~रामप्रकाश पुरी~
आज धमिलो समयको घडीमा
धुलो र धवाँको एउटा भूगोलमा
सपनाको लालीगुराँस फुलाउँदै
उभिएका छन् जीवनका तस्विरहरु ।
जीवनका सङ्गीतका तारहरु
स्वाभिमान र स्वतन्त्रताका गजलहरु गाउँदै
रटिएका छन् भोलिका सपनाहरुले ।
तर यति बेलै,
हामीले टेकेको भूगोल
अटेसमटेस भएर लम्पसार छ
दुःसाध्य ऐठनहरुले च्यापिएर १
ब्युँझिन खोजेको स्वाभिमानको प्रश्वास
घात–प्रतिघातको पैतलामुनि किचिएर
अटेसमटेस हुँदै फेरि पनि लम्पसार छ ।
ए उठ् न मनुवा
तेरो मानवताको वेद रच्न १
यसरी सपनाले सम्बोधन गरेको त्यो रात
अनि हामी उठेको त्यो दिन ।
आँधीले घुमाएका घडीका सुईहरु
हुरीले उडाएका बादशाहका दरबारहरु
हाम्रो छातीमा पड्किएका स्वतन्त्रताका तोपहरु
नयाँ बिहानमा चराहरुले गाएको वसन्त
सबै एकाएक देखा परे
नयाँ पालुवाको बहार ल्याएर ।
अनि अपेक्षाहरु सक्रिय भए
अब दुर्दिनहरु तहसनहस हुन्छन् भनेर ।
बाँसघारीमा चराहरू बासे,
कानहरूमा कोइलीका धुनहरू गुञ्जे,
मृगशावक जस्ता इच्छाहरू
नाच्न थाले मनको आँगनीमा ।
जुरेलीको कुरकुरले वैंश पलायो ।
घामले चियायो रातो घाम
मुस्कुराए काल्नाको साग र सिस्नु ।
पुर्खाहरूले लेखी छाडेका
ढुङ्गाका सिलोटहरूले इतिहास बोले
शालिनतापूर्वक उभिएका जीवनका तस्विरहरू ।
तर छिट्टै,
वैंशमा कोपिला मरेको समाचार सुनेर
शोकमग्न भएर उभिएको छ,
अन्यमनस्क विन्दुमा ।
अनि एकाएक हराए,
मनको आँखाबाट भविष्यका रहरहरू ।
उपद्रो छ रे बाहिर ।
तिम्रो देश घुँघुर बनेको छ
पराइहरुको ।
छमछम नाँच्छन् तिम्रै छातीमा
दुःसाध्य ऐठनहरु ल्याएर
तिम्रा लालीगुराँसमा
अरिङ्गाल बसेको छ
स्वाभिमानको इज्जत डस्न ।
फणा उठाएको छ विषले
घाइते छन् तिम्रा सपनाहरु ।
घाती र प्रतिघातीहरुले
सम्झौतामा माटोको मोलमोलाइ गरिरहेछन् ।
तिमी आँसु पुछ,
म वेद पढ्छु देशको श्राद्ध गर्न ।
तिमी यज्ञ गर जीवनको
म मौनधारण गर्छु देश हराएको शोकमा १
यस्तै—यस्तै बयानहरु,
बहसमा जुटेका छन् वर्तमानमा ।
जे भए पनि,
हामीले सपना देख्न छाडेका छैनौँ
भविष्यको आशा पछ्याउँदै
ऐठनबाट उठ्न खोजेर ।।
(२०७१ भाद्र १७ गते प्रगतिशील लेखक सङ्घ, केन्द्रीय समितिद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा वाचित कविता)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४१ – Sep. 10, 2014 – २०७१ भाद्र २५ गते, बुधबार )