~पूर्ण ओली~
‘को हो यो किचकिच गर्ने ? अरु काम छैन यसको ?’
भर्खरै हाम्रो कार्यअवस्थाको निरीक्षण गर्न आएका थिए निर्देशक कृष्ण बजगाईं । केही निर्देशनहरु दिएर उनी कोठाको द्वारबाट एकपाइला मात्र बाहिर निकालेका थिए । त्यहीबेला शम्भु दाइले निर्देशकको अपहेलना गरिहाल्नु भयो ।
मैले दाइलाई कोट्याउँदै कानमै फुसफुसाएँ, ‘नकराउनू न दाइ, उनी हाम्रो निर्देशक हुन् । यतै कतै होलान्, सुने भने बित्यास् पर्छ ।’
‘भए के त ? हुँ… तँ फुच्चेले मलाई सिकाइराख्नुपर्छ ? सुने यत्रै सित्ति !’ दाइ झन् कडा स्वरमा जङ्गनिुभयो । उहाँको तिखो जवाफले कृष्ण सरलाई कताकता घोच्यो होला ! म डरले खङ्ग्रङ्गै भएँ ।
कृष्ण सर आपूर्ति विभागको निर्देशकका रुपमा आइपुगेको एक हप्ता पनि भएको छैन । यस विभागमा पदार्पण गर्ने जोसुकैको पहिलो विस्तृत चिनाजानी शम्भु दाइसँगै हुन्छ ।
म शाखा प्रमुखको कोठामा जरुरी काम नपरी छिर्दिनँ । पसेँ भने त्यो कोठाबाट बाहिर निस्किनेबित्तिकै दाइले आरोप भिडाइहाल्नुहुन्छः “स्साला चम्चे ! कति भाग पाउने भइस् त ? नढाँटेर भन् ।”
मलाई नीलोकालो भई जवाफहीन देखेपछि उहाँ खित्खिताहट छोड्दै भन्नुहुन्छः ‘नडरा, नडरा, थाहा छ, तँ पाजीले एक पैँसा पनि पाउँदैनस् । तँलाई यिनीहरुले साँच्चिकै गधा बनाएका छन् । महिनावारी तलबको रुपमा एक बटुको कुँडो बाहेक अरु केही पाउने लायकको छैनस् । तँ पनि मजस्तै होस् ।’ त्यसपछि उनी गडगडाएर हाँस्थे ।
***
शम्भु दाइ पहिले दर्ता शाखामा हुनुहुन्थ्यो । करिब एक महिना त्यो शाखाको अनुभव बटुलेर यहाँ आएको दुई हप्ता जति मात्र भएको छ ।
पदको हिसाबले उहाँ पनि म जस्तै नायब सुब्बा नै हुनुहुन्छ । यस अर्थमा हामी बराबर हैसियतमा छौँ । तर, उहाँले मलाई ‘तँ’ र ‘फुच्चे’ ले सम्बोधन गर्नुहुन्छ । मेरो उम्मेरभन्दा उहाँको उमेर ठ्याक्कै दोब्बर छ र अब रिटायर्ड हुन दुई वर्ष मात्र बाँकी भएकाले मेरो कुनै आपत्ति छैन यस सम्बोधनमा । यस कार्यालयमा अरु कसैसँग पनि उहाँसँग उति बोलचाल हुँदैन । जेभए पनि यस अफिसमा एउटा असल श्रोता मलाई पाएर उहाँ खुशी हुनुभएको बुझेको छु मैले ।
हाकिमलाई देख्नुभयो भने मुखतिर नहेरेर एकातिरको काँधमा जम्लाहात अड्याउँदै छिटछिटो ‘मस्का..!’ भन्नुहुन्छ । हाकिमले नमस्कार फर्काउन् वा नफर्काउन् वास्तै नगरेर हात झ्वाट्ट तल झारिहाल्नुहुन्छ । अरु कसैलाई पनि नमस्कार गर्ने बानी छैन उहाँको । गर्ने पनि कसरी ? निर्देशकहरुलाई ‘मूला’ भनेर सम्बोधन गर्नुहुन्छ । शाखा अधिकृतसम्मलाई ‘बज्रस्वाँठ’ भन्नुहुन्छ र बाँकीलाई ‘चण्डाल’ वा लिङ्गअनुसारको अश्लीलताका पराकाष्ठाका दुईचार शब्दहरु भिडाउनुहुन्छ ।
म अनुमान गर्छु मेरो ठाउँमा अरु हुन्थ्यो भने उहाँसँग हात हालाहाल भई छाड्थ्यो वा बोलचाल कुनै हालतमा हुँदैनथ्यो ।
उहाँको झण्डै छत्तीस वर्षको सरकारी जागिरको अवधिमा ३५ वटा विभागस्तरीय कार्यालयहरुमा काम गरिसक्नुभएको मलाई थाहा भैसकेको थियो । ती विभागमा काम गर्दा हरेक मन्त्रालयमा काजमा तानिएको प्रसङ्ग घत लाग्दा छन् । अनुगमनको क्रममा जिल्लास्तरमा पुग्दाका झण्डै पाँचसय कार्यालयका कर्मचारीहरुसँगको भेटघाटको भिन्नाभिन्नै वर्णन अत्यन्तै रोचक हुन्छ उहाँको । मानौँ उहाँ ती सबै कर्मचारीहरुको जरैदेखिको खोजपड्ताल गर्नुभएको छ ।
उहाँ जुनजुन अफिसमा पुग्नुभयो, सामान्यतया कुनै कर्मचारी पनि उहाँसँग हात हालाहालको स्थितिबाट चुकेको छैन रे । आईलाग्नेलाई जिन्दगीभर पछुताउने गरी ठीक पारेको बताउनुहुन्छ उहाँ । हुन पनि बूढो उमेरमा पनि हात्तीकै जस्तो ह्ष्टिपुष्ट शरीर छ । उहाँको स्वाद चाखिसकेका र स्वादको विषयमा सुनेकाहरु दोहोर्याएर उहाँसँग मुलाकात गर्न हत्पत्ति तयार हुँदैनन् रे ।
तालुक निकाय, अख्तियार, सतर्कता केन्द्र र यस्तै अनुगमनकर्ता निकायको त नाम आयो कि आगोझैँ दन्किहाल्नु हुन्छ र त्यस्ता अफिसका कर्मचारीहरुलाई भएभरको निम्नस्तरको गाली दिइसकेपछि नजिक जो छ, उसैलाई जथाभावी गाली गरेर आफ्नो रीस थामथुम पार्न थाल्नुहुन्छ । उहाँकै शब्दमा यस्तै ‘चण्डालहरु’ले गर्दा हाम्रो देशको हालत यति खराब भएको हो भन्ने उहाँको निश्कर्ष रहन्छ ।
‘मूला’को अर्थ के हो थाहा छ ? तँ फुच्चे बुद्धुलाई ?’ मैले उहाँको कुरामा ध्यान दिएर सुनेको छु छैन चेक गर्नुहुन्छ बेलाबेला ।
‘किन नबुझ्नु ? अचार खाने लामोलामो सेतोसेतो रङको तरकारीको जात त हो नि ।’ मैले जवाफ दिइन भने उहाँ झनै रौऽ रुप धारण गर्नुहुन्छ भन्ने प्रष्ट थाहा छ मलाई ।
उहाँ मेरो जवाफ सुन्नेबित्तिकै पेट मिचिमिचि बेसरी हाँस्नुभयो र बाँकी बचेखुचेको ल्वाप्पा खुवाउन भयो । ‘ई ! जानिस् । मालदारहरुको अपभ्रंश रुप मूला हो, बुद्धू, त्यसैले त त्यो अघि किच्किच् गर्नेलाई मूला भनेको हुँ मैले । तँलाई र मलाई हेर् न यस शाखामा थन्क्याएर ढाल तुल्याएका यिनीहरुले ।’ निर्देशक कृष्णसरप्रति उहाँको दृष्टिकोण बारे अलिकति प्रष्ट हुन्छु म ।
एकपटक सडक र एकपटक एउटा प्रोजेक्टमा जाने अवसर पनि पाउनुभएको रहेछ उहाँले । तर दुवै अड्डा खारेज भइसकेका परेछन् । त्यसपछि त त्यही मानकको आधारमा त्यतातिर कहिल्यै पालो आएनछ उहाँको ।
‘यो त अति बदमाशी होइन यी चण्डालहरुको ?’ मबाट समर्थन खोज्नुहुन्छ उहाँ । हैन भनूँ भने मारिहाल्नुहुन्छ । हो हो, नभनी धरै पाउँदैन ।
यस शाखामा उहाँको सरुवा भएको दिनदेखि उहाँको अचानो भएको छु म । आउनेबित्तिकै उहाँले दुई लोप्पा मलाई खुवाउँदै भन्नुहुन्छः ‘ईऽऽ! खाइस् !’ र उहाँसँग बिदा हुँदा पनि सोही सम्बोधनले दुई लोप्पा खुवाएर मात्र विदा दिनुहुन्छ मलाई ।
***
विभागीय कार्यतालिका बमोजिम आज शुक्रबार भएकाले बजार अनुगमन गर्ने पालो छ । पत्र प्राप्त भइसकेको छ ।
“श्री शम्भुप्रसाद प्रधानाङ्गजी,
तपाईँको नेतृत्वमा खटिएको टोलीले काठमाण्डौका निम्नानुसारका बजारहरु अनुगमन गर्नुहोला ।”
तल मेरो नाम पनि छ र मुख्यमुख्य बजारहरुको नाम पनि लेखिएको छ । उहाँको नामको पत्र भए पनि कार्यालय सहयोगीले उहाँको पत्र मलाई नै बुझाएर निस्कन्छन् । मैले सो पत्र उनको टेबुलमा राखिदिन्छु । पत्र के विषयको छ गन्धैबाट उहाँलाई थाहा भइसक्छ । कोठाभित्र उहाँको विरुद्धमा बोल्नु र हाँस्नु बर्जित छ । तसर्थ त्यो पत्र बुझाउने चतुर कार्यालय सहयोगी पनि ढोका बाहिर पुगेर मात्र मरीमरी हाँस्न पाउँछन् ।
जिल्ला प्रशासन, आयल निगम, नेशनल ट्रेडिङ वा साल्ट ट्रेडिङका प्रतिनिधिहरु आइपुगेपछि “शम्भू सर, जाऔँ है त ।’ भन्ने सामान्य औपचारिकता पूरा गरेर हामी बाहिर निस्कन्छौँ । बाहिर पाँच मिनेट जति पर्खिँदा पनि उहाँ नआउनुभएपछि हामी अनुगमनको लागि रवाना हुन्छौँ । बजारमा नपुगुन्जेल हाम्रो कुरा शम्भु दाइकै विषयमा केन्द्रित हुन्छ ।
भर्खरै फेसबुक युगको थालनी भएको छ । अन्य परिवर्तनका कुराहरुमा अनुभवी सिद्धहस्त कर्मचारीहरु दुई टाङ पछि सरे पनि फेसबुकको दिलचस्वीमा भने अरु नवीनधारका कर्मचारीभन्दा यी पुराना धारका कर्मचारीहरु चारटाङ अघि नै छन् शुरुदेखि नै । र शम्भु दाइ पनि यसमा उत्तिकै दिलचस्वी राख्नुहुन्छ ।
अहिले अनुगमन सनुगमन त्यागेर उहाँ फेसबुकमै जोत्तिएको कुरा उहाँले भर्खरै शेयर गरेका स्टाटसहरुबाटै छर्लङ्गै हुन्छ । फेसबुकमा हालिएका व्यंग्य, आक्रोश, आलोचना, गाली, बेइज्जती आदि उहाँले तुरुन्तै शेयर गरिहाल्नुहुन्छ र दिनभरिमा कति लाइक वा कमेन्ट आए भनी गनेर बस्नुहुन्छ । यस्ता प्रकारका स्टाटसले अरु नीतिपरक स्टाटसलाई ओझेलमा पारेका हुन्छन् । सायद त्यो अफिसमा सबैभन्दा बढी सूचनाप्रविधिका ज्ञाता पनि उहाँ नै हुनुहुन्थ्यो ।
त्यसपछिको प्रविधिको ज्ञाता हुनुहुन्थ्यो नरोत्तम सर । एकपटकको कुरा हो कसैले उहाँको कम्प्युटरको डेस्कटपमै आपत्तिजनक भिडियो डाउनलोड गरिदिएछ । प्रविधिको जतिसुकै ज्ञाता भए पनि उहाँको बुद्धि र बर्कतले त्यो भिडियो मरीगए बन्द भएन । बन्द गर्नको लागि अफिसका हरेक पुरुष कर्मचारीहरुलाई हारगुहार गर्नुभयो उहाँले ।
पालैपालो पुरुष कर्मचारीहरु त्यो भिडियो बन्द गर्न उहाँको कोठामा जम्मा भए । कसैको बुताले भ्याएन । त्यसताका एकजना लेडिज हाकिम हुनुहुन्थ्यो । सबै नरोत्तम सरको कोठामा पालैपालो पस्न थालेपछि शंका लागेर पसिहाल्नुभएछ । अनि त के हेर्न सक्नु र ! उपस्थित कर्मचारी सबैको होश नै उड्यो ।
उपस्थित सबैलाई स्पष्टीकरण सोधियो । शम्भु दाइ भने यस्ता अश्लील र अनाचारका कुराहरुबाट टाढै रहनुहुन्थ्यो । उहाँ मात्र बच्नुभयो । हाकिम साबले भिडियो डाउनलोड गर्नेको जागिरी नै उडाइदिने घोषणा गर्नुभयो । यो कुरा कसरी थाहा भयो कुन्नि, शम्भु दाइले नरोत्तम सरको कोठामा जङ्गदिै पस्नुभयो र कम्प्युटरलाई एक लात हिर्काउनुभयो र भन्नुभयोः ‘अन गर्नेबित्तिकै छाडा हुने ‘चण्डाल’ लाई खाँद स्टोरमा ।” तत्पश्चात् त्यस कम्प्युटरको त्यसरी नै व्यवस्थापन गरियो । यसबाट कर्मचारीलाई के ज्ञात भयो भने मान्छे मात्र होइन, पशुपन्छी र निर्जिव वस्तुलाई समेत पनि चण्डाल भन्ने त उहाँको थेगो पो रहेछ ।
यो घट्नाको अनुसन्धान पनि थालियो । जतिसुकै गहन खोजपड्तालबाट पनि श्रोत पत्ता लाग्न नसकेकोले त्यो घटना त्यत्तिकै सेलाएर गयो ।
अन्य कार्यालयका प्रतिनिधिहरुले पनि शम्भु दाइकै विषयमा चासो राख्थे र मैले व्यहोरेको कुरा बताइदिन्थेँ ।
***
बिस्तारै बिस्तारै शम्भु दाइ र म चिया वा खाजा खान सँगसँगै बाहिर निस्कन थालेका थियौँ । उहाँले आफ्नो जागिर अवधिका धेरै तीता अन्यायपूर्ण दुखेसोहरु पोखिरहनुहुन्थ्यो । आफ्नोतर्फबाट बोलिदिने मान्छे कोही नभएकाले शक्तिमा हुनेहरुले आफूजस्तो एउटा सोझो मान्छेलाई मात्र थाङ्नामा बारम्बार सुताइरहँदा आफू मानसिक तनावमा भइरहने बताउनुहुन्थ्यो । हामी दुवैको साथ र आपसी सहयोगले गर्दा उहाँको शुरुको अभद्र व्यवहारमा विस्तारै परिवर्तन आइरहेको थियो र अफिसियल काममा पनि अलिअलि दिलचस्पी दिन थालिसक्नु भएको थियो ।
कुनै-कुनै बेला आफसे आफ बाङ्गनिुहुन्थ्यो र मलाई सजग गराइरहनुहुन्थ्योः “हेर्दैजा, जागिरको अन्तिम अवस्थामा तँपनि मेरो जस्तै हालतमा पुग्नेछस् बुझिस् ? म त्यत्तिकै नकारात्मक सोचको थैलो किन बन्थेँ र ? मैले गर्न खोजेका कामहरुको कहिल्यै उचित मूल्याङ्कन भएन । फटाहा धुर्त र सोर्सफोर्सवालहरु मात्र पुरस्कृत भइरहे मैले किन काम गर्ने ?”
उहाँले यसरी प्रभावित गरिरहनुभएको थियो कि मलाई यो मैले पनि शम्भू दाइलाई नै बढी जाती देख्न थालिसकेको थिएँ । एक डेढ हप्तामै किन किन शम्भू दाइ अफिसको सबैभन्दा मनपर्ने कर्मचारीमा दरिइसक्नुभएको थियो मेरो लागि । मैले अब उहाँलाई साँच्चिकै संरक्षकको रुपमा देख्न थालिसकेको थिएँ । केही काम गर्दा उहाँलाई सोध्न थालेको थिएँ मैले । उहाँको अफिसियल गतिविधिहरुमा आक्रोस घट्दै गएको थियो । फेसबुकमा ज्ञानगुण र धर्मका कुराहरु शेयर गर्न थाल्नुभएको थियो । अब हाँसेर पनि कुरा गर्ने भैसक्नुभएको थियो । सधैँ डरलाग्दो जुम्सो देखिने अनुहारमा आक्कलझुक्कल मुस्कान फुल्न थालिसकेको थियो ।
***
शम्भु दाइको र मेरो जोडी धेरै दिनसम्म भने टिक्न सकेन ।
एक दिन प्रशासनका शाखा अधिकृत रामप्रसाद सरले मलाई बोलाउनुभयो भन्ने खबर आयो । म उहाँको कार्यकक्षमा पुगेँ । उहाँले प्रस्ताव राख्नुभयोः “आजको कार्यक्रममा उदघोषकको भूमिका निभाइदिनुपर्यो तपाईँले ।”
“के कार्यक्रम छ र सर आज ? मैले त कहिले पनि उदघोषण गरेको छैन ।”
“शम्भु दाइको बिदाइको कार्यक्रम छ क्या, तपाईँले नै गर्नुपर्छ उदघोषण आज ।”
शम्भु दाइको बिदाइ भन्नेबित्तिकै म छाँगाबाट खसेतुल्य भएँ, ‘दुई महिनामै कसरी उहाँको सरुवा हुनसक्छ ?’, म भित्रभित्रै बेसरी घोचिएँ । मैले आफूलाई नितान्त एक्लो महशुस गरेँ । मेरो पाइतालामुनिको भुइँ फनफनी घुम्न थाल्यो ।
‘कसको के लाग्छ, सरुवा भैहाल्यो अब । त्यतातिर छाडिदिनुस् । उद्घोषणको तयारी गर्नुहोस् । तीन बजे उहाँलाई विदाइ गर्नुपर्छ ।’
‘हुँदैन सर । कदापि हुँदैन । म आजसम्म कहिल्यै पनि मन्चमा समेत उभिएको छैन । यो उद्घोषण मबाट हुँदै हुँदैन । यहाँ अरु कर्मचारी छैनन् ? प्रशासन शाखाका कर्मचारीहरु छैनन् ? कर्मचारी संगठनमा सदा अगाडि देखिने कुशल वक्ताहरु छैनन् ? उनीहरुले नै गर्छन् उदघोषण ।’
‘अरु कसैले पनि मानेन के गर्ने त ? विभागीय निर्णय भैसकेको छ । सक्नुहुन्न भने लेखेर बोल्नुहोस् । लेख्ने समय छँदैछ । तर गर्नुभएन भने तपाईँमाथि कारवाही हुन्छ ।’
‘अरे कारवाहीको धम्की ? उसँग अगाडि पर्दा तिमीहरुको खुट्टाबाट पिसाब चुहुने अनि दोषको भागीदारचाँहि म ?’ म रन्थनिँदै बाहिर निस्किएँ ।
मेरो कार्यक्रम सन्चालन गर्ने अस्वीकृतिको खबर निर्देशकसम्म पुगेछ । सायद महानिर्देशकसम्मै पुग्यो होला । निर्देशक सरले बोलाएर मलाई सम्झाउन थाल्नुभयो । केही सम्झाएपछि मैले बल्ल स्वीकृति जनाएँ ।
अनि आफ्नो कोठामा पुगेर उद्घोषणको लागि टाइप गर्न थालेँ । टाइप गर्दागर्दै आँखा रसाउन थाले । मलाई ऽवीभूतको अवस्थामा देखेपछि शम्भु दाइ जुरुक्क उठेर आउनुभयो र भन्नुभयोः “भन के मर्का पर्यो तँलाई ? कसले दुखायो तेरो मन ? म एकएक हिसाब तिरिदिन्छु । अहिल्यै ठीक पार्छु त्यल्लाई ।”
म सम्हालिँदै भनेँ, ‘कसैले होइन दाइ, आफ्नै कारणले हो, आफैं हो । म पछि बताउँला तपाईँलाई । अहिले मलाई टाइप गर्न दिनुहोस् ।’ उहाँको जिद्दि गर्ने बानी थिएन । उहाँ फरक्क फर्केर आफ्नो कुर्सीमा थ्याच्च बस्नुभयो र दाँत मर्काउन थाल्नुभयो, मुठ्ठी बटार्न थाल्नुभयो । अझै पनि उहाँको सरुवाको बारेमा उहाँलाई जानकारी गराइएको रहेनछ भन्ने बोध भयो मलाई । न मैले नै तपाईँको सरुवा भइसकेको रहेछ भन्न सकेँ ।
मैले टाइप गरेको उदघोषणको पि्रन्ट खल्तीमा हालेँ । तीन बज्न थालिसकेकोले सभा हलतिर झरेँ । शम्भु दाइ कम्प्युटरमै व्यस्त हुनुहुन्थ्यो ।
हलमा सबै जम्मा भइसकेका रहेछन् । टेबुलमा उहाँलाई प्रदान गरिने स्वयम्भूको मूर्ति -जसमा ‘स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्ट्याई हेर्छन्ा् कुँदिएको थियो । टोपी, डायरी, कलम, सयपत्रीका मालाहरु, गुच्छाहरु, अविर, प्रशंशापत्र आदिले सजाइएकाले मञ्च निकै आकर्षक र भव्य देखिन्थ्यो । पचासौँ जना कर्मचारीहरुको उपस्थिति भएको हल भने सियो खसे पनि आवाज आउने गरी शान्त थियो ।
तपाईँ उद्घोषण शुरु गरिहाल्नुस् निर्देशकले मलाई अह्राउनुभयोः
शम्भु दाइको आसन खाली नै थियो । म उठेँ र पहिल्यै लेखेर तयार पारेको कागज पढ्न शुरु गर्न थालेँ
‘कार्यक्रमलाई अध्यक्षता गरिरहनुभएका श्रीमान् महानिर्देशकज्यू… ‘,
मेरो आवाज धेरै सानो थियो । तर, हृवाङ्हृवाति कराएको ठूलो आवाज निस्कियो । के थाहा भयो भने शम्भु दाइ पक्कै कार्यक्रम हलमा सितिमिति छिर्नुहुनेछैन भनेर एउटा माइक शम्भु दाइले सुन्नेगरी उहाँकै कोठातिर सोझ्याएर राखिएको रहेछ ।
त्यो बिडम्बनापूर्ण तौरतरिकाले लेखिएको उदघोषण च्यातेर धुजाधुजा पार्ने झोँक चल्यो ममा । मेरो अडि्कएको र अल्मलिएको मनस्थितिलाई बुझ्नुभएछ निर्देशकज्यूले र मलाई फकाउन थाल्नुभयो, ‘सबै नपढे पनि हुन्छ, प्रक्रया पूरा गर्ने त हो । एक दुई लाइन मात्र पढ्नूस् न भैहाल्यो ।’
म सम्हालिँदै अगाडि बढेँ
‘यस कार्यक्रममा अनुपस्थित देखिनुभएका तर हामीबाट विदाइ भएर अकस्मात जान थाल्नुभएका कार्यक्रमका प्रमुख अतिथि शम्भू दाइ…।
शम्भू दाइलाई सम्बोधन गर्ने बित्तिकै माथि हामी बस्ने कार्यकक्षको उत्तरतिरको झ्याल ड्याम्म गरी खुलेको आवाज आयो । झ्यालको सिसा फोरिएको आवाजसँगै टुक्राहरु खन्द्राङखुन्द्रुङ गर्दै तल झरे । उपस्थित सबैका आँखा कान तीखा तीखा हुँदै गए ।
म अगाडि बढ्दै गएँ ।
‘तपाईलाई अरुले अजीवको सबैभन्दा खराब कर्मचारी देखे पनि वास्तवमा तपाईँ त्यस्तो हुनुहुन्नथ्यो । यो कर्मचारीतन्त्रको दुष्कृति हो । यस तन्त्रले एकातिर आँखा कान नदेख्ने तानाशाही प्रवृत्तिका शासक वर्ग जन्माइरहनेछ र अर्कोतिर सद्दे मान्छेहरुलाई पनि मानसिक असन्तुलन गुमाउन बाध्य पारिरहनेछ ।’
मैले उदघोषणपत्रको दुई लाइन मात्र के वाचन गर्दै थिएँ, बाहिर ठूलै विष्फोट भएजस्तो आवाज आयो । हलमा उपस्थित सबै कर्मचारीहरु आत्तिएर जर्याकजुरुक उठे ।
मूलगेटनेरको ठूलो ढोका शम्भु दाइको लात्ती हिर्काइले गर्ल्याम्म ढल्दा आवाज निस्केको रहेछ ।
म मञ्चमा उभिइरहेकै थिएँ, सभा खलबलिएकाले, ‘कृपया शान्त रहनुस् । कृपया शान्त रहनुहोस् । हाम्रा प्रमुख अतिथि कार्यक्रममा प्रवेश गर्दै हुनुहुन्छ !’ भन्दै म चिच्याइरहेँ । मेरो झिनो आवाज कर्मचारीहरुको त्रासदीपूर्ण हल्लाले बिलाउन पुग्यो । कर्मचारीहरु होहल्ला गर्दै ढोकाबाट बाहिर निस्कन आँट नगरे पनि झ्यालझ्यालमा बुझो लाग्न थाले ।
एकजनाले भन्योः ‘ऊ ! ऊ ! मूलढोकाबाट बाहिर निस्कियो, बाहिर निस्कियो ।’
अर्काले भन्यो, ‘अब चाँहि फर्केर भित्र पस्दैन होला ।’
मैले पनि उदघोषण गर्न छाडेर दृश्यावलोकनका लागि झ्यालतिर कोच्चिएँ । हेर्दा शम्भू दाइ आफ्नै पुरानो साइकलतिर बढिरहनुभएको थियो । त्यही साइकललाई जोडले एक लात हिर्काउनुभयो । साइकल पूरै दोबि्रयो । फेरि अर्को लातले हिर्काउनुभयो । फेरि दोब्रियो । तीन लातमा नै भकुण्डोसरि भयो साइकल । उहाँको मुखबाट बुझ्दैनबुझिने शब्दहरु निस्किरहेका थिए । हामी तमासेहरुले शम्भु दाइको तमासा हेरिरहेका थियौँ ।
साइकल हिर्काउञ्जेल त रमाइलै थियो । तर, अब उहाँ निर्देशक चढ्ने गाडीतिर धङ्धङिदै बढ्नुभयो निर्देशक लगायत सबै आत्तिन थाले ।
‘पुलिस ! पुलिस ! पुलिस !’ भन्ने आवाज मात्र घन्कन थाल्यो भित्रभित्रै ।
त्यो गाडी छोडेर उहाँ फेरि महानिर्देशक चढ्ने गाडीतिर लम्कनुभयो । कर्मचारीहरुको भने अब रुवाबासी मात्र चल्न बाँकी थियो ।
के सोच्नुभयो कुन्नि, उहाँ त्यताबाट पनि फरक्क फर्किनुभयो र आफ्नै साइकललाई भकुण्डोजस्तै यताबाट उता लात्तीले खेलाउँदै कम्पाउन्ड गेटबाट बाहिर निस्कनुभयो ।
उहाँ बाहिर निस्किएको देख्नेबित्तिकै यताउता लुकेका गेटपालेहरुले छिटोछिटो मूल गेट बन्द गरे र भित्रबाट भोटे ताल्चा मारिदिए । बल्ल कर्मचारीहरु शान्तिको श्वास फेर्दै प्रवेशद्वारबाट गुरुरुरुरु बाहिर निस्किए ।
मेरो उदघोषकको कर्तव्य पूरा भएको थिएन । हल खाली भैसकेको थियो । पढ्दै गरेको पूर्वलिखित उदघोषणपत्र गोजीमा हाल्दै भनेँ- ‘अब हामीले शम्भु दाइलाई भव्य विदाइ गरिसकेका छौँ, त्यसैले यो सभा यहीँ विसर्जन गर्न चाहन्छु ।’
उहाँको लागि तयार गरिएका फूलमाला र उपहार सामग्रीहरु गलललल हाँसे । हलको रित्तो कोठा र हाम्रो रित्तो कार्यकक्षले तररर ताली पड्काए । म मञ्चबाट ओर्लिएँ र कार्यकक्षतिर नउक्लिई आफ्नो डेरातिर सोझिएँ । किनकि, आज विदाइको अनुमति माग्न जाँदा ‘इ ! खाइस् !’ भनेर लोप्पा खुवाउने शम्भु दाइलाई मैले आफ्नो कार्यालयको तर्फबाट विदाइ गरिसकेको थिएँ ।
२०७५ कार्त्तिक २४ गते अनलाइखबरमा प्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )