~केपी अनमोल~
बुवा म तिम्रै सन्तान हुँ,
अंश देऊ भनेर कुट्न आउनेलाई
आफ्नो ठान्नु हुन्छ ।
हेर्नु हुन्छ की भनेर,
शान्त भएर कुनामा बसेको छु
सदियौंदेखि ।
मेरो अवस्था पनि बुझिदिनु न,
आमालाई त थाहा छ तर,
बुवा ! तिमी भ्रममा छौँ ।
मेरा पुर्खा यही बितेका हुन,
त्यो शोषक मुखियाले
वास्ता नगरे रपो ! टुहुरा झैँ लाग्छ,
पुर्खाले तिम्रो सेवा गर्न मात्रै जाने
अधिकार माग्न जानेन,
त्यसैले आज म रुँदै कराउदैछु
आफ्नै बस्तीमा ।
धेरै केही चाहिन्न,
मेरै सन्तान हौँ भन्देऊ मात्रै
गर्वले छाती फुक्का फुल्थ्यो ।
तराईका फाँट मेरै पुर्खाले जोतेर
धान गहुँ फलाई,
पहाड समेत पालेको सत्य हो !
नाक खुमच्याँउनु पर्दैन ।
आज आ–आफ्ना राज्य मागे सबैले,
मैले राज्य होइन
अधिकार दिए पुग्छ भन्दैछु
खै जवाफ पाउँदिन होला ।
राजा रजौटा बिलाएर गए
कति मारिए,
तर, राज्य असल हुन सकेन
भन्दै,
नयाँ राजा बन्ने रहर नगर
किनकि प्रजा आफै राजा भइसके ।
चाहना सिङ्गो नेपाल
मेरै हो भन्नेछ,
यसो भन्दैमा पुरानै थिचो मिचो
सहिन्न अब ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)