेका थिए । म दिनप्रतिदिन लाटी हुँदै गइराखेको छु भन्ने भान हुन थालिसकेकी थिएँ भित्रभित्रै ।

‘पुजा के गर्दै ?’ उनको प्रश्नले झसङ्ग हुन्छु ।

‘तिमीलाई नै कुरिराखेको थिएँ । आज केमा बिजी हो ? बिहानदेखि एक कल पनि कल गरिनौँ त ?’ म प्रश्न गर्छु ।

‘त्यस्तो केही होइन । ऊ आज फेरि पन्ध्र दिनको लागि बाहिर गयो । त्यसैको लागि उसको लुगाहरू मिलाई दिँदै थिएँ । त्यसैले अलिक लेट भयो ।’ सर्सर्ती इक्स्प्लेन गर्छिन् उनी ।

‘पन्ध्र दिनको माया बिहानभरि गर्दै बसेको भने भइहाल्न नि ! किन बहाना गर्नुप¥यो मलाई ।’ म जिस्क्याउँदै भन्छु ।

हामी दुई नै एकछिन हाँस्छौँ ।

‘ल ल अब एकछिन हाँसो बन्द गरौँ । आज मुमाहजुर गाउँ गइबक्सिन्छ । आज म पनि माथि एक्लै छु । त्यसैले बेलुका तिमी पनि माथि नै आउनू । बसेर वाइन पिउँला । तिमीले बनाएको चिकेन करी नखाएको पनि धेरै भयो ।

उनी र म भएर चाँडोचाँडो बजार गएर सबै सामानहरू ल्यायौँ । सँगै भएर वाइनसँग खाने स्न्याक्स बनायौँ ।

‘आज धुनधानले पानी पर्ला जस्तो छ । आकाश पूरै कालो भएर आयो ।’ उनी झ्यालबाट बाहिर हेर्दै भन्छिन् ।

‘द्यास्ट गुड, झन् रमाइलो हुने भयो नि । पानी परेको हेर्दै वाइन पिउन रमाइलो हुन्छ नि !’ म हाँस्दै भन्छु ।

बाहिर पानी परेकोले गर्दा चिसो चिसो भइराखेको थियो । वाइनको चुस्की लगाउँदै हल्का सानो साउन्डमा पुराना गीत सुनिरहँदा मन फ्रेस भइराखेको थियो । उनी हातमा वाइनको ग्लास बोकेर अझै बाहिरको दृश्य हेर्दैछिन् । म पनि उनीसँगै गएर उभिदिन्छु ।

सडकमा मान्छेहरू पातलिँदै गएका छन् । भुस्याहा कुकुरहरू निथ्रुक्क भिजेर सडक पेटीको छेउमा ओत लागेर बसेका छन् । कालो रात उपत्यकालाई निल्न खोजिराखेको छ ।

‘कति मिठो गीत छ यो । यसका हरेक शब्दहरू मेरै लागि लेखएर गाएको जस्तो लाग्छ ।’ भनी वाइन पिउँदै भन्छिन् ।

‘मलार्य त सधैँ र दिनको चार पाँच पटक सुने पनि धीत मर्दैन ।’ म उनको ग्लासमा वाइन थप्दै भन्छु ।

‘तिम्रो साथ पाएर म धेरै खुसी छु । नत्र निख्लाम बित्ने काठमाडौँमा बोरिङ दिनहरूदेखि मलाई डर लाग्छ । सधैँ एक्लै एक्लै ।’ स्वाट्ट पार्छिन् ग्लासको वाइन ।

आकाशमा ठूलो आवाजका साथ बादल गर्जिन्छ । उनी मलाई एक्कासि अँगालो हाल्छिन् । मलाई उनको अँगालो एकदम न्यानो छुट्टै सुखद् अनुभूति दिएजस्तो लाग्छ । जुन मेरो बुढोकोबाट कहिल्यै पाइनँ । बिस्तारै उनी मलाई चुम्न थाल्छिन् । उनको औँलाहरू मेरो शरीरभरि दौडिएको म प्रस्ट अनुभव गर्छु । एउटा निर्जिव मरेतुल्य शरीर मेरो उनको स्पर्शले पूर्णता पाए जस्तो अनुभव भइराखेको थियो ।

उनी जसोजसो भन्दै गइन् । म त्यस्तै गर्दै गएँ । म एउटा चरम सन्तुष्टिमा पुगिसकेको थिएँ, जुन मेरो बुढोबाट हुन सकेको थिइनँ । हामी ओछ्यानमा पूर्ण रूपमा एक आपसमा लिप्त भएर माया गर्दै रह्यौँ । जुन मायाको हामी दुवैले वर्षौँदेखि कुरिराखेका थियौँ । मेरो शरीरका प्रत्येक अंगहरूले वर्षौदेखि कुरिराखेको माया । भोलि के हुनेछ त्यो मलाई थाहा पाउनु छैन । तर म अहिलेको यो सुखद् अनुभूतिको पूर्ण रसपान गर्न चाहन्छु । म यस क्षणलाई कुनै हातलमा गुमाउन चाहन्न । हो, म मायाको भोगी छु । र, मलाई यसरी नै मायाको भिख दिँदै जाऊ । म तिमीमा पूर्ण रूपमा विलिन हुन चाहन्छु ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.