~प्रवीण राई जुमेली~
सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो
यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो
नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो
विडम्बनाको भीरमा वैरिएछ
‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि
अलिकति घामको किरण पनि माग्थ्यो ‘रे
नीलो आकाशलाई हेरेर त झन् सासै चुँडिन गाह्रो भो ‘रे
मर्दै गर्दा त्योसित एकान्तको साथ थियो ‘रे
सरीर मर्नलाई त एउटा ढुङ्गाको चोट नै मनग्गे
छुरीको एउटा सानो प्रहार नै मनग्गे
तर गीतबाट भाका नचुँडी
रुखबाट हरियो नखोसिई
कहाँ मर्छ र मन कहाँ मर्छ र मन
समयले भन्थ्यो ‘रे हामी अमर्त्यसेन-खोला सुकेको देख्छौं
असीम एउटा वानगोफ-बोध हराएको देख्तैनौ
हामी सुन्छौं पण्डित बजेको ज्ञानहरु
तरलताको अरुणालामा-रुदनहरु सुन्दैनौ
समयले त्यसै भन्थ्यो ‘रे
कति सुटुक्क मऱ्यो त्यो समयकै षडयन्त्रमा
कसैको गजप मुटुले देख्नै भ्याएन
मलामीको रमिता भर्न र विषादको काँध दिन पाएन कसैले
हिप्पोक्रेसी गन्हाउने फूल नै चढाउन आएन
कुनै भ्रमको महत्वकांक्षी हात
आस्था नामक सरौको सूचीमा पनि चडेन
राहत भनिने केही छद्म राशी
समवेदनाको साइटभरि बोधो कंक्रिटहरु ठडिन थालेछ अहो
मनको चिहानमाथि विस्मृतिको बनमारा उम्रिन थालेछ॥
-प्रवीण राई जुमेली
जुम बस्ती, पस्चिम सिक्किम