~होमर श्रेष्ठ~
महाशय उपरखुट्टी लाएर नयाँ चक्कुले स्याउ टुक्य्राउँदै खाँदै थिए, हरियो झिँगा भन्केर आएर स्याउको टुक्रोमा बस्यो । उनले हातले हम्के । झिँगा उडेर उनको निधारमा बस्न पुग्यो । उनले फेरि हम्के । झिँगा पनि के कम…उडेर स्याउको अर्को टुक्रोमा बस्यो । उनले रिसाउँदै पत्रिकाले हम्के । झिँगा भुनभुनाउँदै गएर उनको नाकको टुप्पोमा बस्यो र दुबै पखेटा यसरी फिरफिर नचायो, मानौँ त्यसले ‘खुच्चिङ’… भन्दैथ्यो । महाशय रिसले चुर भए र झिँगालाई चक्कुले प्रहार गरे । उनको नाक थोरै काटियो !
महाशयका हितैषीहरूले नाकको टुप्पो काटिनुको कारण सोधे । गोप्यता भङ्ग नगर्ने शर्तमा उनले यस्तो रहस्य बताए—“जसले मध्यरातमा आफ्नो नाक काट्छ, उसले स्वर्ग देख्छ !”
त्यो समाजमा स्वर्ग हेर्ने रहर धेरैलाई रहेछ…एकपछि अर्को गर्दै आप्mनो नाक काट्ने धेरै भए ! अन्ततः त्यो देसको नामै ‘नाककटुवाको देश’ रहन गयो !
(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )