कविता : एक्लै हिँडदाको आनन्द

~दिनेश अधिकारी~Dinesh Adhikari

एक्लै हिँड्दाको आनन्द
तिमीसँग हिँड्दा हुँदो रहेनछ ।

म चाहन्छु
बाटोमा हुरीसँग एक्लै जुधूँ
पछाडि कहिल्यै पनि नफर्कूं
र, आफ्ना पैतालाका डोबहरू छोड्दै रहूँ
चुम्लुङ्ग ।
विषालु काँडाहरू ओढेको
अजङको पहाड नै भेटियो भने पनि बीचमा
फुकाल्दै काँडाका दाँतहरू
म, पहाडको उचाइमा अझै एक मान्छे अग्लाइ थप्न सकूँ
तर खै, के–के हुँदो रहेछ तिम्रो उपस्थितिमा
नचाहेर पनि आफूलाई
तिम्रा निम्ति सुरक्षित गर्नुपर्दो रहेछ ।
एक्लै हिँड्दाको आनन्द
तिमीसँग हिँड्दा हुँदो रहेनछ ।

म सङ्कोचले साँघुरिन चाहन्न“
र, जिन्दगीलाई जस्ताको तस्तै भोग्न चाहन्छु
परे—
हाँडीमा फापरजस्तै भुटिन तयार छु
परे—
वेश्याको घाँघरजस्तै लुटिन तयार छु

मान्छेको निधारमा सधैँ कहाँ सूर्य उदाउँछ र ?
म चाहन्छु—
अर्थोक केही नसके एउटा नै सही
इतिहास बनिसकेको वर्जित सिमाना त पार गरूँ
तर खै, किन हो तिम्रो सामीप्य
सर्पलाई बिनजस्तै हुँदो रहेछ ।
एक्लै हिँड्दाको आनन्द
तिमीसँग हिँड्दा हुँदो रहेनछ ।

तिमीसँगको सहवासबाट
ठ्याम्मै केही नपाएको त कहाँ हो र मैले ?
अनुभवका लागि ठीकै छ
आवश्यकताबिनाको आलस्य पाएको छु।
उत्सवबिनाको उपहार हत्याएको छु।
मात्र आफूले चाहेजस्तो
अप्ठ्याराहरूसँग पौँठेजोरी खेल्न पाएको छैन
सङ्कटहरूको जन्जालभित्र पसेर
आफैँले आफ्नो बाटो पहिल्याउन पाएको छैन
म त आकाशको नापमा अविश्वास गर्ने मान्छे
(सक्दै सक्दिनँ या रोबोट–जिन्दगी भोग्न)
भन, फेरि कुन मनले तिम्रो सहयात्री हुन रुचाऊँ ?
तिमीसँगको सहवासमा त
जिन्दगी—
सधैँ सोकेसमा सजाउनुपर्दो रहेछ ।
एक्लै हिँड्दाको आनन्द
तिमीसँग हिँड्दा हुँदो रहेनछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.