~तारा कट्टेल~
जूनले वेपरवाह अन्धेरीलाई
फ्याके जति उज्यालो,
आमाले कपाल मूसारे जति प्यार,
दानव चंगूलसंग बच्न
धर्तिले कम्पन थामेजति ताकत,
देशमा सदभाव, भाईचारा र
बूद्दको सेरोफेरो जति शान्ति,
यति भए पूग्छ
मलाई यो नया बर्षमा
पटपटी फूटेका
धूलाम्मै करेसालाई
छ्यान्द्रा छ्यान्द्रा पारी
बर्षातले चूटेपछिको हराबरा,
बिना स्वार्थ वरीपरी
शरीरलाई अंग अंगले धानेजति
आफन्तको साथ,
यति भए पूग्छ
मलाई यो नया वर्षमा
जालो झै बेरीएको
व्यस्तता चिरेर
उनको प्रेममा घोलिएर
जिवन बाच्ने जति समय,
व्याकूल परिस्थितीसंग
दिनरातको कूस्ति
आफैसंग खेली
जिवनको निरन्तरतामा
मात्र चराले टिपेजति गास,
यति भए पूग्छ
मलाई नया वर्षमा
अत्यासिलो र कहालिलाग्दो
दैनिक भिडन्ते जिवनमा
ओत लाग्ने कूटी,
र जिवन भोगेर
ढल्कीसकेका बूढो रूखहरूबाट
सफलताको आशिर्वाद
यत्ति भए पूग्छ
मलाई यो नया बर्षमा