“साहित्य समय र जीवनको ढुकढुकी हो र यसले आफ्नो जीवन आफ्नै शैली, आफ्नै ढंग र आफ्नै शर्तमा बाँच्न सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र नभएर अग्रजहरु र तन्नेरीहरु माझ पनि उत्तिकै परिचित हुनुहुन्छ। आफ्नो चञ्चल स्वभावका कारण बाल्यकालको पश्चिम नेपालको कैलाली तथा भारतको दरवंगा, चम्पारण मुजफ्फरपुर आदि शहरको बसाईका क्रममा पढाइमा रुचि नदिएको तर २०२७ सालमा दरवार हाइस्कूलमा कक्षा ७ मा भर्ना भइ अध्ययनलाई निरन्तरता दिंदै त्रीचन्द्र कलेजवाट राजनीति शाश्त्रमा स्नातक सम्मको अध्ययनको शैक्षिक पृष्टभूमी छ उहाँको। एसएलसी परिक्षामा हिसाव नआएपछि उत्तरपुस्तिकामा कवितालेखेर फेल भएको दुखद तर रमाइलो घटना सुनाउँदै २०२९ सालमा वासुरिमाल यात्रीले संचालन गरेको पुलचोक ईन्जिनियरिङ क्याम्पसमा आयोजित एक कवि गोष्ठिमा भूपी शेरचनसँग एउटै मञ्चमा कविता वाचन गरेवाट कवि गोष्ठिहरुमा सहभागि हुने क्रमले निरन्तरता पाएको कुरा उहाँ बताउनु हुन्छ।
३ वटा कृति बाहेक उहाँका धेरै गजलहरु पत्र-पत्रिकामा प्रकाशित भएर छरिएर रहेका भए पनि तिनका संग्रहहरु किन प्रकाशित गर्नुहुन्न भन्ने जिज्ञासामा उहाँ आफ्नो परिवारको हक लाग्ने सम्पत्तिलाई पुस्तक प्रकाशनमा खर्च गर्न नसक्ने कुरा बताउँदै आफ्नो जीवन, समय र सम्पूर्ण शक्ति भने साहित्य सृजनामा नै लगाइरहने अठोट ब्यक्त गर्नु हुन्छ। यस अघि उहाँको गजल संग्रह “खण्डर नयाँ नयाँ”-२०४९, मुक्तक संग्रह “अवतार विघटन”-२०४८ र प्रयोगवादि संयुक्त उपन्यास “अवतार विघटन”-२०४४ मा प्रकाशित भइसकेका छन् भने केहि गजल संग्रहका लागि उहाँले पाण्डुलिपि तयार पारिसक्नु भएको र प्रकाशक भेटेमा प्रकाशित गर्ने बताउनुहुन्छ। रेडियो नेपालमा प्रमुख कार्यक्रम प्रवन्धकका रुपामा कार्यरत उहाँ सानो परिवार- श्रीमति, एक छोरा र एक छोरी को साथमा गौशाला स्थित निवासमा बस्नु हुन्छ। हाल उहाँ आफ्नो जागिर वाहेकको अधिकांश समय साहित्य सृजना गरेर, नायाँ पुस्तकहरुको भूमिका लेखिदिएर र साहित्यिक कार्यक्रममा भाग लिएर बिताउनुहुन्छ।
उहाँ सँगको कुराकानि लाई हामी यहाँ प्रस्तुत गरेका छौ:
साहित्य के हो ?
साहित्य समय र जीवनको ढुकढुकी हो। जसरि पेटको भोक मेट्न खाना जरूरी छ त्यसरि नै मानसिक भोक मेट्न र आत्म सन्तुष्टिका लागि साहित्य बाहेक अरु केही छैन। आत्महत्या गर्न लागेको मान्छेलाई बाँचने हौसला दिन सक्ने र बौलाउन लागेकालाई दृष्टिकोण दिन सक्ने साहित्यमा कति शक्ति हुन्छ त्यसको अनुमान गर्न सक्नुहुन्न? साहित्यकार नष्ट हुन सक्छ तर परास्त हुन सक्दैन भन्ने प्रमाणित गर्न हेमिङले र परपिडनका कारण जीवन बाँच्न नसकेर भैरव अर्यालले आत्महत्या गरको अपवाद बाहेक कुनै साहित्यकारले आत्महत्या गरको घटना शायदै होला।
साहित्यमा कसरि लाग्नुभयो?
मेरो अवचेतन मनमा नै साहित्य प्रतिको रूचि थियो होला जस्तो मलाई लाग्छ। म बाल्यकालमा दाजुहरुले ल्याएको साहित्यिक किताव तथा पत्रिका अभिरुचि पूर्वक पढ्ने गर्थें त्यसले साहित्यिक यात्रामा मलाइ डोहोर्žयायो र यसै क्रममा २०२८ सालमा लेखक परशु प्रधान सँग मेरो भेट भएपछि उहाँ मार्फत धेरै साहित्यिक व्यक्तित्वहरुसँग संगत गर्ने मौका पाएँ त्यस पछि पढ्ने, लेख्ने, कवि गोष्ठीमा भागलिने कार्य आज पर्यन्त निरन्तर छ।
साहित्यमा नलाग्नुभएको भए के बन्नुहुन्थ्यो होला?
बिहान बेलुकाको छाक टार्ने र गुजारा चलाउने सामान्य एउटा जागिरेको रुपमस भिडमा हराउने थिएँ।
साहित्यमा लागेर के उपलव्धि हासिल भयो?
आर्थिक दृष्टिमा मैले पत्र-पत्रिकामा प्रकाशित रचनाको न्यूनतम पारिश्रमिक वाहेक केहि पाइन तर लाखौं खर्च गरेर पनि किन्न नपाइने अमूल्य आत्म सन्तुष्टि पाएँ। धेरै असल साहित्यिक मित्रहरु कमाएँ। यसले मलाई आफ्नो जीवन आफ्नै शर्तमा, आफ्नै ढंगमा र आफ्नै शैलीमा बाच्न सिकायो। साहित्यले म मा चेतना जगायो जसले गर्दा नै मैले आफ्नै बलबुतामा अध्ययन गरें । मलाई देश, समाज, र समुदाय प्रतिको दायित्वबोध साहित्यले नै गरायो।
त्यस समयको र अहिलेको साहित्यको अवस्थामा कति फरक छ?
त्यसबेला अध्ययन फेसन मात्र नभएर आवश्यकता थियो। कवि गोष्टीमा भागलिनु प्रतिष्ठाको विषय थियो। आफ्नो दृष्टिकोणलाई सन्तुलित राख्न साहित्यको भूमिका हुन्छ भन्ने कुरा त्यसबेलाका लेखक र पाठकले बुझेका थिए अहिले त्यसमा कमि आएको जस्तो लाग्छ। अहिलेका लेखकहरुमा चाँडै प्रसिद्धि कमाउने व्यग्रता पनि देखिन्छ । साहित्य मा मौलिक पन हुनु पर्छ, समय र जीवनको ढुकढुकि हुनुपर्छ तर कतिपय लेखक हरुले विदेशि साहित्यको मात्र नक्कल गरको पाइन्छ त्यसलाई बौद्धिक तस्करि भने हुन्छ।
हालका दिनमा साहित्यमा युवाहरुको रुचि नदेखिएको किन होला?
एउटा कारण त विद्यतीय सञ्चार माध्यम र मनोरञ्जनका वैकल्पिक साधनको बाढिले पनि हो। जीवनयापनको लागि मान्छे विभाजित छन् आफ्नो पेशा, ब्यापार, पढाइ वा पारिवारिक दायित्वमा, जसले गर्दा उसले प्रशस्त समय दिन सक्दैन, साहित्यमा पर्याप्त लगानि गर्न सक्दैन। अर्को पक्ष भने साहित्यकारले आफ्नो रूचिको एक विधामा दक्षता हासिल गर्न अग्रसर हुनुको बदला सवै विधामा कलम चलाउने रहर गर्नाले स्तरियता खस्कनु पनि हो।
साहित्यलाई पेशा बनाउनु हुन्छ कि हुँदैन?
अन्य देशमा भएको छ भने नेपालमा किन नहुने र? पाठकको माग अनुसारको साहित्य दिन सके यो व्यवसायिक बन्न सक्छ। तर पाठकको मागलाई शालिन बनाउने र उसको रुचिलाई सुरूचि बनाउने दायित्व पनि साहित्यकारकै हो। लेखकले पाठकको नाडि छाम्न सक्नु पर्छ र उसलाई के दिने भन्ने सहि निर्णय पनि गर्न सक्नु पर्छ।
साहित्यको पेशागत विकाश गर्न सरकारि वा नीजि क्षेत्रबाट हाल सम्म कस्ता पहल भएका छन् ?
साझा र एकेडिमिको भूमिका सन्तोषप्रद छैन। कर्मचारीहरुमा जागिरे मनोवृति छ । एउटा उदाहरण पाठकले खोजेको किताव त्यहि छ भने पनि खोजेर निकालेर दिन अल्छि गर्ने साझाका कर्मचारी बाट कसरि सहयोगि भूमिका होला र? एकेडेमिमा पनि पहुँचवालाको मात्र प्रकाशन गरिने प्रवृति हावि छ।
हाल नीजि क्षेत्रबाट स्थापित “सृजनशील विवेक प्रकाशन” ले लेखकको २०% लगानिमा प्रकाशन गरेर उसलाई ३०० कपि दिने र बाँकी प्रतिहरु आफूले लिने गरेको छ। यसलाई व्यवसायिकताको प्रारम्भिक पृष्ठभूमी मान्न सकिन्छ।
तपाई गजलकार हुनुहुन्छ, गजल, कविता र गीतको भिन्नता बताइदिनुहुन्छ कि ?
संरचनागत अन्तर छ। उत्पत्तिको दृष्टिवाट हेर्दा गजल फारसि साहित्यको कोखमा जन्मेर भारत हुँदै नेपाल प्रवेश गरेको हो भने कविता हाम्रो माटोको उपज हो । आदिकवि भानुभक्तको समय देखि नै कविता नेपाली माटोमा भिजिसकेको छ भने गजल यहाँ प्रकृतिउन्मुख अवस्थामा लोकप्रिय बन्दैछ।
गीत र गजललाई तुलना गर्दा दुवै गायको सुरमा ढालिने भएकोले केहि समानता अवश्य पाइन्छ। तर गीत सुगम साहित्य हो र यसमा लचिलोपना छ भने गजलले शास्त्रिय संगीतसँग सम्वन्ध राख्नु को साथै संरचनागत नियममा बाधिएको हुन्छ।
कवितामा र गजलमा पनि छन्दका नियमहरु तोडिनु कति जायज छ?
नियम तोडिनुलाई त जायज भन्न सकिन्न तर नियमलाई मात्र पछ्याएर भाव पक्ष र कलात्मक पक्षलाई बेवास्ता गरिनु पनि हुँदैन। गजलको स्वरुप भनेको शरीर जस्तो हो र कला र भाव भनेका प्राण र आत्मा जस्तो । गजलमा विषय वैवध्यता हुनु पर्छ र संरचनागत पक्ष, कला पक्ष र भाव पक्ष सवैलाई महत्व दिइएको हुनुपर्छ।
साहित्यका अन्य विधा भन्दा गजलमा युवाहरुको रुचि हुनु को कारण के होला?
गजल अभिव्यक्तिको लागि सरल, शशक्त र प्रभावशाली छ। यो लोकप्रियताको प्रारम्भिक चरणमा भएकोले पाठकहरुको रूचिहुनु स्वभाविक हो।
साहित्य र राजनीतिको कस्तो सम्वन्ध हुन्छ?
रजनीतिले साहित्यलाई डोहोर्žयाउनु दुर्भाग्यपूर्ण हो। राजनीति लाई साहित्यले प्रभाव पार्नु पर्ने हो तर लेखक तथा कविहरुले स्वाभिमान र आत्मसम्मानको मूल्य नबुझ्दा त्यसो हुन सकेको छैन।
प्रज्ञा प्रतिष्ठनमा पनि राजनीतिको प्रभाव हो?
कोटा सिस्टम लागु गरेर पार्टीका समर्थकहरुलाई प्राज्ञ बनाउने चलनलाई अरु के भन्न सकिन्छ र? यस बाहेक प्राज्ञहरुलाई दिइने आजीवन भत्ता र पाठक तथा नवोदित लेखकहरुको पदासिन साहित्यकारलाई मात्र महत्व दिनाले पनि पदलोलुपतालाई बढाएको पाइन्छ, यो पनि विकृतिको कारक हो। प्राज्ञहरुले पनि निष्ठपूर्वक आफ्नो दायित्व पूरा गरेकाछन् भन्न सकिन्न। म प्रज्ञा प्रतिष्ठानसँग केदारमान व्यथितको कार्यकाल (२०२७) देखि निकट छु र कार्यशैलीको सन्दर्भमा त्यसवेला र अहिलेको अवस्थामा कुनै भिन्नता छैन।
प्राज्ञ छनौटको हालको प्रक्रिया कस्तो छ र कस्तो हुनु ठिक हो ?
अहिले दाँत फुस्केका, अल्सर भएका, उमेर ढल्केर लेख्न छोडेका हरुलाई छनौट गरिन्छ । साहित्यिक बृद्धाश्रम बनेको छ प्रज्ञा प्रतिष्ठान। नपाउने ले विरोध गर्ने चलन त चलिआएकै हो। छनौट गर्दा कार्यक्षमता, साहित्यमा लगानी गरेको उमेर र प्रतिभा, यसमा दिएको Genuine कुराको मूल्याङ्कन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली भाषा र साहित्यलाई परिचित गराउन सक्ने व्यक्तित्वहरुलाई नै गरिनु पर्छ।
हाल पुरस्कार र सम्मान बदनाम भए जस्तो प्रतित हुन्छ नि त्यसमा यहाँको कस्तो धारणा छ?
पुरस्कार भनेको जुनेली रातमा हिंड्दा तपाईलाई पछ्याउने छायाँ हो। आफ्नो बाटोमा निरन्तर हिंडिराख्यो भने यसले तपाईलाई पछ्याइरहन्छ, पछाडि फर्केर त्यो छायाँलाई समाउन खोज्नुभयो भने तपाईबाट भागिरहन्छ। केहि अपवाद होलान नत्र साहित्य मात्र एउटा यस्तो क्षेत्र हो जसमा सहि ब्यक्ति नै पुरस्कृत र सम्मानित भएका छन्। दुर्भाग्य नै मान्नु पर्छ जुन विश्व सामु नेपाललाई परिचित गराउन सक्ने साहित्यलाई सरकारले बेवास्ता गरेको छ।
अन्त्यमा तन्नेरी पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
नवोदित साहित्यकारहरुलाई तुरुन्तै प्रतिफल खोज्ने र चाँडै चर्चित हुने व्यग्रता र अधिरताले साहित्य र लेखक स्वयंलाई समेत हानी गर्ने कुराको हेक्का राखि काम गर्ने सल्लाह दिन चाहन्छु। अन्य युवाहरु जसले साहित्यलाई बुझेको छैन उनीहरुलाई म भन्न चाहन्छु कि आफ्नो दृष्टिकोण सन्तुलित राखेर तनावमुक्त जीवन बाँच्न साहित्य अति आवश्यक छ तसर्थ यसलाई पढ्नु र बुझ्नु जरुरी छ।
प्रस्तुती : बिपिन शर्मा
(स्रोत: तन्नेरी डट कम – Issue 18 – Jestha, 2063)